५ हजारको लोभमा नेपालगन्जबाट रुपैडिहा अफिम पुर्याउन लागेकी जाजरकोटी खत्रीलाई प्रहरीले पक्राउ गरेको हो
एक नेपाली महिला भारतको रुपैडिहामा अफिम सहित समातिएकी छन् । मंगलबार भारतीय सीमा सुरक्षा बल एसएसबी र प्रहरीको संयुक्त टोलीले नेपाली महिलालाई चेकजाँचका क्रममा अफिम सहित पक्राउ गरेको हो ।
रुपैडिहा थाना प्रभारी निरीक्षक मनिष कुमार पाण्डेका अनुसार, लागुऔषध तस्करीको सूचनामा चेकपोष्टमा जाँच गर्दा जाजरकोटकी काली खत्री १ किलो ८ सय ग्राम अफिम सहित फेला परेकी हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिई थप कारवाही अगाडि बढाएको जानकारी दिए ।
भारतीय प्रहरी अधिकारीहरुले नेपालगन्जको धम्बोझीचोकदेखि रुपैडिहा पुर्याउनका लागि तस्करले महिलाको प्रयोग गरेको पाइएको बताएका छन् ।
‘५ हजार रुपैयाँका लागि अफिम बोकेर महिला रुपैडिहा आएको पाएका छौं’, भारतीय प्रहरीले सञ्चारकर्मीसँग भनेका छन् । नेपालबाट भारत अफिम तस्करी भएर जाने गरेको छ । यसअघि असार पहिलो साता जिल्ला प्रहरी कार्यालय बाँकेले पनि ठूलो परिणामको अफिम नियन्त्रणमा लिन सफल भएको थियो । बाँके प्रहरीले साढे १८ किलो अफिम सहित चार जनालाई नियन्त्रणमा लिएको थियो ।
बाँकेको प्रहरी टोलीले जाजरकोट त्रिवेणी नलगाड नगरपालिकाका पृथ्वी बहादुर विक, विर बहादुर विक, राजेन्द्र विक र पूर्वी रुकुम उत्तरगंगाकी शर्मिला मगरलाई नियन्त्रणमा लिएको थियो । नेपालगन्जमा पक्राउ परेका उनीहरुले पनि केही रकमको लोभमा अफिम तस्करी गरेको बयान प्रहरीलाई दिएका थिए । ‘प्रतिदिन १५ हजार रुपैयाँ पाउने शर्तमा अफिम नेपालगन्ज पुर्याउने जिम्मा लिएका थियौं’, प्रहरी नियन्त्रणमा परेकी शर्मिला मगरले पत्रकार सम्मेलनमै भनेकी थिइन् ।
प्रहरी निगरानीका वावजुद नेपाल–भारत सीमामा लागुऔषधको कारोबार घट्न सकेको छैन ।
बढ्दो छ अफिमको कारोबार
बाँकेका लागुऔषधको कारोबार बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ । पहाडी जिल्लाबाट अफिम ल्याएर नेपालगन्ज सीमा मार्फत भारत लैजाने गरिएको छ । लागुऔषध तस्करीका लागि भरियाहरुको प्रयोग हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, आ.व. ०७३/०७४ मा ५३ ग्राम अफिम बरामद भएको थियो । त्यो संख्या बढेर आ.व. ०७४/०७५ मा ७ किलो ३ सय ग्राम पुगेको थियो । आ.व. ०७५÷०७६ मा १८ किलो ५ सय ग्राम अफिम बरामद भएको प्रहरीको तथ्यांक छ ।
प्रहरीले लागुऔषधको कारोबार बढेको भन्दा पनि प्रहरी चनोखो हुँदै जाँदा पक्राउ पर्ने र मुद्दाको संख्या बढ्दै गएको बताएका छन् । पछिल्लो समय प्रहरीले सीमामा कुकुरको प्रयोग गरेर लागुऔषधको निगरानी गरिरहेको छ ।
लागुऔषध विरुद्ध प्रभावकारी कारवाहीका लागि प्रहरीले छुट्टै ब्यूरो नै सञ्चालन गरेको छ । नेपालबाट प्रहरी आँखा छलेर भारत पुग्नेहरु भारतीय प्रहरीको फन्दामा पर्ने गरेका छन् । भारतमा लागुऔषध सहित समातिएका धेरै नेपालीहरु अहिले पनि बहराई जेलमा सजाय भोगिरहेका छन् ।