लगानीका लागि रोजाईमा बाँके

कमल डाँगी

ड्ड बिरगन्जमा नारायणी सिमेन्ट उद्योग सन्चालन गर्दै आएको चाचान समूहले बाँकेको जानकी गाउँपालिकामा चारवर्ष अघि बागेश्वरी सिमेन्ट उद्योग सन्चालनमा ल्यायो । देशकै प्रतिष्ठित औद्योगिक घराना ‘चाचान’ समूह जय बागेश्वरी सिमेन्ट उद्योग मार्फत पश्चिम नेपालमा प्रवेश गरेको हो ।

ड्ड भैरहवामा छड उत्पादन उद्योग चलाइरहेको अम्बे समूहले त्यहाँको प्लान्ट भन्दा पनि ठुलो क्षमताको अम्बे स्टिल उद्योग जानकी गाउँपालिकामै स्थापना गरेको छ । पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ भने उत्पादनको तयारी छ । रु ३ अर्व लगानीमा बनेको उक्त छड उद्योग पश्चिम नेपालकै सबैभन्दा ठुलो हो ।

ड्ड विगत अढाई दशकदेखि खानेपानीका ट्यांकी उत्पादन गर्दै आएको विराटनगरको रिजालको फेनोलेक्स इन्डस्ट्रिजले पश्चिम नेपालको कोहलपुरबाट पनि ट्यांकी उत्पादन गर्ने भएको छ । कोहलपुर नगरपालिकाको पिपरी भन्ने स्थानमा १४ कट्ठा जमिन लिएर तथा बालाजू औद्योगिक क्षेत्रमा गरी दुबै स्थानमा पूर्वाधार निर्माणको काम सुरु भइसकेको छ ।

ड्ड बासुदेवपुरमा पाँच तारे होटल सोल्टी पूर्णरुपमा सन्चालनमा छ भने देशकै सबैभन्दा ठुलो भाटभटेनी सुपरमार्केट सन् २०१९ भित्रै नेपालगन्जको कारकाँदोमा सन्चालन हुने निश्चित छ । अहिले पुर्वाधार निर्माणको काम भइरहेको छ ।

पश्चिम नेपालको ‘ट्रान्जिट’ बाँकेमा ठुला औद्योगिक समूहको आर्कषण बढेको छ । प्रादेशिक राजधानी नबन्ने हो भने जिल्लाको सदरमुकाम नेपालगञ्जलाई ‘पश्चिम नेपालकै आर्थिक राजधानी’ बनाउनुपर्छ भनेर उठेका आवाजलाई उद्योग सञ्चालनको यस्तो आर्कषणले थप सशक्त बनाउने देखिन्छ ।


यद्यपी कुनै नीतिगत निर्णय बिना उद्योगको संख्या बढेकै आधारमा ‘आर्थिक राजधानी’ बनिहाल्छ भन्ने चाही होइन । त्यसका लागि सुरुवात भने पक्कै भएको छ । प्रशासनिक र राजनीतिक शक्ति गुमाउँदा पीडाबोध गरिरहेको नेपालगञ्जका लागि उद्योग, कलकारखाना खोल्न क्रम बढ्दै जानुले उत्साह भने थप्ने छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले ठूला उद्योग स्थापना हुनु बाँकेका लागि उत्साहजनक कुरा भएको बताउँछन् । उनी भन्छन्,–‘बाँके लगानीका लागि उर्बर ठाउँ हो भन्ने कुरा प्रमाणित भएको छ ।’


उद्योग बिभागका अनुसार २०४७ सालयता बाँकेमा ८८ वटा ठुला उद्योग थपिए । आर्थिक वर्ष ०७४÷०७५ मा मात्र बाँकेमा उद्योग संचालनका लागि जय अम्बे स्टील, सगरमाथा स्टील इण्डष्ट्रिज, नेपाल वेलहोप एग्रीटेक प्रालि, गोल्डेन गेमिङ्ग इन्टरनेशन क्यासिनो, वर्षा रिसाईक्लिङ्ग ईण्डष्ट्रिज, विकास फ्लोर मिल र भिभो मोवाइल नेपाल प्रालिको सर्भिस सेन्टरले उद्योग बिभागबाट दर्ता अनुमति लिए । ती मध्ये अधिकांस उद्योग सञ्चालनको प्रक्रियामा रहेका छन् ।

उद्योग बिभागका अनुसार आर्थिक वर्ष २०७३÷०७४ भन्दा आर्थिक वर्ष २०७४÷०७५ मा बाँकेमा ठुला उद्योग स्थापनासंगै लगानीमा पनि तीब्र बिस्तार भएको देखिन्छ । आर्थिक वर्ष २०७३÷०७४ मा बाँकेमा चार वटा उद्योग स्थापना भएका थिए । ती उद्योगमा ५६ करोड हाराहारीमा लगानी भित्रिएको थियो । तर आर्थिक वर्ष ०७४÷०७५ मा बाँकेमा उत्साहजनक लगानी भित्रिएको उद्योग बिभागको तथ्यांकबाट पुष्टि हुन्छ । उक्त आर्थिक वर्ष उद्योग बिभागमा दर्ता भएका सात उद्योगले जिल्लामा ७ सय ८२ जनालाई प्रत्यक्षरुपमा रोजगारीको वातावारण सिर्जना गरेका छन् ।
द्वन्द्वकालमा बाँकेले गुमाएका पुराना उद्योग पुनस्र्थापना भएको र नयाँ स्थापना हुनेक्रम तीव्र गतीमा बढेको अध्यक्ष बैश्यको बुझाईछ । स्थानीयदेखि देशका ठूला र नाम चलेका औद्योगिक समूह लगानी गर्न हौसिएका छन् । ‘राजनीतिक स्थिरता र उर्जा लगायतका समस्या समाधान भएपछि लगानीको उत्साह थपिएको छ । बाँके औद्योगिक हबका रुपमा विकास भइरहेको छ,’ उनी भन्छन् ।


