भगवान भरोसे सुरक्षा, एकैरात नेपालगन्जका दर्जन पसलका सटर फोडेर चोरी

चोरीका घटना बढिरहेको नेपालगन्जमा शनिवार मध्यरातमा सुर्खेतरोडका झण्डै एक दर्जन पसलका सटर ताला फोडिएका छन् । सुर्खेतरोडका ९ वटा पसलमा एउटै समुहले चोरीका लागि सटरका ताला फोडेको हो । प्रहरीले चोरीमा संलग्नताको आरोपमा पक्राउ गरेका मध्यबाट एक जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमैं राखिएको बाँके प्रहरीले जनाएको छ ।

सुर्खेतरोडस्थित प्रमोद किराना पसल, भोले बाबा फर्निचर, क्रियटिभ अल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा टे«डर्स, प्रभा किराना पसल, कुञ्ज टे«डर्स र शोभा टे«डर्समा एकैपटक चोरी भएको हो । ताला तोडेका ठाउँमा पनि नगद नभेटिएका ठाउँबाट मालसामान लगिएको छैन । चोरले नगद मात्र उठाएको छ ।

निरन्तर चोरीका घटनाका कारण असुरक्षा बढेको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघले बाँके प्रहरीको ध्यानाकर्षण गराएको जनाएको छ । संघका अध्यक्ष नन्दलाल बैश्यले नेपालगन्जको सुरक्षा व्यवस्था र चोरीका निरन्तरका घटनाबारे जिल्ला प्रहरीको ध्यानाकर्षण गराइएको बताए ।
यसैसाता विपी चोक र सेतु बिक चोकमा मोवाइल पसल चोरी भए । एक पछि अर्को चोरीका घटना भएपछि शनिवार साँझ मात्र नेपालगन्जका मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायीहरु सुरक्षा माग गर्दै जिल्ला प्रहरी कायालय बाँके पुगेका थिए ।

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बीर बहादुर वलीले मोवाइल पसलमा चोरी गर्ने कार्यमा संलग्नताको आशंकामा एक व्यक्ति पक्राउ परेको बताएका छन् । थप घटनामा पनि प्रहरीले सक्दो खोजीकार्य गरिरहेको प्रतिक्रिया दिएका प्रहरी उपरीक्षक वलीले चोरीमा संलग्न व्यक्ति कम उमेरका किशोर भएकाले अनुसन्धानमा समस्या आएको बताए । सटरका ताला फोड्ने र मोवाइल पसलमा चोरी गर्ने समुह किशोरहरुको रहेको प्रहरी ठम्याइ छ ।

निरन्तरका चोरीका घटनाबाट आशंकित व्यवसायीहरुले धम्बोझी, पुष्पलालचोक, त्रिभुवनचोक, सेतुबिक, बिपीचोक जस्ता मुख्य ठाउँमा रहेका प्रहरी बीटमा नियमित ड्युटी तथा राती बजार क्षेत्रमा नियमित गस्ती गर्न माग गरेको छन् । बजारमा जडान गरिएका सिसिटिभी क्यामेरा पनि बिग्रीएको प्रति प्रहरीको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया