खगेन्द्र दाहाल
भारतबाट नेपालगन्ज भित्रने तरकारी र फलफुलमा गरिने गरिएको विषादी चेकजाच पुनः रोकिएको छ । विषादिको मात्रा चेकजाँच गर्ने कर्मचारीको अभावका कारण भारतबाट भित्रिने गरेका तरकारी र फलफुल निर्वाधरुपमा विना चेकजाँच भित्रिरहेका छन् । हाल नियमित चेकजाच गर्ने गरी जिम्मेवारी दिइएको कृषि ज्ञान केन्द्रका बालि संरक्षण अधिकृत एक्लैले काम गर्न नसक्ने भएपछि चेकजाचँलाई निरन्तरता दिन नसकिएको हो ।
सोमबार बालि संरक्षण अधिकृत अहमद ७ गते सम्मको लागि काठमाडौ आफ्नो घरायसी कामले गएकाले झनै विषादी चेकजाँचको कामलाई बाधा पुगेको विषदी अवशेष द्रुत विश्लेषण इकाई रानी तलाउ संचालक समितिका अध्यक्ष तथा नेपालगन्ज उप महानगरपालिकाका उप मेयर उमा थापाले जानकारी दिइन् । विषादी चेकजाचका विषयमा नेपालगन्ज उप महानगरपालिका गम्भिर भएको उप मेयर थापाले बताइन् ।
सोमबार विहान संचालक समितिले बैठकको आयोजना गरी विषादी चेकजाँचलाई निरन्तरता दिन स्थानीय तथा प्रदेश सरकार सँग थप कर्मचारीको समेत माग गरेको छ । बैठकले थप कर्मचारीमा बालि संरक्षण अधिकृत १ जना , प्रावधिक २ जना र कार्यालय सहयोगी १ जना हुनुपर्ने माग गरेको हो । केहीदिन यता भारतीय तरकारीको सेम्पल भन्सार कार्यालयले नपठाएकाले पनि चेकजाँच हुन नसकेको बालि संरक्षण अधिकृत अहमतले बताए ।
तरकारी भारतबाट आउने तरकारी मात्र नभएर नेपालगन्जमा विभिन्न स्थानबाट आउने तरकारी र फलफुललाई मण्डिमा नै कहिले जोर नम्बर र विजोर नम्बर मिलाएर र कहिले जोर विजोर क्रस गरेर चेकजाच गर्ने योजना रहेको बालि संरक्षण अधिकृत सकिल अहमतले बताए । अहिले आउने हरियो तरकारीमा अन्य भन्दा बढि विषदि भेटिएको विषदी अवशेष द्रुत विश्लेषण इकाईले जनाएको छ । बैठकले सिजनल तरकारी खानु नै उपभोत्ताको लागी उपयुक्त हुने निकर्ष निकालेको छ । उप मेयर थापाले उपभोक्ता सबैले आफुले तरकारी उत्पादन गरी खाने बानि बसाल्न अनुरोध गरिन् ।
बैठकमा सहभागी बालि संरक्षण प्रयोगशाला खजुराका दिपक घिमिरेले नेपालगन्जको सरकारी जमिनमा तरकारी लगाउने हो भने पुरा नेपालगन्जलाई पुग्ने बताउदै सबैले आफ्नै बारीमा तरकारी फलाउन अनुरोध गरे । बैठकमा सहभागीले नेपालगन्जको रानि तलाउ तरकारी उपज बजार सगै कोहलपुर र भन्सार क्षेत्रमा समेत ल्याव राख्नपर्नेमा जोड दिए । केही दिन यता भारतबाट भित्रिने तरकारीमा अत्याधिक विषादी मिसाइएको हुन सक्ने भएकाले सजक रहन उपभोक्तालाई अनुरोध गरिएको थियो ।
उपमेयर थापाको अध्यक्षतामा बसेको बैठकमा एग्रोभेट व्यवसायी सँग नेपालगन्जका अध्यक्ष विनोद तिवारी, उपभोक्ता संरक्षण मञ्च बाँकेका सचिव प्रभात कुमार ठकुरी, किसान महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष सर्वजित विष्ट, रानि तलाउ तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष मोतिसरा थापा, नेपालगन्ज उप महानगरपालिकाका कृषि प्रावधिक रामकृष्ण चौधरी, कृषि ज्ञान केन्द्रका प्राविधिक अनिल कुमार मिश्र लगायतको उपस्थिति रहेको थियो ।