बिहीबार दिउँसो १० बजेदेखि नै व्यवसायीहरुको एउटा समूह नेपालगन्ज भन्सार कार्यालयमा चलायमान देखियो । कारण थियो, अघिल्लो रात राप्तीसोनारी गाउँपालिका–८ अगैयाबाट नियन्त्रणमा लिइएका खसीको लिलामी बढाबढ गर्न ।
उसो त कतिपयलाई च्याखे थापेरै पनि कमाउने बानी परेको छ । ‘अघिल्लो पटक तीन लाख रुपैयाँ त च्याखे नै बाँडिएको थियो’, लिलामी भन्दा च्याखेमा रुचि राखेर भन्सार पुगेका एक व्यवसायीले दैनिक नेपालगन्जसँग भने, ‘आज त खसीको रौं पनि देख्न पाइएन, लगिसकेको रहेछन् ।’
सम्बद्ध स्रोतका अनुसार, नेपालगन्जकै बाटो निर्वाध अगैया पुगेको खसी सशस्त्र प्रहरीले चेकजाँचका क्रममा कुरा नमिलेपछि रोकिएको थियो । त्यसक्रममा पुगेको नेपाल प्रहरीको स्थानीय इकाइले गरेको रिपोर्टिङका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरले खसी नियन्त्रणमा लिन निर्देशन दियो । ‘ती खसी शत प्रतिशत भारतीय थिए’, इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज, डिएसपी रमेश बहादुर सिंहले दैनिक नेपालगन्जसँग भने, ‘हामीले खसी राती नै भन्सार पठाइदियौं ।’ राती कुनै कागजपत्र नभएको भन्दै भन्सार बन्द भैसकेको बहानामा खसी बुझ्न अस्वीकार गरेपछि प्रहरीले पशु क्वारेन्टाइनमा खसी बुझाएको बताइएको छ । ‘त्यसपछि के भयो हाम्रो जानकारीमा छैन’, डिएसपी सिंहले भने ।
सम्बद्ध स्रोतका अनुसार, झण्डै २५ लाख मूल्यका १ सय ६१ वटा खसी भन्सारले लिलाम गरेको भए पुग्ने गरी प्रहरीले ‘डकुमेन्टेशन’ गरेको थियो । तर, सम्बद्ध व्यवसायी सँगको मिलेमतोमा भन्सारले खसी नबुझेपछि क्वारेन्टाइन सँगको ‘सेटिङ’मा उक्त खसीका धनीले रातारात नरैनापुर गाउँपालिकाबाट कागज बनाएर खसीलाई वैधानिक बनाएका हुन् । ‘नरैनापुरको एउटा वडाले सबै खसीको स्थानीय भएको भन्दै सिफारिस गरिदिएपछि त्यसैका आधारमा क्वारेन्टाइनले कागज बनाइदिएको’ सम्बद्ध स्रोतको भनाइ छ । ‘छाप विनाको क्वारेन्टाइन कागज प्रहरीले नियन्त्रणमा लिएपछि बिहीबार विहान पनि केहीबेर नोकझोक भएको थियो’, घटनाका प्रत्यक्षदर्शी एक व्यवसायीले दैनिक नेपालगन्जसँग भने, ‘तर उनीहरुकै अगाडि क्वारेन्टाइनका कर्मचारीले उक्त छाप छुटेको भन्दै लगाइदिए ।’
सेटिङमा तस्करीका लागि कागजपत्र मिलाइएपछि खसी बिहीबार नै काठमाडौं पठाइएको छ । भारतबाट स्वास्थ्य प्रमाणपत्र नलिइ ल्याइएका पशुपंक्षी, पशु उत्पादन सामाग्री तथा पशुजन्य पदार्थको क्वारेन्टाइन नगर्ने नीति सरकारले लिएपछि तस्करी मौलाएको हो । भारतीय गाउँबाट नेपाली सीमाना क्रस गर्ने र सीमावर्ती गाउँमा जम्मा गरेर स्थानीय भएको कागज मिलाउँदै तस्करी गर्न थालिएको छ ।
गत फागुन अन्तिम सातायता नेपालगन्ज नाकाबाट खसीबोका आयात भएको राजश्व जम्मा छैन । पशुपंक्षी, पशु उत्पादन सामग्री तथा पशुजन्य पदार्थ नेपाल भित्र्याउँदा सरकारले भारतीय क्वारेन्टाइनको स्वास्थ्य, सेनेटरी प्रमाण, ल्याब रिपोर्ट लगायतका प्रमाणहरु अनिवार्य गरेको थियो । भारतीय व्यवसायीले त्यहाँको क्वारेन्टाइन प्रमाणपत्र लिन दिल्ली वा कोलकोत्ता जानु पर्ने भएकाले तस्करीको बाटो नेपाल भित्र्याउने गरेका छन् ।
यसअघि वडा प्रहरी कार्यालय नेपालगन्जले भारतबाट ल्याएर जम्मा गरिएका खसीबोका नियन्त्रणमा लिई भन्सार कार्यालय बुझाएको थियो । बाँके प्रहरीले अहिलेसम्म पाँच सय हाराहारीमा क्वारेन्टाइन नगरेका खसीबोका बरामद गरी भन्सारलाई बुझाएको छ । खसीबोका आयात ठप्प हुँदा राजश्व समेत घटेको छ । तर, अवैधानिक बाटोबाट भित्रिने क्रम भने रोकिन सकेको छैन ।