लत्रिएको केबलले गुम्यो आँखाको ज्योति
नेपालगन्जमा अव्यस्थित तारहरुले जोखिम बढ्दै गएको छ । नेपाल विद्युत प्राधिकरणका पोलहरुमा विद्युतका तारसँगै गुजुल्टिएर रहेका इन्टरनेट र केबल तारहरुका कारण जोखिम बढ्दै गएको हो । नगरमा रहेका विद्युत पोलहरुमा माकुराको जालो झै तारहरु जेलिएका छन् । हालसम्म ठूलो दुर्घटना नभए पनि बेलाबखत यी जेलिएका तारहरुमा आगलागी हुने गरेका छन् ।
नगरका कतिपय भागमा होचो स्थानमा रहेका तारका कारण यातायातका साधन आवतजावतमा समस्या हुने गरेको छ । नगरमा यातायातका ठूला साधनहरु चलाउँला छतमा तार हटाउनका लागि लठ्ठी लिएर कर्मचारीलाई छतमा राख्नु पर्ने अवस्था रहेको चालकहरुले बताएका छन् ।
नेपाल उपमहानगरपालिकाको दमकल नगर भवनमा राखिंदै आएको छ । इमरजेन्सीमा कुद्नु पर्ने दमकललाई पनि तारहरुका कारण समस्या हुने दमकलका कर्मचारीहरु बताउँछन् । दमकलसँगै होचो गरी लत्रिएका तार हटाउन एक कर्मचारी लठ्ठी लिएर बस्नुपर्छ ।
नेपालगन्जमा लत्रिएकै तारका कारण कोहलपुरको एक व्यक्तिको वायाँ आँखाको ज्योति गुमेको छ । गत असार २६ गते मोटरसाइकलमा रहेका कृष्णप्रसाद काफ्लेको आँखामा त्रिवेणी मोडमा झुण्डिएको केवल तारले आँखामा घोचेपछि ज्योति गुमेको हो । ‘बीच सडकमा झुण्डिएको तारले आँखाको नानी, जाली च्यातिएको छ’, काफ्लेले भने, ‘फत्तेबाल आँखा अस्तालको सुझावमा काठमाडौं गएर उपचार गरे तर चिकित्सकले आँखाको ज्योति नफर्कने बताएका छन् ।’
‘घरमा कमाउने, खुवाउने मान्छे म नै हँु’, एउटा आँखा गुमेपछि अबका दिन कत्ति असहज होला भन्ने चिन्तामा रहेको काफ्ले बताउँछन् । उनले उपचारमा ५० हजार भन्दा बढी खर्च भएको जानकारी दिए । आँखामा भएको घाउको अपरेशनका लागि पुनः काठमाडौं जानुपर्ने जानकारी दिएका काफ्लेले आर्थिक रुपमा अभाव रहेको बताएका छन् ।
‘अरुको लापरवाहीले मैले ठूलो क्षति ब्यहोर्नुपर्यो’, उनी भन्छन्, ‘आँखाको ज्योति नआएपनि क्षतिपूर्ति पाइयोस् र नगरमा अव्यस्थित तार सम्बन्धितहरुले व्यवस्थापन गरुन् ताकी अरु दर्घटनाको जोखिममा नपरुन् ।’
नेपालगन्जमा विद्युतका तार भन्दा त्यो सँगै रहेको अन्य तारहरु बढी जेलिएको पाइन्छ । यसले सुरक्षाको जोखिम त बढाएको छ नै सहरलाई समेत कुरुप बनाएको छ । ‘विद्युत पोलमा तारको गुजुल्टो देखिन्छ’, रामेश्वर शर्मा भन्छन्, ‘हावाहुरी र बर्षातमा यसले दुर्घटनाको जोखिम बढाएको छ ।’ उनी सहरीकरण बढ्दै गएकाले सरोकारवालाले अब तारको दीर्घकालीन व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउँछन् ।