हिरासत तोडेर भाग्नेहरु फन्दामा

हिरासतबाटै भाग्नेहरुलाई प्रहरीले दुईसाता लगाएर फन्दामा पारेको छ

बाँकेको खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट दुई साताअघि फरार तीनै जना बन्दीलाई बाँके प्रहरीले फन्दामा पारेको छ । नाटकीय रुपमा फरार भएका उनीहरुलाई पक्राउ थप अनुसन्धान सुरु गरिएको बाँके प्रहरीले प्रेस विज्ञप्ति जारी गरि जानकारी दिएको हो ।
फरार हुनेमा सार्वजनिक सुरक्षा अपराध अन्तर्गत पक्राउ परेका खजुरा ३ का निर्मल थापा र उज्वल कार्की तथा लागुऔषध सहित पक्राउ परेका स्थानीय सिमन बिक हुन् । पक्राउ गरेको दुई दिनमै फरार बिकलाई मंगलवार मात्र प्रहरीले हिरासतमा फर्काउन सफल भएको हो । लागुऔषध ब्राउनसुगर सहित २६ असारमा पक्राउ परेका बिक यसअघि पनि प्रहरी कारबाहीमा परेको बताइएको छ । गत असार २३ गते पक्राउ परेका थापा र कार्कीलाई भने हिरासतबाट भागेको ४ दिनमै प्रहरीले हिरासतमा फर्काएको थियो ।
‘लागुऔषधकै लतले हिरासतबाट भाग्ने जस्तो जघन्य अपराधमा प्रेरित भएको देखिन्छ,’ दुई साता लगाएर फरार अभियुक्त पक्राउ गर्न सफल बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर वलीले दैनिक नेपालगन्जसँग भने, ‘बाँकी अनुसन्धान भइरहेको छ ।’
इलाका प्रहरी कार्यालय धनौलीमा प्रहरी नायब निरीक्षक चक्र बहादुर खत्रीले निमित्त इन्चार्जको जिम्मेवारी लिएकै दिन उक्त घटना भएको थियो । घटनाताका हिरासतको सुरक्षामा खटिएका सिपाही समशेर थापामगर तत्काल निलम्बनमा परेका थिए ।
लागुऔषधका लतमा फँसेका तीनै जना युवाले सामुहिक प्रयासमा ११ फिट अग्लो हिरासतमा रहेको फलामे झ्याल फोडेर भागेका थिए । हिरासतमा रहेका ५ मध्ये एक जना विरामी भइ अस्पताल पुर्याइएका र गम्भीर अपराधका अर्का एक जना हिरासतमै सुतिरहेकै अवस्थामा भाग्ने तीनै जना २० वर्ष भन्दा कम उमेरका हुन् । घटनापछि हिरासतको सुरक्षाका सबै आवश्यक व्यवस्था सुधार गरिसकेको प्रहरीले जनाएको छ ।
‘उनीहरुलाई कारागार ऐन अन्तर्गत थप सजाय हुन्छ,’ प्रहरी उपरीक्षक वलीले भने ।
यसैबीच, बाँके प्रहरीले अदालतले सजाय सुनाइ फरार रहेका एक चोरी मुद्दाका अभियुक्तलाई मंगलवार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, चोरी मुद्दामा बाँके जिल्ला अदालतले एक महिना कैद सजाय र ३५ हजार रुपिया जरिवाना पछि फरार रहेका बैजनाथ– ५ वनकटवाका अरुण थारुलाई पक्राउ गरि जिल्ला अदालतलाई बुझाइएको हो । मुद्दाका क्रममा धरौटीमा छुटेका अरुण फैसलाका क्रममा दोषी करार भएपछि फरार भएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया