सय बिगाह जग्गा व्यवस्थापन अबको चुनौती
प्रदेश ५ सरकारले अघि सारेको प्रदेश विश्वविद्यालयको स्थापनाका लागि नेपालगन्ज उपयुक्त हुने भन्दै उच्चस्तरीय प्रतिनिधिमण्डलले बुधवार मुख्यमन्त्री शंकर पोखरेलसँग आफ्ना मागमा ध्यानाकर्षण गराएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले बिश्वविद्यालय स्थापना गर्नुपर्ने आवश्यकता र औचित्यका बारेमा प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो । ‘राजनीतिक प्रतिबद्धता र इच्छाशक्ति भयो भने नेपालगन्जमा प्रदेश विश्वबिद्यालय सम्भव छ,’ मुख्यमन्त्रीसँगको औपचारिक छलफलपछि प्रदेश सभा सदस्य आइपी खरेलले दैनिक नेपालगन्जसँग भने, ‘बाँके जिल्ला एक ढिक्का भएर लाग्नुपर्छ ।’
प्रदेश सरकारले प्रदेश बिश्वविद्यालय स्थापना गर्न अध्ययन गरिरहेको छ । त्यसक्रममा सम्भावित जिल्ला बाँके र पहिलेदेखिनै विश्वविद्यालय माग हुँदै आएको नेपालगन्जमा अध्ययन टोलीले भेटघाट गरेपछि नेपालगन्जका नगर प्रमुख डा. धवल शम्शेर राणाको नेतृत्वमा बिश्वविद्यालयको तयारी र सम्भावना बारे कार्यदल बनेको छ । सोही कार्यदलले नेपालगन्जमा एक दशकदेखिको नेपालगन्ज विश्वविद्यालयको सपनालाई निरन्तरता दिन खोजेको हो । ‘ठुलै मिहिनेत गर्नेपर्ने देखिएको छ,’ प्रतिनिधिमण्डलमा सहभागी तत्कालिन नेपालगन्ज विश्वविद्यालय संघर्ष समितिका उपसंयोजक पशुपति दयाल मिश्रले भने, ‘जग्गाको कुरालाई प्रदेश सरकारले बढीनै जोड दिएको देखियो ।’
दशकअघि कयौं दिन नेपालगन्ज विश्व विद्यालय स्थापनाका लागि चरणबद्ध आन्दोलन भएका थिए । सरकारले बिभिन्न विकास क्षेत्रमा बिश्वविद्यालय स्थापना गरे पनि नेपालगन्ज विश्वबिद्यालयको बिधेयक भने संसदमै अलपत्र छाड्यो । ‘प्रदेशले जग्गाको माग अलिक बढीनै राखेको छ,’ मिश्रले सबैतिरबाट पहल र प्रयास भए असम्भव नभएको धारणा राख्दै दैनिक नेपालगन्जसँग भने, ‘सबैबाट प्रयास हुनुपर्याे ।’ मिश्रले ल्याण्ड पुलिङदेखि सरकारी जग्गा खोजीसम्मका विकल्पहरुमा जोड दिनुपर्ने बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. राणाले प्रदेश विश्व विद्यालयका लागि नेपालगन्ज हरेक दृष्टिले उपयुक्त भएको कुरा मुख्यमन्त्री समक्ष राखिएको बताए । ‘विश्वविद्यालय बन्नका लागि नेपालगन्ज कसरी योग्य छ भन्ने कुरा स्पष्ट रुपमा राखिएको छ,’ यद्धपी मुख्यमन्त्री पोखरेलको नेपालगन्ज प्रतिको धारणाबाट सहमत नभएको संकेत दिएका नगरप्रमुख डा. राणाले दैनिक नेपालगन्जसँग भने, ‘अब कसरी जाने भने बारे सबैसँग छलफल गरिनेछ ।’
भेटघाटमा अन्य विषयमा पनि कुराकानी भएपनि मुख्य विषय भने विश्वविद्यालयमै केन्द्रीत रहेको नगर प्रमुख डा. राणाले प्रष्ट पारे । डा.राणाले राज्य पुनःसंरचनामा नेपालगन्ज प्रदेश र केन्द्र सरकारबाट ठगिएको बताउँदै यस्तै अवस्था रहे कर्णाली प्रदेशमा जाने चेतावनी दिंदै आएका छन् । बुधवार समेत उक्त कुरा मुख्यमन्त्री पोखरेलसंगको भेटमा राखेको बताएका छन् ।
प्रतिनिधिमण्डलमा प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल, कृष्णा केसी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, महेन्द्र बहुमखी क्याम्पसका प्रमुख तथा सहायक प्रमुखहरु लगायतको सहभागिता थियो ।