हिन्दु धर्मावलम्वीहरुको दाह संस्कारका लागि घाट व्यवस्थित गर्न सरोकारवालाहरुले ध्यान नदिइरहेका बेला बाँकेमा ‘अन्तिम घर’ प्रस्ताव गरिएको छ । बाँकेका अधिकांस हिन्दु धर्मावलम्वीहरुलाई दाह संस्कारका लागि लगिने अगैयाघाट अस्तव्यस्त भएपछि ‘अन्तिम घर’ प्रस्ताव गरिएको हो । ‘दाह संस्कारका लागि अगैयाघाट जोखिमपूर्ण बन्दै गएको छ’, नेपालगन्जका युवा व्यवसायी अर्जुन खड्काको दाह संस्कारका लागि अगैया पुगेका अधिकांसले राप्ती सोनारी गाउँपालिका प्रमुख लाहुराम थारुसँग भने ।
गाउँपालिका प्रमुख थारु घाट पुग्दा खड्काका मलामीहरुले त्यहाँ रहेको फोहोर, अव्यवस्थित घाट र जोखिम देखाउँदै उनको ध्यानाकर्षण गराएका हुन् । गाउँपालिका प्रमुख थारुले सरसफाईका लागि तत्काल व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेपनि घाटका लागि बजेट व्यवस्था भने गरि नसकेको बताए ।
‘स्थायी रुपमा घाट नै कहाँ बनाउने भन्ने कुरा छलफलमा छ’, सिक्टा सुचारु भएपछि अगैयामा दाह संस्कारका लागि घाट सम्भव नहुने देखिएको सम्भावना औंल्याउँदै गाउँपालिका प्रमुख थारुले भने, ‘जहाँ टुङ्गो लाग्छ त्यही व्यवस्थित गरिनेछ ।’
हाल राप्तीसोनारी–२ मा रहेको अगैयाघाट राप्तीनदीको सिक्टा सिचाई आयोजनाको मुख्य बाँध स्थल हो । ‘यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने हाम्रो प्रस्ताव हो’, राप्तीसोनारी–८ का अध्यक्ष खुम बहादुर बस्नेतले दैनिक नेपालगन्जसँग भने, ‘सिक्टा सुचारु भएपछि यहाँ (अगैया) दाह संस्कार सम्भव छैन ।’
वडाध्यक्ष बस्नेतका अनुसार, कोहलपुर पूर्वका अधिकांसहरुले हाल प्रयोग गर्दै आएको समशेरगन्ज–८ गौशाला नजिक घाट प्रस्ताव गरिएको छ । ‘विद्युतको पहुँच भैसकेकाले विद्युतीय शव दाह गृह निर्माण गर्न सकिन्छ’, वडाध्यक्ष बस्नेतले सामुदायिक वनहरुबाट दाउराको समेत व्यवस्थापन सम्भव भएको जानकारी दिंदै भने, ‘अगैया घाट प्रयोग गर्ने अधिकांस कोहलपुर पश्चिमका भएकाले उनीहरुका लागि आवागमनमा ५० किलोमिटर दुरी कम हुन्छ ।’ बस्नेतले त्यसो भनिरहँदा अगैया घाटमा झण्डै ५० साना गाडी र सय बढी मोटरसाइकलमा नेपालगन्जका व्यवसायी खड्काका मलामी पुगेका थिए । ‘यसमा हुने खर्च आधा जोगिन्छ’, बस्नेतले भने ।
दुई बर्षदेखि नयाँ घाटको प्रस्ताव हुँदै आएपनि अगैयाका स्थानीय व्यवसायीहरुको दबाबमा काम अगाडि बढ्न सकेको छैन । ‘बजार सुक्ने डरले अगैयाबासी त्यसको विरुद्धमा छन्’, स्थानीय जनप्रतिनिधि भन्छन् । वडाध्यक्ष बस्नेतले घाट निर्माणको कुरा राप्तीसोनारीको मात्र सवाल नभएकाले जिल्लाबाट नै योजना आउनु पर्ने बताए । ‘खासगरी राप्तीसोनारी र कोहलपुर नगरपालिकाले यसमा बढी चासो लिनुपर्छ’, बस्नेतले भने, ‘अरु सबै स्थानीय तहले सहयोग गर्नुपर्छ ।’
घाट निर्माणका लागि योजना अघि सारे सर्वसाधारण समेतले हातेमालो गर्ने विकासका लागि नागरिक समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठको भनाइ छ । ‘अन्तिम गन्तव्य नै यही भएकाले यसमा सबैले हातेमालो गरेर व्यवस्थित दाह संस्कार स्थल, मलामी घर, क्रियापुत्री निवास, खानेपानीदेखि शौचालयसम्म सुनिश्चितता गर्न सकिन्छ’, श्रेष्ठले दैनिक नेपालगन्जसँग भने । श्रेष्ठले त्यसो भनिरहँदा युवा व्यवसायी चन्द्र कंडेलदेखि टंकसिंह धामीसम्मको एउटा स्वर थियो, ‘अन्तिम घरका लागि प्रत्येक घरबाट सहयोग जुट्छ ।’