प्रहरी हिरासतबाट तीन बन्दी फरार, सुरक्षाकर्मी निलम्बन

बाँकेको खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट तीन जना बन्दी नाटकीय रुपमा फरार भएका छन् । प्रहरी स्रोतका अनुसार, शनिवार मध्यरातमा शौचालयको झ्याल फोडेर तीन जना बन्दी फरार भएका हुन् ।


फरार हुनेमा सार्वजनिक सुरक्षा अपराध अन्तर्गत पक्राउ परेका खजुरा ३ का निर्मल थापा र उज्वल कार्की तथा लागुऔषध सहित पक्राउ परेका स्थानीय सिमन बिक छन् । दुई दिनअघिमात्र पक्राउ परेका बिकसँग प्रहरीले लागुऔषध ब्राउनसुगर बरामद गरेकाले आइतवार म्याद थप गराएर थप अनुसन्धान गर्ने प्रक्रियामा थियो भने, गत असार २३ गते पक्राउ परेका थापा र कार्कीको भर्खरै ५ दिनका लागि म्याद थप गरिएको थियो ।


इलाका प्रहरी कार्यालय धनौलीमा प्रमुखका रुपमा रहेका प्रहरी निरीक्षक मख्खन प्रसाद यादव शनिवार नै विदामा बसेका थिए । निमित्त इन्चार्जको जिम्मेवारी लिएका प्रहरी नायब निरीक्षक चक्र बहादुर खत्रीले घटनाबारे केही बताउन चाहेनन् । हिरासतबाट बन्दी भागेको घटनाबारे दैनिक नेपालगन्जको प्रश्नमा निमित्त प्रमुखको जिम्मेवारीमा रहेका खत्रीले सबै कुरा जिल्लामा रिर्पाेटिंग भइसकेकाले आफुलाई त्यसबारे बोल्ने अधिकार नरहेको बताए ।


बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बीर बहादुर वलीले घटनाको पुष्टि गरेका छन् । घटनाताका हिरासतको सुरक्षामा खटिएका सिपाही समशेर थापामगरलाई निलम्बन गर्दै थप अनुसन्धान अगाडी बढाएको बाँके प्रहरीले हिरासतबाट फरार तीन जनाको खोजीका लागि नाकानाकामा सादा पोशाकमा समेत आइतवार दिनभर प्रहरी परिचालन गरेको थियो । छिट्टै उनीहरुलाई पक्राउ गरिनेछ, प्रहरी उपरीक्षक वलीलै दैनिक नेपालगन्जसँग भने, सम्बद्ध सबै तिर प्रहरी परिचालन गरिसकिएको छ ।


लागुऔषधका लतमा फँसेका तीनै जना युवाले सामुहिक प्रयासमा ११ फिट अग्लो हिरासतमा रहेको फलामे झ्याल फोडेको देखिन्छ । स्रोतका अनुसार, हिरासतमा रहेका ५ मध्ये एक जना विरामी भइ अस्पताल पुर्याइएका र गम्भीर अपराधका अर्का एक जना हिरासतमै सुतिरहेकै अवस्थामा थिए । भाग्ने तीनै जना २० वर्ष भन्दा कम उमेरका छन् । उनीहरु लागुऔषधकै लतका कारण प्रहरी थुनाबाट भाग्ने गम्भीर अपराधमा फँसेको प्रहरी अनुमान छ ।


त्यस्तो गम्भीर अपराधमा परेर वर्षाैं थुनिनुपर्ने केसमा थिएनन्, अभिभावक समेतकहाँ पुगेर उनीहरुलाई हाजीर गराउन अनुरोध गरेको बाँके प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक वलीले लागुऔषधकै तलतलका कारण भागेको हुनुपर्छ । कानुन अनुसार अब भने उनीहरुमाथि हिरासतबाट भागेको अभियोगमा थप सजाय हुने निश्चित छ । लागुऔषध सेवन नगर्न सम्झाउँदा प्रहरीमाथिनै जाइलागेपछि कार्की र थापा सार्वजनिक सुरक्षा अपराध अन्तर्गत पक्राउ परेको बताइएको छ ।


घटनालगत्तै इलाका प्रहरी कार्यालय धनौली पुगेका बाँके प्रहरी प्रमुख वलीले हिरासतको झ्याल मरम्मतसँगै ग्रीलको अर्काे सुरक्षा बार लगाउन आदेश दिएका छन् । आइतवारनै उक्त झ्याल र बार बनाइएको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया