वडास्तरमैं ‘बाल अधिकार समिति’

सम्बन्धित वडाध्यक्षले नै नेतृत्व गर्ने व्यवस्था रहेकाले प्रभावकारी हुने विश्वास

नेपालगन्जका सबै वडामा बाल अधिकार समिति गठन गरिने भएका छन् । फातिमा फाउण्डेशन नेपाले नगरका महिला तथा बालबालिकाका लागि वकालत गर्न सबै वडामा बाल अधिकार समिति गठन गर्न लागेको हो । ‘यसले वालअधिकारको सवाललाई स्थानीय इकाइदेखिनै बलियो बनाउने विश्वास लिइएको छ,’ फातिमाका अध्यक्ष मोहम्मदी सिद्दीकीले दैनिक नेपालगन्ज सँग भनिन् ।

फातिमा फाउण्डेशनका अनुसार, समिति गठनसँगै अभिमुखिकरण पनि कार्यक्रम पनि गर्ने गरिएको छ । अभिमुखीकरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाको बालबालिकाको हक अधिकार संरक्षण सम्वन्धी व्यवस्था गर्न बनेको कार्यविधी–२०७६, बाल संरक्षण नीति, बालक्लव सञ्जाल गठन तथा सञ्चालन कार्यविधि र बालकोष संचालन कार्यविधिका विषयमा अभिमुखीकरण गराइएको थियो ।

सम्बन्धित वडाका वडाध्यक्षनै बाल अधिकार समितिमा संयोजक रहने व्यवस्था मिलाइएको छ । शिक्षकहरुमध्येबाट एक जना सदस्य, स्वास्थ चौकी प्रमुख सदस्य, महिला स्यंसेबिका वा आमा समूहहरु मध्येबाट एक जनालाई समितिमा सदस्य बनाइने गरेको, फातिमाका अध्यक्ष सिद्दीकीले जनाकारी दिइन् । ‘सम्बन्धित वडाध्यक्षलेनै नेतृत्व गर्ने व्यवस्था रहेकाले प्रभावकारी हुने विश्वास लिइएको छ,’ उनले भनिन् ।

त्यस्तै, बाल अधिकार समितिमा बालअधिकारको क्षेत्रमा कार्यरत गैह्रसरकारी संस्था समुहहरु मध्येबाट पनि सदस्य राख्ने गरिएको छ । ‘सम्बन्धित वडामा कार्यक्षेत्र रहेको गैसस हुनुपर्छ,’ सिद्दीकीले भनिन् । स्थानीय प्रहरी प्रमुख सदस्य, वडा बालक्लव संजालबाट कम्तिमा एक बालिका सहित दुई जना सदस्य आदीवासी, जनजाती, अल्पसंख्यक, दलित तथा पिछडिएका वर्गसमुदायको यथासम्भव प्रतिनिधित्व हुनेगरि नागरिक समाजबाट पनि बाल अधिकार समितिमा सदस्य राखिने व्यवस्था मिलाइएको छ । महिला, अपाङ्गता भएको ब्यक्तिबाट सहित चार जना सदस्य, वडा सचिव सदस्य सचिव हुने व्यवस्था छ ।


त्यसक्रममा आज बुधवार नेपालगन्ज १३ देखि १८ सम्मका वडामा बाल अधिकार समिति गठन गरिने छ । ‘ नेपालगन्जका उपमहानगरपालिका वडा नं.१२ सम्म बाल अधिकार समिति गठन गरिसकिएको छ,’ अध्यक्ष सिद्दीकीले भनिन् । मंगलवार नेपालगन्जका वडा ७ ,८,९ ,१० र ११ मा वडा स्तरीय बाल अधिकार समिति गठन गरिएको हो ।


वडा नं.१२ मा वडा अध्यक्ष बुद्धिसागर सुवेदीको अध्यक्षमा भएको वडा स्तरीय बाल अधिकार समिति गठन तथा अभिमुखिकरण कार्यक्रममा गरिएको छ । कार्यक्रमको सहजीकरण मधु पौडेलले गरेका थिए । वडाध्यक्ष सुवेदीको संयोजकत्वमा १३ सदस्यीय वडा स्तरीय बाल अधिकार समिति गठन पनि गरिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया