बाँके राष्ट्रिय निकुञ्जमा आ.व. ०७५ ÷०७६ मा भएको सडक दुर्घटनामा ४५ वटा वन्यजन्तु मारिएका छन् । निकुञ्जले तिव्र गतिमा चलाइने सवारीसाधनका कारण हुने दुर्घटनामा वन्यजन्तुको मृत्यु हुने गरेको निकुञ्जले जनाएको छ । ७२ किलोमिटर पूर्वपश्चिम महेन्द्र राजमार्ग क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज संग जोडिएको छ । त्यसैगरी रत्नराजमार्गमा ३० किलोमिटर निकुञ्जको क्षेत्रफल जोडिएको छ ।
निकुञ्जमा आ.व. ०७४-७५मा ७२ वटाको बन्यजन्तुको मृत्यु भएको थियो भने आर्थिक वर्ष ०७३-०७४मा ८३ वटा वन्जन्तुको सडक दुर्घटनावाट मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु प्रसाद थपलियाले बताएका छन् ।
वन्यजन्तु संरक्षण गर्ने क्रममा राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आर्थिक वर्ष ०७५-७६ मा वर्षमा ४ सय ३१ वटा वन्यजन्तुको उद्दार गरेको तथ्यांक निकुञ्जमा रहेको छ । निकुञ्जले आ.व. ०७४-७५ मा ११ वटा वन्यजन्तुको उद्दार गरेको थियो ।
४ सय १८ घरधुरीमा क्षति
बाँके राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुका कारण आ.व. ०७५-०७६ मा ४ सय १८ घरधुरीमा क्षति पुगेको बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत थपलियाले जानकारी दिएका छन् । उनीहरुलाई क्षतिपूर्ति वापत निकुञ्जले ६० लाख ९३ हजार ४२ रुपैयाँ उपलब्ध गराइएको उनले बताए ।
आर्थिक वर्ष ०७४-०७५ मा बाँके निकुञ्जको वन्यजन्तुले ३ सय ५ घरधुरीमा क्षति पुर्याएका थिए । उक्त आ.व.का वन्यजन्तु पीडितहरुलाई १४ लाख २८ हजार ७२ रुपैया वितरण गरिएको निकुञ्जले जनाएको छ ।