खेलकुदमा सिलवालको नेतृत्व, परिवर्तन गर्ने दृढ संकल्प

राष्ट्रिय खेलकुदको सर्वोच्च निकायको कार्यकारी पदमा रमेश सिलवाल नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिवमा सिलवाल नियुक्त भएका हुन् ।


देशभरीका संस्थागत उच्च शिक्षा सञ्चालकहरुको संस्था हिसानका केन्द्रीय अध्यक्ष सिलवालले सोमबार मन्त्री स्तरीय निर्णयबाट सदस्य सचिव नियुक्त भएपछि तत्कालै पदभार ग्रहण गरेका छन् । निवर्तमान सदस्य सचिव केशवकुमार विष्ट सँगै पत्रकारसँग प्रस्तुत भएका नवनियुक्त सदस्य सचिव सिलवालले खेलकुदमा केही परिवर्तन गर्ने दृढ संकल्प सहित नयाँ जिम्मेवारीमा आएको बताए । आफु जागिर खान मात्र जिम्मेवारीमा नआएको धारणा व्यक्त गर्दै सिलवालले सपथ लगत्तै भने, ‘कुनै आग्रह पुर्वाग्रह राखेर काम गर्ने छैन । सबैको सल्लाह लिनेछु । निर्णय आफुले गर्नेछु ।’


अवसर भन्दा चुनौति बढी देखेको बताउने सदस्य सचिव सिलवालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको आयोजना गर्नु आफ्नो पहिलो कार्यभार रहेको प्रष्ट पारे । ‘आफ्नो हनिमुन पिरियडमै नतिजा निकाल्ने गरि काम गर्ने प्रतिबद्वता जनाउछु,’ सदस्य सचिव सिलवालले स्वच्छ र पारदर्शी प्रशासन सहित विधि सम्मत तरिकाले राखेप चलाउने प्रतिबद्धता पनि जनाउँदै भने ।
हरेक दिन तालिका बनाएर काम अघि बढाउने जानकारी दिएका सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास गरेर राखेपको जिम्मेवारी दिएको खुलासा पनि गरे । ‘सफल नतिजा निकाल्ने विश्वास छ’, सिलवालले दृढतापूर्वक भने ।


पदबहाली लगत्तै राखेप कर्मचारी र संघका प्रतिनिधिलाई सम्बोध गर्दै उनले स्वच्छ प्रशासन सञ्चालन गर्ने उल्लेख गर्दै योग्यताका आधारमा कर्मचारीको मुल्याङ्कन गर्ने प्रतिबद्वता जनाएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया