बाँकेमा निकुञ्ज सञ्चालनमा आएपछि प्रत्येक बर्ष बाघको संख्या बढ्दै गएको छ । २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज सञ्चालनमा आएपछि बाघ लगायतका वन्यजन्तुको संरक्षण हुँदै आएको छ । सन् २०१३ मा गणना हँुदा जम्मा चार वटा बाघ भेटिएकोमा बाँकेमा सन् २०१८ मा गणना हुँदा वयस्क बाघको संख्या २१ पुगेको हो । छोटो समयमा नै बाघ संरक्षणमा निकुञ्जले सफलता हात पारेको छ । निकुञ्जमा उचित सुरक्षा, वासस्थान, चित्तल, बँदेल, जरायो, लंगुवालगायतका बाघका आहारा जन्य वन्यजन्तुमा भएको वृद्धिले पनि बाघको संख्या बढ्दै गएको हो । त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या ८७ पुगेको छ । सन् २०१८ को गणनामा बर्दियामा ३७ वटा बाघ बढेका हुन् ।
बाघको आकर्षण संगै संख्या बढ्दै गएपछि भोलि सोमबारको बाघ दिवस बाँके राष्ट्रिय निकुञ्जमा मनाइने भएको छ । संघीय राजधानीमा केन्द्रित हुने विश्व बाघ दिवस यस पटक तिनकै बासस्थानमा स्थानीय, मध्यवर्तीका बासिन्दा र स्थानीय सरकारका जनप्रतिनिधि संग छलफल गरी मनाइने भएको हो ।
बाघ संरक्षणका चुनौती र बाघबारे स्थानीय बासिन्दा, मध्यवर्ती क्षेत्रका उपभोक्ता र स्थानीय सरकारको समेत धारणा बुझ्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ कै बासस्थल रहेको निकुञ्जमा कार्यक्रम गर्ने निर्णय गरेको बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बिष्णु थपलीयाले बताए । बाँके निकुञ्जका तीन ठाउँमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, विशेषज्ञ र सरोकारवाला संग बाघ दिवसका अवसरमा संरक्षण, चुनौती र समाधानका प्रयास बारे छलफल गरिने उनले बताए ।
निकुञ्जको पश्चिम सेक्टर कोहलपुर, पूर्वी सेक्टर कुसुम र निकुञ्जको मुख्यालय रहेको ओभरीमा अलगअलग कार्यक्रम गरिने निकुञ्जका सहायक संरक्षण अधिकृत थपलीयाले बताए । ‘बाघको संख्या मात्र बढेर होइन, बाघ संरक्षणबारे स्थानीय बासिन्दा, मध्यवर्ती क्षेत्रका बासिन्दा, स्थानीय सरकारका प्रतिनिधिको बुझाइ र समस्याको पहिचान गर्न सजिलो होस् भनेर बाघ स्थलमै कार्यक्रमको तयारी गरेका हौं,’ उनले भने ।
संघका वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, ५ नम्बर प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकारीलगायत सहभागी हुने कार्याक्रममा बाघ संरक्षणका चुनौती पहिचान गर्ने अपेक्षा गरिएको थपलीयाले जानकारी दिए । बाघको संरक्षणमा संख्या वृद्धिका लागि सहयोग पुराउने उद्देश्यसहित हरेक वर्ष जुलाई २९ मनाईने विश्व बाघ दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । नेपाल सरकारले सन् २०२० सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ ।
बढ्दै पर्यटक
‘निकुञ्ज घुम्न जाने पर्यटक मध्ये धेरैले बाघ देख्न पाएका छन् । बाघ देखिएका कारण पर्यटक आउने क्रम बढेको छ’, सहायक संरक्षण अधिकृत थपलीयाले भने । उनका अनुसार, बाघ अवलोकनका लागि निकुञ्ज सफल बनेको छ । पर्यटक आगमनले यहाँ छेउछाउमा होटल निर्माण बढेको छ ।
चोरी शिकारी नियन्त्रण हँुदै गएपछि बाघको संख्या बढेको हो । उचित आहारा, सुरक्षा र प्राकृतिक वासस्थानका लागि उत्तम मानिएको निकुञ्जमा पछिल्लोपटक बाघको संख्या बढ्दै गएको हो । पर्यटन ब्यवसायी कृष्ण चौधरीले बाघ लगायतका वन्जजन्तु सहजै देखिने गरेको बताए । ‘यहाँ बाघ, गैडा, हात्ती सहजै देख्न सकिन्छ,’ उनले भने, ‘वन्यजन्तु हेर्न मन पराउने पर्यटकको संख्या बढेको छ ।’
चार बर्षमा हुन्छ बाघ गणना
देशभर चार-चार वर्षमा बाघको गणना हुने गरेको छ । राष्ट्रिय निकुञ्ज वन्यजन्तु विभाग, विश्व वन्यजन्तु संरक्षण कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना र चोरी सिकारी नियन्त्रण युवा अभियानबाट संयुक्त रूपमा प्राविधिक टोलीले क्यामेरा ट्रापिङको सहयोगमा गणना गरिन्छ ।
यसकारण बाघलाई महत्व
बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ लाई बाघ दिवस भनेर मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले बाघ संरक्षणका लागि विश्व बाघ दिवसको घोषणा गरेको थियो । त्यस यतादेखि हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो । यस दिन बाघको संरक्षणार्थ उनीहरुको बासस्थलको संरक्षण, बाघको संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरुको संरक्षणका मुद्दाहरुको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरुको सराहना र प्रोत्साहन गरी यो दिन मनाइन्छ ।
विश्वमा २० औँ शताब्दीको पूर्वाद्धमा बाघको जनसंख्या १ लाख रहेकोमा यो संख्यामा ९० प्रतिशत ह्रास आई अहिले ३ हजार २०० मा झरेको तथ्यांकले देखाउँछ । यिनीहरुको संख्या घट्नुमा मुख्य कारण भनेको जंगल फँडानीले गर्दा बासस्थलको कमी, मौसममा परिवर्तन, गैरकानुनी शिकारको उपज हो । यो प्रवृत्तिमा रोक ल्याउने हेतुले १३ मुलुकहरु मिलेर सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने महत्वकांक्षी लक्ष्य लिएर विभिन्न पशुपन्छी संरक्षणार्थ संस्थाहरुको सहयोगमा अघि बढिरहेका छन् ।
भारत, नेपाल, भुटान, बंगलादेश, कम्बोडिया, चीन, लाओस, म्यानमार, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारेको आठौँ वर्ष बित्दैछ ।