बसन्त शर्मा
२२ गते देखि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । राष्ट्रि«य जागरण अभियानको समिक्षा, नियमावलि संशोधन मस्यौदा समितिको प्रस्ताव नेपाली काँग्रेसको नियमावलि २०७६ र भातृ एवं शुभेच्छुक संसथाको विधान लगाएतका विषयमा छलफल हुन सक्ने देखिन्छ । २०७५ सालको मंसिर र पुषमा सम्पन्न काँग्रेसको महासिमतिको लिखित राजनीतिक प्रस्तावमा उप सभापति विमलेन्द्र निधिको दस्तावेजलाई आधार मान्ने हो भने विरगन्ज महाधिवेशन २०१२को समाजवाद नीतिलाई अंगिकार गरको दावि गरिन्छ तर ०६५ सालमा भएको गणतन्त्र घोषणा र २०७२ सालमा जारी संविधानमा धर्म निरपेक्षता लेखिएको छ । यदी २०१२ सालको नीतिको निरन्तरता मान्ने हो भने नेपाली काँग्रेस प्रजातन्त्र र आध्यात्मको हत्या गरेर समाजवाद स्थापना गर्न नसकिने र त्यो स्विकार्य नहुने भन्ने अर्थ लाग्दछ ।
काँग्रेसको दस्तावेजले देशमा चार वटा राजनीतिक शक्ति भएको स्वीकार्दै बहुलवादमा आधारित संसदीय व्यवस्थालाई आप्mनो मूल नीति बनाएको पाइन्छ । परम्परावादी राजावादी दक्षिणपन्थि विचारधारा, जातीय अतिवाद र क्षेत्रीय अतिवाद र एक दलिय निरंकुशता सँगै जनवादी केन्द्रियता लाद्ने शक्तिबाट देशलाई खतरा रहेको समेत काँग्रेसको नीतिले बताउँदछ ।
महामन्त्री शशांक कोइरालाको साँगठनिक प्रतिवेदनलाई आधार मान्ने हो भने त समयको माग र देशको आवश्यकतालाई विश्लेषण गर्दै नीतिहरुमा पूनरावलोकन गरिरहनु पर्ने उललेख छ । काँग्रेसको विधानका बारेमा तल्लो तहका कार्यकर्ता र केन्द्रीय तहका नेताहरु बीच ठूलो खाडल देखिन्छ । तल्लो तहदेखि जिल्ला तह र प्रदेश हुँदै केन्द्रीय तहसम्म पुग्ने प्रक्रिया र निर्वाचन पद्धतिमा काँग्रेसका नेता तथा कार्यकर्ताहरुबीचमा एकमतता छैन ।
त्यसो भए स्थापना भएको ७४ औं वर्षमा प्रवेश गर्दै गरेको नेपाली काँग्रेस कता जाँदै छ ? र के गर्दै छ त ? आम रुपमा उठिरहेको प्रश्न यही हो । काँग्रेस भित्र नीतिगत रुपमा छलफल गर्ने परिपाटी क्षीण हुँदै गएको अवस्था छ । नीतिगत तहका बहस करिव शून्य छन् । नेपाली काँग्रेस भित्र । ग्रुपीजम केवल नेतृत्वमा पुग्ने, सत्तामा जाने र संगठनलाई आफु अनुकुल पार्ने विषयमा मात्रै हुने गरेको देखिन्छ ।
पछिल्लो पटक स्थानीय तह र संसदीय निर्वाचन सम्पन्न गरेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संगठनलाई मजवुत बनाउन सकिनरहेको आरोपबाट मुक्त छैनन् । पटक पटक देशको प्रधानमन्त्री भएका देउवालाई पार्टी कमजोर बनाएको जवर्जस्त कार्यकर्ताहरुको आरोप छ । जे जस्तो भएपनि नेपाली काँग्रेस भन्नु पार्टी सभापतिको अनुहार नै हो । नीतिगत रुपमा अहिले कुन धरातलमा छ त नेपाली काँग्रेस ? कार्यकर्ताहरु असमन्जस्यताको स्थितिमा छन् । कन्प्mयुजनको स्थितिमा छन् कार्यकर्ताहरु ।
नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट देउवा पार्टी सभापतिमा निर्वाचित भए । उनको विद्यार्थी राजनीतिलाई एक छिन छुट्टै राख्ने हो भने देउवा पार्टी भित्र संस्थापन इतरको ग्रुपिजमबाट नेता बनेका हुन् । उनले नेपाली काँग्रेस विभाजन गर्दै नेपाली काँग्रेस प्रजातान्त्रिकको नेतृत्व समेत गरेका थिए । हाल उनै ब्यक्ति संस्थापनको तहमा हुँदा पार्टीको विधि विधान,निर्णय प्रक्रिया र नेपाली काँग्रेसको संगठन कुन अवस्थामा छ त ? आम रुपमा हेरिने पाटो यही हो ।
यस पटक महासमितिको बैठक सम्पन्न गरे यता देउवा रिफ्रेस भएर बसे, केही रिल्याक्स पनि । उनीमाथि दवाव पनि थियो महासमिति बैठकको । त्यस यता उनले अनुशासन समिति गठन गर्दै संगठनको केही काम गरेको जस्तो देखियो । त्यसमा जागरण अभियान पनि थपिंदा कार्यकर्ताहरुमा निकै आत्म विश्वास बढेको थियो, त्यति मात्रै नभएर संगठनमा ठुलै परिवर्तन आउने आशा पनि थियो । तर जागरण अभियानको प्रकृति र गुट उपगुटको आयोजनामा जिल्ला जिल्लामा फेरी एक पटक ध्रुविकरण भयो, जुन जागरण अभियानको ठिक उल्टो मर्ममा अघि बढ्यो । केही दिन अघि अनुशासन समितिको एउटा प्रतिवेदनले कारवाहीको जस्तो स्वरुप देखायो । एकातर्फ पार्टीले पुराना नेता तथा कार्यकर्ताहरुको अभिलेखिकरण गर्दै अरु पार्टीमा गएकाहरुलाई समेत पार्टीमा फर्काउने अभियानको थालनी गरेको बताइएको थियो । यी दुई कामले पार्टीको सांगठनिक नीति बाँझियो ।
हुन त काँग्रसको शुरुवाती दिनहरु पनि ग्रुपीजमबाटै संगठन चलेको थियो । उति बेला लक्ष्य एक थियो । नीतिगत रुपमा केही मतभेद रहँदा आन्तरिक संघर्ष नेताहरुकाबीचमा चलेकै हो । पछिल्ला दशकमा त आफ्नै दलका उम्मेदवारलाई निर्वाचन नै हराउने गरी ग्रुपिजम हुने संस्कृतिलाई मलजल भयो । फलस्वरुप संगठन कम्जोर हुँदै गयो । केन्द्रको राजनीतिमा हुनेहरु सत्ताको स्वादमा रमाए पनि ग्राउण्ड तहका कार्यकर्ताहरुलाई संगठन कमजोर भएको व्यथाले पिरोल्ने गर्दथ्यो ।
विगतलाई हेर्दा ः
वि.सं. १९९५ को नेपाल नागरिक अधिकार समिति र १९९७ को प्रजापरिषदको गतिविधिलाई राणा शासनबाट चरम दमन गरेपछि नेपाली जनता स्वतन्त्रता र न्यायको खोजिमा संर्घष गरिरहँदा नेपाली काँग्रेसको जग स्थापना भएको थियो । ग्रुपीजम त यति सम्म भयो कि दुई काँग्रेस पछि पहिलो सभापति भएका स्व. मातृकाप्रसाद कोइरालाको तस्विर समेत भेटिंदैन पार्टीमा, योगदानको त कुरै छाडौं । उसो त मातृका प्रसाद कोइरालाका विषयमा छुट्टै बहस गर्न सकिन्छ, अहिले त्यता लागिन म ।
२००३ कात्तिक १५ गते भारतको वनारशमा अखिल भारतीय नेपाली राष्टिय काँग्रेस गठन भएको थियो । संस्थापक विश्वेश्वरप्रसाद कोइरालााको संयोजकत्वमा कृष्णप्रसाद भट्टराई, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई र इश्वर बराल सदस्य रहेको उक्त संगठनको सामूहिक अध्यक्षता सुब्बा देविप्रसाद सापकोटाले गरेका थिए । त्यसरी नेपालको राजनीतिमा त्यही संगठन नै पहिलो राजनीतिक संगठनका रुपमा उदाएको थियो जसको निरन्तरता आजको नेपाली काँग्रेस हो ।
