जुमा स्पोर्टस् क्लब बाँकेको नेतृत्व पुनः भीम बहादुर रानाभाटले सम्हाल्ने भएका छन् । क्लबको शनिबार भएको प्रथम बार्षिक साधारणसभा तथा अधिवेशनले रानाभाटको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दीर्घराज आचार्य, शिव दाहाल, सचिवमा विष्णु श्रेष्ठ, सहसचिवमा उदयराज अधिकारी, कोषाध्यक्षमा सन्तोष पौडेल रहेका छन् ।
सदस्यहरुमा सुर्यमणि अधिकारी, अनन्तराम अर्याल, सन्तोष बजगाई, ऋषिराम कंडेल, टोप बहादुर थापा, रवि पौडेल र बासुदेव पराजुली सर्वसम्मत भएको भएको अध्यक्ष रानाभाटले जानकारी दिएका छन् ।
क्लब अध्यक्ष रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका आठौं राष्ट्रिय खेलकुद दुई बर्षभित्रै आयोजना गर्न सफल भएको भन्दै खेलकुद परिषद् प्रदेश ५ का अध्यक्ष भीम ओली र चौथो राष्ट्रिय खेलकुद २०५४ सफलतापूर्वक नेपालगन्जमा आयोजना गर्ने रतन कुमार टण्डनलाई सम्मानित पनि गरिएको थियो ।
जुमा खेललाई व्यवसायिक रुपमा अघि बढाउने उद्देश्यले गत बर्ष गठन गरिएको थियो । गठन सँगै जुमाले दुई वटा प्रतियोगिता आयोजना गरिसकेको छ । जुमाले प्रथम अन्तर व्यवसायी कप फुटबल र फुटसल प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितालाई बर्षेनी निरन्तरता दिने र अझ परिष्कृत गर्ने भनाइ क्लब अध्यक्ष रानाभाटको छ ।
शनिबार नै सकिएको अधिवेशनमा अध्यक्ष रानाभाटले १२ लाख ३२ हजार बढीको आय, व्याय प्रस्तुत गरे । संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका अध्यक्ष रानाभाटले आगामी दिनमा क्लबलाई अझ विशिष्ट ढंगले अगाडि बढाउने घोषणा गरे । संस्थाका सचिव विष्णु श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा प्रमुख अतिथि, प्रदेशसभा सदस्य समेत रहेका ओलम्पियन सुरेन्द्र बहादुर हमालले खेलकुदमा निजी क्षेत्रले खेलेको भूमिकालाई सराहना गरे ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले खेलकुदका लागि स्थानीय तहबाट सक्दो प्रयत्न भैरहेको बताइन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य विनोद मैनाली, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायतले धारणा राखेका थिए ।
सम्मानित व्यक्तित्व नेपाल ओलम्पिक कमिटिका कोषाध्यक्ष रतन कुमार टण्डनले आफ्नो बाँकी जीवन पनि खेलकुदमा समर्पित गर्ने घोषणा गरे । अर्का व्यक्तित्व खेलकुद परिषद्का प्रदेश अध्यक्ष भीम ओलीले आठौं राष्ट्रिय खेलकुदका लागि नेपालगन्ज र आसपासका जिल्लामा निर्माण भएका पूर्वाधारको उचित प्रयोगको व्यवस्थापन मिलाइने बताए । त्यसका लागि कार्यविधि तयार हुँदै गरेको जानकारी दिए । खेलकुद क्षेत्रको समग्र विकास र त्यसमा अग्रसर व्यक्तित्वहरुको बारेमा पत्रकार टीएस ठकुरी र झलक गैरेले प्रकाश पारेका थिए ।