नेपाली काँग्रेस एकाएक सडकमा आउने भएको छ । फोरमसँगको राजनीतिक विवादमा प्रहरीले आफ्ना कार्यकर्तामाथि अन्याय गरेको भन्दै सडकमा आउने घोषणा गरेको हो ।
‘प्रहरी प्रशासनको ज्यादति विरुद्ध सडकमा आउन बाध्य भएका छौं’, काँग्रेस बाँकेका युवा नेता सुधांशु कोइरालाले नेपालगन्जन्यूजसँग भने, ‘त्यस विरुद्ध शुक्रबार जिल्ला प्रशासन कार्यालय घेराउ गर्न लागेका छौं ।’ उनका अनुसार, केहीदिनअघि कम्दीमा वडाध्यक्ष कुटपिटको घटना प्रहरी जानकारीमा भएको हो । ‘छलफलमा कुरा टुङ्गिदै थियो’, काँग्रेसका स्थानीय नेताले भने, ‘तर, एकाएक हामीलाई झुक्याएर हाम्रा नेताहरु विरुद्ध ज्यान मार्ने अभियोग दर्ता गर्न प्रहरी अग्रसर देखियो ।’
काँग्रेसले फोरमको दबाबमा प्रहरी प्रशासन चलेको आरोप लगाउँदै त्यसविरुद्ध सडकमा उत्रिने घोषणा गरेको हो । कम्दी घटनामा डुडुवा गाउँपालिकाका उपप्रमुखका श्रीमान् सहित ५ जना काँग्रेस नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने भएपछि काँग्रेस आक्रोशित भएको हो ।