‘पहुँचवाल न्यायाधीश राम्रो र भनेको ठाउँमा’
वसन्त गौतम
दैनिक नेपालगन्ज
न्यायपरिषद्ले एकै पटक ठुलो संख्यामा मुलुकभरका उच्च र जिल्ला अदालतका न्यायाधीशको सरूवा गरेको छ । बिहीबार बसेको न्यायपरिषद् बैठकले एकैसाथ २४० न्यायाधीशहरुको सरुवा गरेको हो । सरुवा हुनेमा उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ छन् ।
त्यस्तै, परिषद् बैठकले भ्रष्टाचारका मुद्दा हेर्ने विशेष अदालतको अहिलेको टिमलाई सरूवा गरी नयाँ टिम ल्याएको छ । विशेष अदालतको नेतृत्वमा नेपालगन्ज उच्च अदालतमा यसअघि कार्यरत न्यायाधीश शिवराज अधिकारी ल्याइएको छ । सदस्यमा कृष्ण गिरी, वालेन्द्र रूपाखेती, शान्ति सिंह थापा, चन्द्रबहादुर सारू, रवि शर्मा अर्याललाई तोकेको न्यायपरिषद्ले जनाएको छ ।
बाँके जिल्ला अदालतबाट ४ जनाको सरुवा
न्यायपरिषदले गरेको सरुवा सूचीमा बाँके जिल्ला अदालतबाट ४ जना न्यायाधीश परेका छन् । जसमा जिल्ला न्यायाधीश बिष्णु सुवेदीको महोत्तरी जिल्ला अदालतमा सरुवा भएको छ । न्यायाधीश ओम प्रसाद अर्यालको काठमाडौ, अनिल कुमार शर्माको सिराहा, रामराजा उप्रेतीको नवलपुर जिल्ला अदालतमा सरुवा भएको छ ।
यी न्यायाधीश आउँदै
बाँके जिल्ला अदालतमा १ नं जिल्ला न्यायाधीशको रुपमा मकवानपुर जिल्ला अदालतबाट षडानन्द तिवारी आउने भएका छन् । यस्तै बाँके जिल्ला अदातलतमा आउने अन्य न्यायाधीशहरुमा राजेन्द्र नेपाल बैतडी जिल्ला अदालतबाट, धनेश्वर पौडेल बजाङ्ग जिल्ला अदालतबाट र दुर्ग बहादुर भुषाल रुकुमकोट जिल्ला अदालतबाट रहेका छन् ।
बाँके जिल्ला अदालतमा कार्यरत न्यायाधीशहरु राम प्रसाद बश्याल र दिलिप पन्तको भने सरुवा भएको छैन । न्यायपरिषद्ले गरेको नयाँ सरुवा लिष्ट अनुसार, बाँके जिल्ला अदालतमा अव ६ जना न्यायाधीश कार्यरत रहने छन् ।
त्यस्तै, बर्दिया जिल्ला अदालतका न्यायाधीश किरण प्रसाद पोखरेलको झापा जिल्ला अदालतमा सरुवा भएको छ । उनको ठाउँमा पाल्पा जिल्ला अदालतबाट शंकर बराल सरुवा भएको न्यायपरिषदले जनाएको छ । सरुवा बारे प्रतिक्रिया दिदै बाँके जिल्ला अदालतका न्यायाधीश बिष्णु सुवेदीले सरुवा स्वाभाविक नियमित प्रक्रिया भएको बताए ।
उच्च अदालत नेपालगन्जबाट दुई जनाको सरुवा
उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासबाट पनि २ जना न्यायाधीशको सरुवा भएको छ । सरुवा भएको ठाउँमा अन्यत्रबाट २ जना न्यायाधीश आउदै छन् ।
नेपालगन्ज उच्च अदालतबाट न्यायाधीश शान्ति सिंह थापाको बिशेष अदालत काठमाडौमा सरुवा भएको छ भने न्यायाधीश खुशी प्रसाद थारुको उच्च अदालत पाटनमा सरुवा भएको छ ।
नेपालगन्ज उच्च अदालतमा उच्च अदालत बुटवलबाट गोकर्ण डाँगी र उच्च अदालत पोखराबाट नर बहादुर शाहीको सरुवा भएको छ ।
‘पहुँचवाल न्यायाधीश राम्रो र भनेको ठाउँमा’
न्यायाधीशहरुले मुख खोलेर सरुवा बारे नकारात्मक टिप्पणी दिन नचाहे पनि सरुवा सूची स्वाभाविक र न्यायोचित नभएको बताएका छन् ।
‘पहुँचवालाको भ्याली भित्रै सरुवा भएको छ,’ असन्तुष्ट न्यायाधीश दैनिक नेपालगन्ज सँग भन्छन्, ‘सरुवा लिष्ट हेर्दा केही न्यायाधीशको काठमाडौबाट ललितपुरमा पनि सरुवा भएको छ ।’ उनीहरुका अनुसार, ‘केही न्यायाधीश ८,१० बर्ष देखि उपत्यका भ्याली भित्रै छन्, कोही न्यायाधीश पहाडको पहाड, कोही तराईको तराईमा ।’ अनौपचारिक कुराकानीमा एक न्यायाधीशले भने, ‘केही पहूँचवाला न्यायाधीशको राम्रो र भनेको ठाउँमा सरुवा भएको छ, पहूँच नहुने पहाडको पहाड, तराईको तराई ।’