खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले एक बर्षको अवधीमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि ४ मुद्दा दर्ता गराएको जनाएको छ । कार्यालयमा आयोजित समिक्षा कार्यक्रममा सम्बोधन गर्दै कार्यालय प्रमुख जोत्सना श्रेष्ठले एक बाँके जिल्ला अदालत १ र जिल्लाा प्रशासन कार्यालय बाँकेमा ३ मुद्दा दर्ता गरेको जानकारी दिइन् ।
घुमिफिरी न्यून स्तरको घिउँ बिक्री बितरण गरेको आरोपमा बाबादिन अहिर लगायतका ३ ब्यक्ति उपर बाँके जिल्ला अदालतमा गत २०७५ फागुन ५ गते खाद्य निरिक्षक नेत्र बोगटीले मुद्दा दायर गरेकी थिइन् । यसैगरि बिभिन्न ३ पानी उद्योगले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिका २०७४ बमोजिम पानी उद्योग संचालन नगरेको अभियोगमा जेएम सि वाटर इण्डष्ट्रिज, निराजन वाटर इण्डष्ट्रिज, पन्चकन्या ड्रिकिङ्ग वाटरका बिरुद्धमा जिल्ला प्रशासन कार्यालय बाँकेमा मुद्दा गरिएको श्रेष्ठले बताइन् ।
समिक्षा कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज प्रमुख जोत्सना श्रेष्ठले खाद्य स्वच्छता र गुणस्तर अभियान, खाद्य सुरक्षा शिक्षा, उपभोक्ता जागरण, पानी र दुधमा गरिएको अनुगमन र त्यसको परिणामका बिषयमा जानकारी गराएकी थिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले गुणस्तरिय बस्तु तथा सेवा पाउने आम उपभोक्ताको अधिकार भए पनि बिभिन्न बहानामा उपभोक्ता ठगिने कार्य नरोकिएकोले नियमनकारी निकाय जिम्मवार बन्नु पर्नेमा जोड दिए । बजारमा पाइने दुध, पानी, तेल लगायतका खाद्य बस्तुको गुणस्तरमा आशंका रहेको भन्दै उपभोक्ता अधिकार संरक्षणमा स्थानिय तह जिम्मवार बन्न नसकेको आरोप लगाए । ‘खाद्य श्रृखलाका प्रत्येक चरणमा खाद्य स्वच्छता र गुणस्तर हुनु पर्छ, गौतमले भने ।
खाद्य निरिक्षक नेत्र बोगटीले संचालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका बाँके अध्यक्ष ठाकुर सिंह थारुले उपभोक्ता शिक्षामा जोड दिदै खाद्य स्वच्छता र गुणस्तरका बारेमा पत्रकारलाई अभिमुखिकरणको दिनु पर्ने बताए । कार्यक्रममा पत्रकार हेमन्त कर्मचार्यले के कारणले पानी उद्योग बन्द गरिएको र खोलिएको भन्ने बारेमा कार्यालयले समयमै आमउपभोक्तालाई सुचित गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पौडेल, खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगन्जका निमित्त कार्यालय प्रमुख एकराज बुढाथोकीले उपभोक्ता अधिकार र खाद्य स्वच्छतामा बिषयमा बोलेका थिए ।