बाँके जिल्ला लगानीकर्ताका लागि आफैमा सुनौलो ठाउँ भएको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । राजनीतिक अस्थिरता र उर्जा लगायत समस्याले लगानीकर्ता आउन हिच्किचाए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य प्रवेशद्वारा बाँके भएकोले पछिल्लो समय ठूला लगानीकर्ता आकर्षित भएको उनले बताए । ‘अहिले अवस्था सुध्रिएको छ । एकपछि अर्को ठूलो उद्योग खुल्ने क्रम जारी छ,’ श्रेष्ठले भने, ‘यो वातावरणलाई संधै यस्तै बनाइराख्न जरुरी छ ।’


बाँके जिल्लामा स्टील उद्योगको आर्कषण नै देखिएको छ । देशकै सबैभन्दा ठूलो औद्यागिक समूह जय अम्बे स्टील प्रालिले जानकी गाउँपालिकामा रु. चार अर्व १५ करोड चुक्तापुँजी सहित उद्योग संचालनको तयारी गरिरहेको छ ।


त्यस्तै सगरमाथा स्टील उद्योगले पनि जानकी गाउँपालिकाको खजुराखुर्दमा रु. २४ करोड चुक्ता पुँजी सहित उद्योग स्थापना गरेको छ । उद्योग बिभागका अनुसार, दर्ता भएका सात मध्ये नेपाल वेलहोप एग्रीटेक प्रालिको चितवन पछिको दोस्रो शाखा हो । चितवनमा रहेको उद्योगले कोहलपुरमा रु. २४ करोड लगानी गरे उद्योग संचालनमा ल्याइसकेको छ ।


उक्त उद्योगले दानाहरु उत्पादन गर्दै आएको छ । बाँकेमा रु. २४ करोड लगानीमा भिएमआई ग्रुप अन्तर्गत बर्षा रिसाईक्लिङ्गले प्रेसर कुकुर उत्पादन गर्दै आएको छ । त्यस्तै विकास फ्लोर मिलले रु. २ करोड ४५ लाख लगानी गरेको छ । भिभो मोवाइल प्रालिले अत्याधुनिक सर्भिस सेन्टर स्थापनाका लागि रु. ३० लाख लगानी गर्ने उद्देश्य सहित गत आर्थिक वर्षमा उद्योग बिभागबाट दर्ता प्रमाणपत्र लिएको छ ।


बाँकेमा होटल क्षेत्रमा सोल्टी समूहले समेत पाँच तारे होटल संचालनमा ल्याएको छ । संघीयता पछि बनेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आवश्यक पर्ने सामग्री पठाउने उपयुक्त ठाउँ बाँके भएको छ । ति दुई प्रदेशसँगै प्रदेश ५ लाई चाहिने बस्तुको हिस्सा ओगट््न कुनै पनि उद्योगले बाँकेमा औद्योगिक प्लान्ट राख्नै पर्ने बाध्यता भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा दैनिक जसो हरेक उत्पादनको बजारक्षेत्र बढ्दै गएको छ ।


विकास निर्माण तीव्ररुपमा भइरहँदा निर्माणका सामग्रीको माग ह्वात्तै बढेको छ । पहाडी र हिमाली क्षेत्रमा बढ्दै गएको शहरीकरणले उपभोग्य सामग्रीको बजार थपिदैछ । त्यस्तो अवस्थामा पूर्वमा उत्पादन भएका सामग्री पश्चिममा ल्याएर बिक्री गर्दा ढुवानी धेरै रकम खर्चिनु भन्दा यही उद्योग खोलेर उत्पादन गर्नु उद्योगीका लागि दीर्घकालिनरुपमा फाईदाजनक हुने देखेर उद्योगीहरु बाँकेका विभिन्न स्थानमा उद्योग स्थापना गर्न तम्सिएको शिखर प्लाईउड प्रालिका प्रोप्राइटर चम्पालाल बोथराले बताए ।


ठूलो स्केलमा आफ्ना उत्पादन बिक्री गर्ने र पश्चिममा बजारको राम्रो सम्भावना देखेर उद्योगीले बाँकेलाई उद्योग संचालनका लागि रोजेको उनले बताए । ‘बाँकेमा लगानीकर्ताहरु आकर्षित हुनुको अर्को कारण सहजरुपमा जग्गा प्राप्त गर्न सकिने हो,’ उनले भने, ‘अन्य ठाउँभन्दा सहजरुपमा जग्गा उपलब्ध हुने भएका कारण पनि यहाँ लगानीकर्ताको आर्कषण देखिन्छ ।’
भारतसंग सीमा जोडिएको र एकीकृत भन्सार जाँच चौकी निर्माणको क्रममा रहेकोले बाँकेलाई उद्योगीले रोज्न थालेको छन् । नेपाल–भारत जोड्ने रेल र पूर्व–पश्चिम रेल संचालनमा आए त्यसले आयात निर्यातमा समेत फाइदा पुग्ने दूरदृष्टि राखेर यहाँ उद्योग संचालन गर्न उद्योगीहरु बाँकेलाई उपयुक्त स्थानको रुपमा देखिन्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलाई मध्यनजर गरि सरकारले बाँकेको नौवस्तामा प्रदेश ५ कै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र निर्माणको काम शुरु गरिसकेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया