अमेरिकामा नेपाली फिल्म फेस्टिभल नेपालगन्जको चर्चा

दैनिक नेपालगन्ज

चलचित्र निर्देशक नवीन सुब्बा फरक धारका नेपाली चलचित्र बनाउनमा सिद्धहस्त छन् । ठुलो पर्दाका ‘नुमाफुङ’, ‘गुडबाई काठमाडौं’ र टेलिचलचित्र ‘दलन’ उनका बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा पुरस्कृत फिल्म हुन् । बिभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा नेपाली फिल्मलाई सहभागि गराएर अन्तर्राष्ट्रिय एरिनामा पुराउने उनी पहिलो नेपाली फिल्ममेकर हुन् । उनै सुब्बाले अमेरिकामा नेपालगन्जको चर्चा गरेका छन् ।
‘नयाँ पुस्ताले फिल्ममार्फत सोसियो न्यारेसन गर्न जानेको छ ।’ निर्देशक सुब्बाले भन्नुभयो –‘यसको महत्व पनि बुझेको छ ।’

केही समय पहिले आफु नेपालगन्जमा ठिक यस्तै फिल्म फेस्टिभलमा सहभागि भएर आएको पनि मानार्थ अध्यक्ष सुब्बाले बताउनुभयो । ‘राजधानीदेखि परको सहर नेपालगन्जमा फिल्म फेस्टिभल भइरहेको छ ।’ उहाँले भन्नुभयो, ‘यो क्रमिक रुपले फिल्म क्षेत्रमा हुनलागेको विकास हो । फरक धारका फिल्महरुका लागि यस्ता फेस्टिभल कोसेढुंगा सावित हुनेछन् र त्यो ठाउको पर्यटन प्रवद्र्धन पनि हुदै जान्छ ।’

नेपालगन्ज इन्टरनेसनल फिल्म फेस्टिभलका मुख्य निर्णायकमध्ये एक सुब्बा देश विदेशमा हुने फिल्म फेस्टिभलहरुमा निम्त्याइएका हुन्छन् । नेपालगन्ज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको दोस्रो संस्करणमा उनी तीन सदस्यीय निर्णायक मण्डलमा थिए । उनी यतिबेला तेस्रो नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका क्रममा वासिङ्टन डिसीमा छन् । उनी यस महोत्सवका मानार्थ अध्यक्ष हुन् ।

नेपाल अमेरिका फिल्म सोसाइटीले वासिङ्टन डीसी महानगर क्षेत्र अन्तर्गत म्यारील्याण्ड राज्यमा यही जुन २८ देखि ३० तारिखसम्म आयोजना गरेको फेस्टिभलमा बिभिन्न विधामा पुरस्कृत गरियो । कथानकतर्फ बंगलादेशका तउक्वीर अहमदले निर्देशन गरेको ‘फागुन हवे’ ले बेस्ट चलचित्र फिचर अवार्ड जित्न सफल भयो । युकी काङको ‘अ लिटल विस्डम’ बेस्ट डकुमेन्ट्री अवार्ड र इरानका मोहम्मद बक्सीको ‘आर यु भलिबल’ बेस्ट सर्ट फिल्मको अवार्ड जित्न सफल भए ।

उद्घाटन समारोहमा प्रदर्शन गरिएको चलचित्र बुलबुल र समापन समारोहमा कथा ७२ भने प्र्रतिस्पर्धामा थिएनन् । महोत्सवमा ग्लोबल पीस फिल्म फेस्टिबल फ्लोरिडाको साइडबारका रुपमा दुई वटा चलचित्र प्रदर्शनमा थिए । अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीले महोत्सवको उद्घाटन गर्नुभयो । महोत्सवमा मेरील्याण्ड फिल्म अफिसका निर्देशक ज्याक गेर्वेस, महावाणिज्यदुत प्रेमराजा महत, म्यारील्याण्ड राज्यको मन्टगमरी काउन्टीका काउन्सिल सदस्य टम हकर लगायत उपस्थित थिए । समापनमा मेरील्याण्ड राज्यका डेलिगेट एचबी ह्यारी उपस्थित थिए । यो फेस्टिभल नेपाली समुदायले नेतृत्व गरेको नर्थ अमेरिकाकै ठुलो चलचित्र महोत्सव हो ।
त्यसैगरी महोत्सवमा फागुन हावे, पोर ग्रेग ड्रौनिङ, अवशेष, अ लिटल विस्डम, टहरा, आर यु भलिबल, सुपर मोंक, तातिनी, डाक्टर सिं, फाइव ओक्लक, व्यालेट एफ्टर डार्क लगायत चलचित्र, सर्ट मुभी तथा डकुमेन्ट्रीले पुरस्कार प्राप्त गरेका थिए । महोत्सवमा नेपाल लगायत बिभिन्न देशका ३४ फिल्म प्रदर्शन गरिएको आयोजक नेपाल अमेरिका फिल्म सोसाइटीका संस्थापक किरण पौड्यालले जानकारी दिए ।

उद्घाटन र समापन एएफआई सिल्भरमा सम्पन्न भएको थियो । नियमित प्रदर्शन रेगल सिनेमासँगको सहकार्यमा ह्याट्सभिल मेरिल्याण्डमा भएको थियो । चलचित्र प्रदर्शनका साथै मेरिल्याण्ड पार्क्स तथा प्लानिङ कमिसनसँगको सहकार्यमा हरेक दिन सिनेमाबारे छलफल तथा चिया गफ गरिएको संस्थापक पौड्यालले दैनिक नेपालगन्जसँग बताए ।

चलचित्र महोत्सव अवधिभर प्रदर्शन गरिएका बिभिन्न विधाका चलचित्रहरुलाई भर्खरै फ्रान्समा आयोजना भएको फिल्म फेस्टभलमा अर्को फिल्मका लागि ६० हजार डलर पुरस्कार जितेका मिनबहादुर भामको अध्यक्षतामा रहेको ल जोला फेसन फिल्म फेस्टिभलकी रेबेका बुस्टामानत र एमी अवार्ड विजेता तथा लेखक, निर्मात्री मिमि मचाडो लुसेससहितको तीन सदस्यीय निर्णायक मण्डलले ११ विधामा पुरस्कारको घोषणा गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया