डा. धवल समशेर राणा
नगर प्रमुख
नेपालगन्ज उपमहानगरपालिका
अब हाम्रो लक्ष्य भनेको नेपालगन्ज उपमहानगरपालिकालाई तीन बर्ष भित्र समृद्ध, सफा, हरित, शान्त र सुरक्षित उपमहानगरपालिका बनाउने हो । नेपालगन्ज उपमहानगरपालिकालाई हरित बनाउनका लागि रुख रोप्ने योजना अगाडि बढाउनु पर्छ, र, हामी बढाउँदैछौं ।
नेपालगन्ज उपमहानगरपालिकालाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने, यसको नाम रोशन गर्ने, आफ्नो योजनाले विभिन्न व्यक्तिलाई रोजगारी दिने, नगरको भला चाहने व्यक्तित्व र संस्थाहरुलाई सम्मान गर्यौं । सम्मानित व्यक्तित्वहरुले पुर्याएको योगदानको हामीले कदर गरेका छौं । तिव्र गतिले सहरीकरण भैरहेको, पूर्वाधार भैरहेको उपमहानगरपालिकामा यहाँहरुको ठूलो योगदान रहेको छ ।
जनप्रतिनिधि दोस्रो बर्ष पूरा गरेर तेस्रो बर्षमा लागिरहेका छौं । पहिलो बर्षको अधिवेशनमा धेरै गुनासाहरु थिए । एक बर्ष पुग्यो नेपालगन्ज उपमहानगरपालिकाले काम देखाउन सकेन भनेर । मैले मित्रहरुलाई नआत्तिनुस्, यो विकासको चक्र हो समय लाग्छ, एउटा विकासको चक्र घुम्नका लागि करिब ३ बर्ष लाग्छ भनेको थिएँ । विकासका लागि विभिन्न बाधा, अड्चन हटाउने क्रममा करिब करिब साढे ३ बर्ष योजनाका लागि लाग्छ ।
हामी भाग्यशाली पनि थियांै । हामी कहाँ राम्रो ठेकेदार, संस्थाहरु परे । मेहनती, इमान्दार कर्मचारी परे, सहयोगी जनप्रतिनिधि परे । त्यसमाथि राजनीतिक दल र जनताले सहयोग गरे । विकासको चक्र अब ३ साढे ३ बर्षभित्रै सकिनेछ । ठूला योजनाहरु पनि उक्त अवधीमा सकिनेछ । ठूला दुई वटा पार्क, साना पार्कहरु सबै नेपालगन्ज उपमहानगरपालिका भित्रका सबै बाटाघाटाहरु, मठ, मन्दिरहरु करिबकरिब निर्माण भैसकेका छन् । नभएका पनि पाइपलाइन भित्र छन् । ठूला योजनाहरु पनि आउने क्रममा छन् ।
विकासको क्रम नेपालगन्ज उपमहानगरपालिकामा धेरै तिव्र गतिमा अघि बढिरहेको छ भन्ने मलाई लाग्छ । हाम्रा कर्मचारी पुराना छन्, जनप्रतिनिधिहरुले हरेक कोणमा मलाई सहयोग गरिरहनु भएको छ । उपमहानगरपालिकाको विकासका विषयमा सबै जनप्रतिनिधि एक भएर अगाडि बढेका छांै । उहाँहरुबाट सोंचे भन्दा बढी सहयोग पाएको छु । सबैको मिहिनेत र सकारात्मक सोंचका कारण नेपालगन्ज उपमहानगरपालिका तिव्र गतिमा अघि बढिरहेको छ । यो यथार्थ हो ।
धेरै बाटाहरु बनेका छन् । धेरै नालाहरु बनिरहेका छन् । ८० वटा साना बाटोका लागि एडिबीबाट स्वीकृत आइसकेको छ । थप बाटोहरु बन्ने क्रममा छन् । ७ सय व्यक्ति अटाउने सभाहल निर्माणरत् छ, जसको ढलान भैसकेको छ । छात्रा कलेजका लागि ठेक्का भैसकेको छ, छात्रा विद्यालय सञ्चालनमा आइसकेको छ ।
