नेपालगन्जबाट पानी उद्योग हटाइदै

नेपालगन्ज उपमहानगरपालिकाको घना बस्ती भित्र पानी उद्योग सञ्चालन बन्द गरिने भएको छ । पानी उद्योगका कारण बस्तीहरुमा पिउने पानीको संकट गहिरिएपछि उपमहानगरपालिकाले उद्योग बन्द गर्ने निर्णय गरेको हो ।


‘हाम्रो पहिलो प्राथमिकता जनता हो’, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले दैनिक नेपालगन्जसँग भने, ‘नगर क्षेत्रमा पानी उद्योग दर्ता कार्य बन्द भैसकेको छ ।’ प्याकुरेलका अनुसार, गुनासा आएका क्षेत्रमा उद्योग सार्ने प्रक्रियाका लागि निर्देशन दिइ सकिएको छ ।

जथाभावी पानी उद्योग खोल्न इजाजत दिंदा नगरका विभिन्न क्षेत्रमा खानेपानीको संकट गहिरिएपछि उपमहानगरपालिकाले उद्योग नै बन्द गर्ने निर्णय गरेको हो । ‘उक्त कुरा सम्बन्धित निकायहरुलाई जानकारी पठाउँदैछौं’, हाल केही उद्योग बन्द गरिएकोमा बर्षा लागेसँगै अस्थायी रुपमा खोल्ने इजाजत दिन थालिएको जानकारी दिंदै भने, ‘तर, ती उद्योग पनि क्रमशः बस्ती बाहिर सार्ने प्रक्रियाका लागि निर्देशन दिइसकेका छौं ।’

उपमहानगरपालिकाको उक्त निर्णय प्रति पानी उद्योग संघ बाँकेका पूर्व अध्यक्ष रचना श्रेष्ठले स्वभाविक प्रतिक्रिया जनाइन् । ‘जथाभावी उद्योग सञ्चालन इजाजत दिइँदा अहिले यो समस्या आएको हो’, कयौं उद्योग संकटमा परेको जानकारी दिंदै श्रेष्ठले नेपालगन्जभित्र झण्डै ४० वटा पानी उद्योग सञ्चालनको सम्भावना नै नरहेको बताइन् ।

यसैबीच, चरम गर्मीमा भूमिगत स्रोतको अभावले बन्द गरिएका दुई वटा पानी उद्योग अस्थायी रुपमा सञ्चालन गर्न उपमहानगरपालिकाले इजाजत दिएको छ । उद्योग संघका पूर्व अध्यक्ष श्रेष्ठका अनुसार, न्यू सगरमाथा र वाइके ड्रिङ्किङ्ग वाटरलाई सञ्चालन अनुमति दिइएको हो । ‘उपमहानगरपालिकाले घरेलुमा सिफारिस गरिदिएको छ’, श्रेष्ठले भनिन् ।

प्रतिक्रिया

प्रतिक्रिया