नेपाली काँग्रेसको इतिहासलाई फर्केर हेर्ने हो भने भारतको कलकत्ता स्थित भवानिपुरमा भएको २००३ साल माघ १२ र १३ (सन् १९४७ जनवरी २५ र २६) गतेको महाधिवेशनले अखिल भारतीय हटाएर नेपाली राष्टिय काँग्रेस बनायो । तत्कालिन प्रजा परिषदका नेता गणेशमान सिंह (जो कृष्णबहादुर प्रधान का नामले भारमा चिनिन्थे), को सक्रियतामा बनेको नेपाली राष्ट्रिय काँग्रेसको प्रभाव नै बिराटनगरमा मजदुर आनदोलनको सुरुवात भएको थियो । जुन आन्दोलन नेपालको प्रजातन्त्रको मियो समेत हो । २००४ साल सम्म आइपुग्दा मजदुर आन्दोलन र सतयाग्रहको प्रभाव वनारशमा नै दोश्रो महाधिवेशन भएसँगै काँग्रेस संगठनात्मक रुपमा अघि बढ्न थाल्यो जसलाई तत्कालिन राणा शासकहरुले रोक्न गरेका अनेकन प्रयासहरु असफल भएका थिए । त्यस लगत्तै २००५ सालमा भारतको दरभंगामा पार्टीको तेश्रो महाधिवेशन सम्पन्न भयो । तर वी.पी.कोइराला पक्राउ परेपछि त्यो महाधिवेशनका लक्ष्यहरु पुरा गर्न काँग्रेसलाई अप्ठेरो अवस्था आयो त्यही सेरोफेरोमा मातृकाप्रसाद कोइरालालाई कार्यवहाक सभापति पनि बनाइयो र देशभरी पार्टीको संगठन भने मजबुत बन्यो ।
२००६ चैत्र २७ गते कलकत्ताको चर्चित टाइगरहल महाधिवेशनबाट नेपाल प्रजातन्त्र काँग्रेस र नेपाली राष्टिय काँग्रेसको एकिकरणबाट बनेको दल विधिवत नेपाली काँग्रेसका नामले स्थापना भयो र त्यसको नेतृत्व मातृकाप्रसाद कोईरालाले गरे । २००५ साल साउन १ गते प्रजातन्त्र काँग्रेस स्थपना गर्नुमा सुवर्णशम्सेर राणा,महाविश शम्सेर राणा,महेन्द्रविक्रम शाह, सूर्यप्रसाद उपाध्याय, पुष्पलाल श्रेष्ठ, महाननद सापकोटा, सुन्दरराज चालिसे, निर्मल लामाको भूमिका थियो ।
वि.सं.२००७ को पूर्व तयारीमा बनेको त्यही संगठनले नेपालको राजनीतिक सत्ता समेत लामो समय सञ्चालन गरेको हो । नेपाली काँग्रेसको २००९ सालको जनकपुर महाधिवेशन,२०१२ सालको वीरगञ्ज महाधिवेशन, र २०१४ सालको बिराटनगर महाधिवेशनले वी.पी. र मातृका कै वरीपरीको नेतृत्वमा फन्को मारेको थियो । जब २०१७ सालको राजाको प्रत्यक्ष शासनले वी.पी. कोईराला सहित देशभरबाट नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता पक्राउ पर्न थाले तब नेपालको अवस्था निकै कठीन बन्न पुग्यो । झण्डै ३१ वर्ष पछि ०४८ सालमा भएको झापाको कलवलगुडि ८औं महाधिवेशनले काँग्रेसको संगठनलाई निकै मजवुत बनायो र नेतृत्व समेत परिवर्तन भयो । ०४८ सालकै पार्टीको संगठनले काँगे्रसलाई ०७०को संविधानसभा सम्म बचाइ राख्यो । यसबीचमा भएको माोवादीको सशस्त्र युद्ध र एमाले,राप्रपा र मधेश केन्द्रित लगाएतका दलहरुको उदय र सक्रियताले काँग्रेसको संगठनात्मक अवस्था निकै कम्जोर हुँदै गयो । यद्यपी ०७० को निर्वाचलने काँग्रेसलाई नै पहिलो दल बनाएको भएपनि ।
२०५३ को नवौं महाधिवेशन पछि काँग्रेस आन्तरिक कलह,विवाद र कुर्सिको खेलमा सिमित हुँदै गर्दा देशमा प्रजातन्त्र नै कम्जोर बन्यो । फेरी राजा सक्रिय भए । पार्टी विभाजित भयो,आफ्नै दलको सरकार ढल्यो र ढालियो । पार्टी विभाजन भएपछि संगठन करिव करिव ध्वस्त भयो । ९औ महाधिवेशनदेखि १२औं सम्म पुग्दा संगठन निकै कमजोर अवस्थामा पुग्यो परिणाम संविधानसभाको निर्वाचन ०६४मा दोश्रो दलमा सिमित हुन पुग्यो । तर २०७० मा काँग्रेस फेरी पहिलो दल बन्न सक्ने अवस्थामा पुगेको थियो । पछिल्ला स्थानीय तह,प्रदेश र संघीय चुनावले काँग्रेस कम्जोर अवस्थामा देखाउँछ । त्यसका अनेकन कनरण होलान पनि ।
पहिलो संविधानसभा भंग भएपछि देशमा उतपन्न राजनीतिक संक्रमणलाई स्व.सुशील कोइराला नेतृत्वको सरकार र काँग्रेसले निकासको बाटोमा त लग्यो तर संविधानका थुप्रै विषयहरुमा देशमा बहस पनि चले । भारतको अघोषित नाकाबन्दी पनि नेपालीले झेल्नु परेको थियो ।
फेरि वर्तमानमा फर्कदा ः
लामो समय सत्तामा रहेको काँग्रेस अहिले कमजोर प्रतिपक्षको आरोप खेपिरहेको छ । नेपाली काँग्रेस कहिले काहीं संसद अवरुद्ध गर्दै लाइमलाइटमा आउँछ अनि फेरी सुस्ताउँछ । निर्वाचित महामन्त्री र पार्टीका उप सभापति पार्टी मूल नीति भन्दा बाहीर गएर अभिब्यक्ति दिन्छन् । केही पदाधिकारीहरुकै एक आपसमा बोलचाल नहुने अवस्था छ । यो अवस्थामा पार्टीको मूल नीति र संगठनको हालत कस्तो अपेक्षा गर्लान कार्यकताहरुले । विधानलाई एकातीर थन्काउँदै भए पनि विजय कुमार गच्छदारलाई उप सभापति बनाएकै छ, काँग्रेसले ।
देशमा भएका विभिन्न घट्ना क्रमलाई सहि समयमा सम्बोधन गर्न काँग्रेस चुकिरहँदा स्वतन्त्र रुपमा हुने विरोध र आन्दोलनमा हो मा हो जोड्न गएको मात्रै देखिन्छ । संसदमा गगन थापा, मिनेन्द्र रिजाल, सञ्जय गौतम लगायतका अनुहारहरु कहिलेकाहीं लाइमलाइटमा आउँछन् । शेखर कोइराला पनि आप्mना लेखहरु मार्फत सभापति माथि महाधिवेशन गर्न नैतीक दवाव दिइरहेकाछन् । उता प्रवक्ता विश्वप्रकाश शर्मा बेलाबखत मीडीयामा आइरहनु बाहेक कुनै ठोस योजना लिएर काँग्रेस जन स्तरमा जान सकेको अवस्था छैन ।
नेतृत्व हत्याउने ध्याउन्नमा कोइराला लिगेसीबाट शेखर कोइराला लगातार देश दौडाहमा छन्, पछि पछि शशांक कोइराला पनि कुद्ने प्रयासरत छन् । रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला पनि आफ्नै कछुवाको गतिमा हिंडी रहेकै देखिन्छ । उता सभापति देउवा विधानमा टेकेरै केही कार्यसमितिको अवधि लम्बाउँदै फेरी पार्टीको नेतृत्व आफैले गर्ने चिन्तनका साथ लागि परेको अवस्था छ । यसरी समग्रमा आँफैले बनाएको विधि र प्रकृयामा पार्टी नचल्नु काँग्रेसको चरित्र नै भइसकेको छ । घोडेटो, गोरेटो र राजमार्गको बाटोमा काँग्रेस हिंड्दा फरक फरक इतिहासका बीच नेपाली काँग्रेस अबका दिनहरुमा कुन दिशामा कता अगाडि बढ्छ यसै केही भन्न सकिने अवस्था देखिंदैन ।