यातायातमा चरम बेथिति

गैर कानुनी अभ्यासले बजार धराशयी हुनेमा व्यवसायीको चिन्ता

यातायात क्षेत्रमा देखिएको अन्योलता बीच चरम बेथिति देखा परेको छ । सम्बद्धहरुका अनुसार, सरकारले सिण्डिकेट विरुद्ध कम्पनी प्रणालीमा लैजाने प्रक्रिया थालेपछिको अवस्थामा खेल्दै यातायात माफियाहरुले बेथिति उत्पन्न गरेका हुन् ।


‘समग्र व्यवसाय नै अन्योलको अवस्थामा रहेकाले यसबीच मौकाको फाइदा उठाउनेहरुले बेथिति उत्पन्न गरेका छन्’, यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारी समेत रहेका भेरी यातायात व्यवसायी संघका अध्यक्ष डेकनाथ गौतमले दैनिक नेपालगन्जसँग भने, ‘राष्ट्रिय स्तरमै व्याप्त समस्याको व्यवस्थापनपछि अरु कुराहरुको समाधान हुँदै जान्छ ।’ अध्यक्ष गौतमले सरकारसँगको निरन्तर वार्ता र समझदारीबाट यातायात व्यवसायीहरु सहमति निकट पुगेको बताए । ‘आगामी साउनदेखि अनलिमिटेड कम्पनी सिष्टमबाट यातायात व्यवसायीहरु व्यवस्थित गरिंदैछन्’, साउन ३ गते त्यसको औपचारिक शुभारम्भ राखिएको जानकारी दिंदै अध्यक्ष गौतमले भने, ‘१५ गतेभित्र सबै यातायात व्यवसायीहरु भित्र रुपान्तरण भैसक्ने छन् ।’ त्यसपछि अन्य बेथितिहरु प्रति आफुहरुको ध्यानाकर्षण हुने गौतमको भनाइ छ ।


खासगरी विभिन्न जिल्लाबाट पर्यटक बसका नाममा भारतका ठूला सहरहरुमा सोभैm यातायात सञ्चालन थालिएपछि अस्वस्थ प्रतिस्पर्धा बढेको सम्बद्ध व्यवसायीहरुको भनाइ छ । ‘यो गैर कानुनी मात्रै होइन अराष्ट्रिय गतिविधि पनि हो’, भेरी यातायात व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष शोभाखर पौडेलले नेपाल–भारत मैत्री बस बाहेक अरु बस सञ्चालन ऐन विपरित भैरहेको जानकारी दिंदै भने । ‘म लामो समय काठमाडौंमै रहेकाले त्यसबारे थप कुरा बुझेर मात्र भन्न सक्छु’, अध्यक्ष गौतमले भने ।


बाँकेका यातायात व्यवसायीहरुले विभिन्न जिल्लाबाट सोझै भारतका सहरमा अवैधानिक रुपमा बस चलाउने कुराको तिव्र विरोध गर्दै आएका छन् । ‘यो भारतीय योजनामा भैरहेको गम्भीर खेल हो’, वरिष्ठ उपाध्यक्ष पौडेलले आलोपालो सिष्टम भनिएपनि भारतसँग केहीगरी प्रतिस्पर्धा गर्न नसकिने भनाइ उनको थियो ।


नेपालगन्ज नाका हुँदै दैनिक आधा दर्जन बढी बस भारतका विभिन्न सहर जाँदा नेपालगन्जको बजार नै प्रभावित भएको सम्बद्ध व्यवसायीहरुको भनाइ छ । ‘सबै भन्दा ठूलो प्रभाव होटल व्यवसायमा परेको छ’, होटल व्यवसायी संघ नेपालगन्ज बाँकेका महासचिव रंग बहादुर खड्काले दैनिक नेपालगन्जसँग भने, ‘यस विषयलाई लिएर हामी निरन्तर छलफलमा छौं ।’
होटल व्यवसायी संघ नेपालगन्ज बाँकेले यसबारे सर्वपक्षीय छलफल गर्ने भएको छ । ‘हामी यस मामिलामा निकै गम्भीर छौं’, महासचिव खड्काले नेपालगन्जको होटल व्यवसाय धराशयी हुने अवस्थामा पुग्नुको कारण सयौं यात्रु नेपालगन्ज नपसेरै भारत तर्फ जाने र त्यताबाट पनि सोझै सम्बन्धित जिल्लामा जाने व्यवस्थाले समस्या सिर्जना भएको जानकारी दिंदै भने । आज मंगलबार संघले सल्लाहकार लगायतसँग बैठक डाकेको महासचिव खड्काले बताए ।


दुई साता अघिमात्र नेपालगन्जको बाटो हुँदै अर्घाखाँची जाँदै गरेका दुई वटा बस पुष्पलाल चोकबाटै यातायात व्यवसायीहरुले रोकेका थिए । यातायात व्यवसायीको प्रयासलाई साथ दिएका होटल व्यवसायीहरुको समेत अवरोध पछि यातायात व्यवस्था कार्यालयले कानुन विपरित भएको भन्दै बसलाई भारत फर्काएका थिए । तर, ती बस भारतीय बाटो हुँदै कपिलवस्तुबाट अर्घाखाँची पुगे । ‘अहिले गुल्मी, अर्घाखाँची, सल्यान, प्युठान जस्ता जिल्लाबाट मात्रै रुपन्देही समेतबाट नेपालगन्ज दिल्ली, गुजरात, हिमाञ्चलका लागि नियमित बस जाने गरेका छन्’, महासचिव खड्काले पर्यटक बसका नाममा अवैध कार्य भैरहेकाले रोक्न सर्वपक्षीय प्रयास थालिएको जानकारी दिंदै भने ।


भेरी यातायात व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष पौडेलले पनि यसखालका अवैध कार्य रोक्न सरकारी ध्यानाकर्षण तत्काल आवश्यक भएको बताए । ‘सीमावर्ती सहरबाट भारतका विभिन्न सहरमा सेवा प्रवाह गर्न सकिन्छ’, पौडेलले त्यसबाहेक जिल्ला जिल्ला पुगेर यात्रु ओसार्ने कार्यलाई कुनै हालतमा मान्यता दिन नसकिने बताए । ‘यातायात व्यवस्था कार्यालयले पछिल्लो पटक राम्रो काम गर्यो’, पौडेलले भने, ‘तर, त्यस उप्रान्त अवैध कार्य अझै रोकिएको छैन ।’

प्रतिक्रिया

प्रतिक्रिया