खजुरा गाउँपालिकाको सार्वजनिक सुनुवाई

खजुरा (बाँके), ३० असार

खजुरा गाउँपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई सोमवार सम्पन्न गरिएको छ । खजुरा गाउँपालिका वडा नं. ३ मा आयोजना गरिएको कार्यक्रममा खजुरा गाउँपालिकाले प्रदान गर्दै आइरहेको सेवा, आर्थिक वर्ष २०७५/०७६ मा अघि सारेका योजना र त्यसको कार्यान्वयनको अवस्थाका बारेमा प्रमुख किस्मतकुमार कक्षपति, उपप्रमुख एकमाया विकले सहभागी समक्ष प्रस्तुत गरेका थिए ।

प्रमुख कक्षपतिले नीति र कार्यक्रममा टेकेर विनियोजन गरिएको बजेट र टोल, बस्ती, वडा, विषयगत समिति, कार्यपालिका हुँदै गाउँसभाबाट पारित गरिएका योजनाको कार्यान्वयनलाई प्रमुखतामा राखेर कार्यसम्पादन गरिएको बताए । उनले विषयगत समिति, पालिकाले गरेको कार्यप्रगति समेत प्रस्तुत गरे । उपप्रमुख एकमाया विकले जनता र पालिका वीचको सहकार्यमा अगाडि बढ्दा विकास निर्माण तथा योजना कार्यान्वयन प्रभावकारी हुने बताइन ।

खजुरा गाउँपािलकाको आयोजना तथा बास, नेपालगन्जको सहजीकरणमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, वडाध्यक्षहरुले सहभागीको गुनासो मेटाएका थिए । सो कार्यक्रममा सहभागीले विद्युत अनियमितता, लो भोल्टेज, तार व्यवस्थित नभएको, कालोपत्रे सडक समयमा बन्न नसकेको, गुणस्तरीय निर्माण, खानेपानी, खजुरा कपास विकास समितिदेखि धनौलीसम्म निर्माण हुने फोरलेन सडकले गति लिन नसकेको लगायतका कुरा जोडदारका साथ उठाउँदै वित्तीय कुरामा गाउँपालिकाले वडालाई अधिकार दिनु पर्ने पनि सुझाव दिए ।

प्रतिक्रिया

प्रतिक्रिया