सरसफाईको काम अगाडि बढिसकेको छ । एडिबीको नेपालमा ७ वटा फोहोर संकलन केन्द्र सुरुवात भएको थियो । ६ वटा बन्द भयो सम्पन्न हुन सकेन । हाम्रो पनि फोहोर संकलन केन्द्रको बीचमा व्यक्तिको जग्गा थियो । यसमा जनप्रतिनिधि, कर्मचारी, प्रशासन सबै एकजुट भएर जग्गा किन्न सफल भयौं । यो भन्नका लागि सजिलो थियो, तर काम गर्दा धेरै अवरोधहरु झेल्नु पर्यो । हाल नेपालगन्ज उपमहानगरपालिकाको फोहोर संकलन केन्द्र सञ्चालन भैसकेको छ ।
हामीले ६ वटा वडामा सड्ने फोहोर र नसड्ने फोहोर छुट्याएर कम्पोष्ट बनाउने योजना अघि बढाइसकेका छौं । अस्पतालका फोहोरहरु पनि अलग रुपमा प्रशोधन गरेर त्यसलाई मिलाउने योजना अघि बढेको छ । गएको दुई बर्ष फोहोर व्यवस्थापनका लागि निकै चुनौति व्यहोर्नु पर्यो । नौ–नौ ठाउँमा फोहोर सार्नु पर्यो । फोहोर फाल्नका लागि हात जोड्दै हिड्नु पर्ने अवस्था थियो । तर, अब आउने कम्तिमा ४० बर्षसम्म नेपालगन्ज उपमहानगरपालिकालाई फोहोर व्यवस्थापनको समस्या हुँदैन ।
फोहोर व्यवस्थापनका लागि कुनै अवरोध आउने स्थिति छैन । फोहोर संकलन केन्द्रसम्म पुग्नका लागि तीन ठाउँबाट बाटो बनाएका छौं । नेपालगन्ज उपमहानगरपालिकाले फोहोर फाल्नका लागि ल्याण्डफिल साइडसम्म पुग्न कसैले अवरोध नगरोस् भन्ने सजग भएर काम गरेको छ ।
एउटा अस्थायी कान्जी हाउस बनेको छ । विशाल कान्जी हाउसको निर्माण भएर ठेक्का भएको छ । कान्जी हाउस ५/६ महिना भित्र बन्नेछ । त्यसपछि नेपालगन्ज उपमहानगरपालिकाबाट छाडा पशुको समस्या केही हदसम्म समाधान हुनेछ । भारतबाट छाडा पशु आइरहन्छ, हामी तिनलाई समातिरहन्छौं ।
सुदूर र मध्यपश्चिमकै आधुनिक बसपार्क निर्माण अन्तिम अवस्थामा छ । १५ दिनभित्र बसपार्क सञ्चालनमा आउने छ । बसपार्क निर्माण ढिलाई भयो, त्यो हाम्रो कारणले भएको होइन । ठेकेदार र डिजाइनका कारणले निर्माणमा ढिलाई भएको हो । बसपार्क समयमैं सक्नका लागि नगरको एक्लो इन्जिनियरलाई बसपार्कमा खटाएका छौं ।
बागेश्वरी सपिङ्ग कम्प्लेक्स बागेश्वरी चिल्डे«न पार्ककको बगलमा बनाउने योजनामा छ । ७० करोडसम्म लागतको अण्डरग्राउण्ड पार्किङ्ग सहितको सात तले आधुनिक सपिङ्ग मल बनाउने क्रम अघि बढेको छ । तीन बर्षभित्र सपिङ्ग कम्प्लेक्सको काम सक्ने योजना छ ।
नगरपालिकाको उत्तरतिर ११ वटा थप सटर त्यसको माथि भवनहरु बनाउने क्रममा रहेको छ । नेपालगन्ज उपमहानगरपालिकालाई आर्थिक रुपमा समृद्धि बनाउन आवश्यक छ । भोलिका दिनमा नेपाल सरकारबाट आउने रकम नआउन पनि सक्छ । अब हाम्रो लक्ष्य भनेको नेपालगन्ज उपमहानगरपालिकालाई तीन बर्ष भित्र समृद्ध, सफा, हरित, शान्त र सुरक्षित उपमहानगरपालिका बनाउने हो । नेपालगन्ज उपमहानगरपालिकालाई हरित बनाउनका लागि रुख रोप्ने योजना अगाडि बढाउनु पर्छ, र, हामी बढाउँदैछौं ।
गरिबी निवारणको योजनामा उपमहानगरपालिकाले दुई सय जनालाई विना धितो २० हजारदेखि २ लाखसम्म ऋण दिएका छौं । गाउँ, नगर साझेदारी कार्यक्रम अन्तर्गत एक महिनाभित्र सात वटा नगरबस चलाउने छौं । कोहलपुर–नेपालगन्ज चार वटा बस, नेपालगन्ज–गाईघाट, नेपालगन्ज–खजुरा, नेपालगन्ज–बेतहनी, नेपालगन्ज–मिलन चोकमा बस चल्नेछन् । त्यसमा लक्षित वर्गका ड्राइभर र महिला कन्डक्टर रहनेछन् । एक हप्ता भित्र नगरबस नेपालगन्ज आइपुग्नेछ । महिला, बालबालिकाको सुरक्षाका लागि बसभित्र सिसिक्यामेरा जडान गरिनेछन् । बसका महिला कन्डक्टरलाई चालक बनाउने योजना छ । जसका लागि ड्राइभिङ स्कुलमा उनीहरुलाई प्रशिक्षण दिइरहेका छौं ।
नेपालगन्ज उपमहानगरपालिका अव्यवस्थित भयो भन्ने गुनासो अहिले पनि आइरहन्छ । यहाँ फुटपाथ अव्यवस्थित छ, ठेला, रिक्सा, टाङ्गा जथाभावी पार्किङ्ग गरिन्छन् । समस्या ट्राफिक व्यवस्थापनको छ । त्यो छ, तर कसरी व्यवस्थापन गर्ने भन्नेमा लागि परेका छौं । २ लाख जनताका बीचमा जम्मा ४ जना नगर प्रहरी थिए । अहिले त्यो संख्या १५ पुगेको छ । दमकलमा पनि उही संख्यामा कर्मचारी छन् । अब २५/३० जनाको फौज तयार भएको छ । उनीहरुलाई प्रहरीले तालिम दिएको छ । अब ३ महिनाभित्र उपमहानगरपालिकाको फुटपाथ र ट्राफिक व्यवस्थापन हुनेछ । नीति छ, सुरक्षा बल तयार भएको छ ।
आगलागीलाई तत्काल नियन्त्रणका लागि थप एउटा दमकल ल्याएका छौं । अब नगरमा दुई वटा दमकल भएका छन् । उपमहानगरपालिका भित्र नै दमकल राख्ने व्यवस्था गरिनेछ ।
बालबालिका, महिला क्षेत्रका काम गरिरहेका छौं । विभिन्न क्षेत्रमा महिलाहरुलाई प्राथमिकता दिइरहेका छौं । नगरबासीको साथ, सहयोग र शुभेच्छा रहिरहोस् ।
स्थानीय सरकार भनेको जति गरेपनि पुग्दैन । नगरपालिकामा जनप्रतिनिधि आउँदा ३ वटा ट्याक्टर मात्र थियो । दुई वटा ट्याक्टर वीरगन्जको सांसदको सांसद विकास कोषका रकमबाट थपेका थियौं । अहिले उपमहानगपालिकासँग ७ ट्याक्टर, ५ वटा ट्रक फोहोर संकलनमा खटिएका छन् । तैपनि अझै केही ठाउँमा फोहोर नउठेको गुनासो सामाजिक सञ्जाल मार्फत थाहा हुन्छ । त्यसलाई तत्काल हटाउन सरसफाई शाखालाई निर्देशन दिने गरेको छु । फोहोर संकलनका लागि रिक्सा पनि थपिएको छ । वडामा पनि फोहोर संकलनका लागि ट्याक्टर छन् । यति हुँदा पनि सम्पूर्ण रुपमा फोहोरको समस्या समाधान भएको छैन । फोहोर हुन्छ, सरसफाईको काम पनि निरन्तर जारी रहनेछ ।
उपमहानगर अन्तर्गत २ सय कर्मचारी छन् । जनप्रतिनिधि छन् । काम गर्दा कसैले तलमाथि गर्ला भन्नेमा हामी सचेत छौं । उपमहानगरपालिकामा काम गराउन कसैले पैसा दिनु परेको गुनासो छैन । र, कसैले सप्रमाण उजुरी गरेमा तत्कालै कारवाही गर्नेछु । उपमहानगरपालिकालाई भ्रष्टाचार हुन दिइने छैन । तीन बर्ष काम गर्नका लागि समय छ । सबैको साथ र सहयोगले सुन्दर नगरपालिका बनाउनेछौं । (पाँचौ नगरसभा समापनमा नगर प्रमुख डा. राणाको वक्तव्यमा आधारित)