मुलपानी क्रिकेट रंगशालाको निरीक्षण

काठमाडौं साउन १० गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवमा नियुक्त भएपछि सदस्य–सचिव रमेशकुमार सिलवालले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी विभिन्न खेल पूर्वाधारको अवस्था बारे जानकारी लिने कार्यलाई तीव्रता दिदै आएका छन् । सागमा समावेश विभिन्न २७ खेलका संघका पदाधिकारीसंगको छलफल पनि संगसंगै अगाडि बढाइ रहेका छन् ।

       सो क्रममा पूर्वाधारको निरीक्षण गर्ने क्रममा शुक्रबार सदस्य–सचिव सिलवालले मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, गोकर्ण क्लब कोर्स र गोकर्णस्थित साइक्लिङको क्रसकन्ट्री तथा डाउन हिल स्पर्धा हुने स्थानको स्थलगत निरीक्षण गरे ।

       सो अवसरमा सदस्य–सचिव सिलवालले समस्याका बारेमा जानकारी लिनुका साथै समस्या बारे लिखित रुपमा पेश गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दै सदस्य–सचिव सिलवालले त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साग आफ्नो पहिलो प्राथमिकता भएकाले यसलाई सफतापूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताउदै यस कार्यमा सरोकारवाला सबैको साथको आवश्यकता रहेकामा जोड दिए ।

वैद्य सम्मानित

बूढानीलकण्ठ उमा कुङफु क्लब, बाल विकास बोर्डिङ स्कुल र बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ ले उमा कुङफुका संस्थापक सुरेश वैद्यलाई शुक्रबार सम्मान गरेको छ । विगत १७ वर्षदेखि लन्डनमा बस्दै आएका वैद्यलाई सातौं डान प्राप्त गर्न सफल भएको सम्मान गरिएको हो । वैद्यले गत जुन २६ तारिखमा लन्डनको ओर्चेस्टरमा भएको उमा ब्रिटिस च्याम्पियनसिपका दौरान वल्र्ड युनाइटेड मार्सल आर्ट एसोसिएन (उमा) ले सातौं डान प्रदान गरेको थियो ।

वैद्य उमा कुङफुका अन्तर्राष्ट्रिय निर्णायक पनि हुन् । वैद्यले बेलायत र अन्य देशमा हुने विभिन्न प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गरेका छन् । ५३ वर्षीय वैद्य उमा कुङफुमा २२ वर्षदेखि संलग्न छन् । त्यसअघि उनले खेलाडीहुँदै विभिन्न भूमिकामा उसुमा १२ वर्ष बिताएका थिए ।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राईले वैद्यलाई सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए । त्यस अवसरमा वैद्यले बूढानीलकण्ठ उमा कुङफु क्लबलाई सहयोग स्वरुप खेल सामाग्री पनि प्रदान गरेका थिए । वैद्यले क्लबका अध्यक्ष दिनेश श्रेष्ठ र प्रमुख प्रशिक्षक सुकमान लामालाई करिब ३० हजार मूल्य बराबरको सामाग्री हस्तान्तरण गरे ।

खेलाडी सम्मानित ः सो कार्यक्रममा दोश्रो एसियाली अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपका दोहोरो स्वर्ण विजेता अयुब घिमिरे र सञ्जयराज पुटुवार तथा एक स्वर्ण जितेका सियाङ तामाङलाई पनि सम्मान क्लबले सम्मान गरेको थियो । उनीहरुले टिम थाउलोमा पनि रजत जितेका थिए । प्रतियोगिता जुलाई ११ देखि १४ तारिखसम्म बंगलादेशको ढाकामा भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया