बहुचर्चित इन्टरनेसनल इन्डियन फिल्म एकडेमी अवार्ड (आइफा अवार्ड)को यात्राले दोस्रो दशकको गन्तव्य छुनै लाग्दा यसका अधिकांस संस्करण स्टेडियममा आयोजना गरिएका छन् ।
सिंगापुर इन्डोर स्टेडियमदेखि नेदरल्याण्ड्सको सबैभन्दा ठुलो आर्मस्डम (जोहान क्रफ) एरिना स्टेडियम, श्रीलंकाको २५ हजार क्षमताको सुगथडसा स्टेडियम, क्यानडाको रोजर सेन्टर बहुउद्देश्यीय स्टेडियम, अमेरिकाको रेमन्ड जेम्स स्टेडियम (६५,६१८ दर्शक क्षमता), मलेसियाको पुत्र इन्डोर स्टेडियम, अमेरिकाकै मेटलाइफ स्टेडियमसम्म यो अवार्डका साक्षी बन्ने सौभाग्य पाएका छन् ।
आईफा अवार्डले २०औं संस्करण नेपालमा गर्ने तयारीमा छ, जतिबेला करोडौं लागतमा निर्मित नेपालगन्ज स्टेडियम आठौं राष्ट्रिय खेलकुदलाई बिदाइ गरेपछि अर्को कुनै त्यस्तै ठुलो इभेन्टको पर्खाइमा छ । स्टेडियम बहुउद्देश्यीय नै हुन्छन् । खेलकुद मुल उद्देश्य हो, त्यो बाहेक सांगीतिक कन्सर्ट वा यस्तै भब्य अवार्ड समारोहका लागि पनि यी स्टेडियम लायक मानिन्छन् । तसर्थ संसारका नाम चलेका स्टेडियममा खेलकुदका इभेन्ट मात्र हुँदैनन्, कला, साहित्य र संगीतका ठुला ठुला इभेन्ट पनि आयोजना हुन्छन् । यसको रेखदेख र व्यवस्थापन चुनौति भने अवश्य हुन्छ । स्टेडियम देखाउनका लागि मात्र हुँदै हैन, खेल खेलाउनका लागि हो, ठुला ठुला समारोह आयोजनाका लागि नै हो । त्यसले आम्दानीको बाटो पहिल्याउँछ ।
आठौं राष्ट्रिय खेलकुद सम्पन्न भएको दुई महिना बितिसक्दा नेपालगन्ज रंगशाला सञ्चालनमा आउन सकेको छैन । झण्डै दश हजार सिट क्षमताको आउटडोर स्टेडियम बर्मुडा घाँस जोगाउन मलजल भइरहेको छ । फुटबलका लागि यो अन्तर्राष्ट्रिय स्तरकै स्टेडियम बनेको छ । यसलाई आकर्षणको थलो बनाउन सके आम्दानी र रोजगारी यसले सिर्जना गर्दछ ।
उता इन्डोर स्टेडियम भने ब्याडमिन्टन, भलिबल, टेबलटेनिस लगायत खेल प्रतियोगिता सञ्चालनका लागि तयारी अवस्थामा छ, जहाँ अन्य कार्यक्रम पनि गर्न सकिन्छ । करिब पाँच हजार दर्शक क्षमताको प्यारापिटसहितको स्वीमिङ पुल परिक्षण गरिसकिएको छ । पश्चिम नेपालकै ठुलो स्वीमिङ पुल आम्दानीको मुख्य स्रोतका रुपमा अपेक्षा गरिएको छ, जुन स्वभाविक छ । पौडी पोखरीसँगै इन्डोर र आउटडोर दुवै स्टेडियम आम्दानीको स्रोत हुन् । जुन आम्दानीले त्यो मैदानलाई हरियो बनाइरहन सघाउँछ, मर्ममसम्भारका काममा टेवा दिन्छ । समग्रमा रोजगारी सिर्जना गर्दछ ।
रंगशाला परिसरमै निर्मित नेपालगन्जको इज्जत र शानसँग जोडिएको भारोत्तोलन एकेडेमी र सुटिङ रेन्ज नेपालगन्जको अर्को सम्पत्ति बनेको छ । नेपालगन्जको गर्विलो इतिहास र उपलब्धिसँग जोडिएको भारोत्तोलन र सुटिङका लागि राज्यले गरेको लगानी न्यायोचित छ । वास्तवमा नेपालगन्जले ठुलो उपलब्धि हासिल गरेको हो । इतिहासमा नसोचेको सम्पत्ति जोडेको हो । यसका लागि नेतृत्वलाई समग्र नेपालगन्जवासी र जिल्लावासीले धन्यवाद दिनुपर्छ । हाम्रो समाज गुणग्राही छैन । जुन समाज गुणग्राही हुँदैन, त्यो समाजले विकासको अपेक्षित बाटो समात्न सक्दैन । जिम्मेवार व्यक्ति वा संस्थाको उछितो काढ्ने हैन, रचनात्मक आलोचना गर्ने हो । सुझाव दिने हो, होस्टेमा हैंसे गर्ने हो । अब इतिहास भजाएर खाने दिन पनि गए । तसर्थ इतिहासका कथा सुनाएर भन्दा वर्तमानमा साझेदारी र सहकार्य गर्न सकियो भने सबैलाई लाभ हुन्छ । समग्रमा समाजले धेरै पाउँछ, गुमाउँदैन ।
आठौं राष्ट्रिय खेलकुद आफैंमा ठुलो उपलब्धि हो । त्योसँगै बाँके जिल्लाअन्तर्गत नेपालगन्ज, कोहलपुर, खजुरा र बैजनाथले जे जस्ता पूर्वाधार पाए, त्यो इतिहासकै उपलब्धि मान्नुपर्छ । यी उपलब्धि पनि त्यहाँको खेलकुद विरासतले दिलाएको हामीले भुल्नुहुँदैन । पेले र म्यारोडोनाका कारण आज फुटबलमा बिश्व दुई पक्षमा विभाजित छ, भन्नुको मतलब ठुलो संख्यामा समर्थक पेले र म्यारोडोना अर्थात ब्राजिल र अर्जेन्टिनी जर्सी रुचाउने गर्छन् । यही हो विरासत । यो अन्य पालिकाको लागि शिक्षा पनि हो । अन्य पालिकाले खेलकुद वा कला र साहित्यका क्षेत्रमा काम गर्ने तदारुकता देखाएन भने त्यो पालिकाको विकासक्रम पनि त्यही गतिमा बढ्ने हो ।
चेतनाको स्तर जबसम्म उठ्दैन, तबसम्म त्यो ठाउँ वा समाजको विकासको गति धिमा हुन्छ । हुनत धमिलो पानीमा माछा मार्नेहरुका लागि त्यस्तै वातावरण चाहिन्छ, यो तीतो यथार्थ पनि हो । यसअर्थमा नेपालकै पुरानो सहर नेपालगन्ज भौतिक पुर्वाधारको विकासमा धेरै अगाडि बढेको छ । सडकहरु टोल टोल र गल्लीमा कालोपत्रे बनिरहेका छन्, जनप्रतिनिधिहरुको गति हेर्दा लाग्छ, अब नेपालगन्जमा विकासको काम केही बाँकी रहनेछैन । तर जनप्रतिनिधीहरुले बुझ्नुपर्ने कुरा के हो भने विकास भनेको परिवर्तन मात्र हैन । भौतिक पुर्वाधार मात्र विकास हैन । त्यो ठाउँको चेतनाको स्तर माथि उठ्नु यथार्थमा विकास हो । हरेक मानिस सचेत हुनु, जागरुक हुनु, समझदार हुनु, ज्ञानी हुनु नै विकास हो ।
पूर्वाधार त अनिवार्य शर्त नै भइगो । हो, भौतिक पूर्वाधारका सवालमा नेपालगन्जले फड्को मार्न लागेको छ । खेलकुदका क्षेत्रमा नसोचेकै पुर्वाधार पाएको छ । अब यसलाई चलायमान गराउने चुनौति अगाडि तेर्सिएको छ । राज्यले करोडौंको लगानीमा निर्मित भौतिक पुर्वाधार बहुउपयोगी बनाउन सकिएन भने, त्यसको अर्थ रहँदैन । चलायमान बनाउनुको तात्पर्य धेरै भन्दा धेरै इभेन्टहरु हुनुपर्दछ । इभेन्टले आर्थिक क्षेत्रलाई चलायमान गराउँछ । खेलकुद पर्यटनको प्रवद्र्धन गर्ने गतिलो आधार तयार भइसकेको छ । हो, नेपालगन्जमा विगत ५,६ बर्षदेखि हुँदै आएको प्रधानमन्त्री कप महिला भलिबल, नेपालगन्ज म्याराथन, नेपालगन्ज गोल्डकपका सवालमा स्थानीय सरकारहरुले के कसरी सम्बोधन गर्दैछन्? चलिरहेका इभेन्ट निरन्तरतामा कन्जुस्याईं गर्ने हो भने ठाउँको पहिचान कमजोर बन्ने पक्का छ । र, अहिलेसम्म आर्जेको बिश्वास गुम्ने खतरा पनि त्यत्तिकै हुन्छ ।
प्रधानमन्त्री कप पाँचौं संस्करणसम्म आइपुग्दा बंगलादेश र भारतीय राष्ट्रिय टिमका खेलाडी सहभागि हुनु पाँच बर्षे यात्राको बिश्वास हो । नेपालगन्ज म्याराथनको चौथो संस्करणसम्म आइपुग्दा नेपालकै शीर्ष धावकजत्ति नेपालगन्ज प्रति लालायित हुनु पनि त विश्वासकै कारक हो । नेपालगन्ज गोल्डकपले प्रायोजकहरुको आकर्षण गर्दै जानु पनि त निरन्तरताकै प्रतिफल हो । तसर्थ, हरेक बर्ष हुँदै आएका राष्ट्रिय स्तरका कार्यक्रमलाई स्थानीय तहले सम्बोधन गर्न सकेन भने करोडौंको लगानीमा तयार भएका भौतिक पुर्वाधार अलपत्र पर्ने निश्चित छ । एउटा लय समातिसकेका इभेन्टहरु नै यात्रा ब्रेक गर्न थालेभने अरुलाई त्यसले हतोत्साही बनाउने निश्चित छ । तसर्थ नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो प्राथमिकीकरण गर्नु जरुरी भइसकेको छ ।
नेपालगन्ज रंगशालाको स्तरोन्नतिसँगै अब फुटबललाई पहिलो, भलिबललाई दोस्रो र म्याराथनलाई तेस्रो प्राथमिकीकरणमा राख्न जरुरी छ । अन्य खेललाई पनि क्रमशः सम्बोधन गर्दै माथि उकास्नुपर्छ । किनकी खेल पर्यटन संसारमै लोभलाग्दो किसिमले अगाडि बढेको छ । अब नेपालगन्जले अझ चासो र चिन्ता दिनुपर्ने खेल पौडी भएको छ । किनकी झण्डै १८ करोडको लागतमा पौडी पोखरी बनेको छ । पौडी सम्भ्रान्तहरुको खेल हो भनिरहँदा अन्यथा नजाओस । तर, मलाई लाग्छ बर्षमा दुई वटा ठुलो पौडी प्रतियोगिता नेपालगन्जमा गर्न सकियो वा गर्न प्रोत्साहित गरियो भने यहाँको व्यापार बिजनेसमा आशा जगाउने निश्चित छ । आठौं राष्ट्रिय खेलकुदमा जति पनि खेलाडी आए, ती खेलाडीका अभिभावक पनि नेपालगन्ज आए । ती सबैको रोजाइ यहाँका तारे होटल नै थिए, सपिङ मल खोजी भए । पर्यटन आफैं आउने चिज हैन । सबैले पर्यटन पर्यटन भनेर फलाकिरहेको पाइन्छ । तर पर्यटनको परिभाषा भन्न नसक्नेहरुको संख्या ठुलो छ । तथापि पर्यटन रिक्सादेखि हवाइजहाज, ठेलाको पानीपुरीदेखि पाँच तारे होटलसम्मलाई बिजनेस दिने विधा हो । सबै लाभान्वित हुने व्यवसाय हो । नेपालगन्जमा बनेका लोभलाग्दा खेलकुद पुर्वाधारका कारण खेल पर्यटन नै नेपालगन्जलाई गुल्जार बनाइरहने विधा हुनसक्छ भन्ने मेरो बुझाइ हो ।
तसर्थ स्थानीय सरकारले यहाँ चलिरहेका इभेन्टलाई संरक्षण गर्दै अन्य त्यस्ता इभेन्ट आयोजनाका लागि प्रोत्साहित गर्नुपर्छ, जुन इभेन्टले देशभरको ध्यान खिच्न सकोस । अझ विदेशीहरुको चासो बन्न सकोस । कुनै बेलाको साविक मध्य तथा सुदुरपश्चिमको केन्द्र नेपालगन्ज संघीयतासँगै प्रदेश नम्बर ५,६ र ७ को केन्द्र बन्ने आधार धेरै छन् । सडक सञ्जाल, नेपाल भारत केनेक्टिभिटी, अन्तर्राष्ट्रिय स्तरको एयरपोर्टले त्यसलाई बल पुराइरहेका छन् । अब खेलकुद पर्यटनलाई माध्यम बनाउन सकिन्छ । किनभने कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानदेखि खजुराको शुक्र भलिबल स्टेडियम र नेपालगन्जमा जुडो हल, भारोत्तोलन हल, सुटिङ रेन्ज, इन्डोर स्टेडियम, आउटडोर स्टेडियम र पौडी पोखरी ठुलो सम्पत्ति हुन् । सम्पत्ति राखेर बढ्दैन, जति चलायो त्यति बढ्छ । यो अर्थशास्त्रको सिद्धान्त पनि हो । तसर्थ यसमा स्थानीय सरकार नै बढ्ता चनाखो हुन जरुरी छ । संघ र प्रदेश सरकारको मुख ताक्न लागियो भने यी पुर्वाधार बालुवामा लगानी हुने निश्चित छ ।
नेपालगन्ज उपमहानगरपालिकाले एन्फासँग सोझो डायलग गर्नसक्नुपर्छ । नेपाल पौडी संघसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम भित्राउन अनुरोध गर्न सक्नुपर्दछ । त्यसका लागि उपमहानगरले अफरहरु दिनसक्नुपर्दछ । ठुला कार्यक्रम त्यत्तिकै आउँदैनन् । आईफा अवार्ड यति सजिलै नेपाल आउन तयार भएको हैन । नेपालले एक अर्ब बराबर खर्च व्यहोर्ने निश्चित भएपछि मात्र आईफा अवार्ड नेपालमा आयोजना गर्न सहमत भएको हो । एउटा नीजि कम्पनीले आयोजना गर्ने अवार्ड समारोहलाई राज्यले यति ठुलो रकम दिन हुने या नहुने यो अलग बहसको बिषय हो । तर, यो अवार्डले दीर्घकालीन ठुलो सन्देश दिन्छ, यो चाहि पक्का हो । दश बर्षसम्म युद्धमा होमिएको देश शान्तिको बाटोमा फर्किएको सन्देश दिन सकिने ठुलो मञ्च हो । यत्तिकै पनि बलिउडको साम्राज्य ठुलो छ बिश्वमा । हलिउडपछि बलिउडकै क्षेत्र बिशाल छ । आईफा अवार्डको एउटा फरक बिशेषता भनेको के हो भने यो अवार्ड २०औं संस्करणसम्म आइपुग्दासम्म हरेक संस्करण विदेशी भुमिमा मात्र भएका छन् । नेपालमा आयोजना गर्नु भनेको ठुलो संख्यामा बलिउड दर्शक नेपाल ल्याउनु पनि हो । यसको फाइदा नेपालले लिन सक्छ । त्यसैपनि नेपाल सगरमाथाको देश हो, गौतमबुद्धको देश हो, पशुपतिनाथको देश हो । तमाम हिन्दुस्तानीलाई आकर्षण गर्ने पशुपतिनाथका कारण पनि आइफा अवार्ड सहयोग बन्न सक्छ । सरकारले गर्ने सहयोगलाई लिएर आलोचनाका शब्दहरु पनि निरन्तर खर्चिएका छन् । हो, यो स्वभाविक पनि हो । पर्यटन प्रवद्र्धन गर्ने नाममा आईफा अवार्डमा आउने पाहुनाका लागि काठमाडौंको सडक, ट्राफिक, धुलो धुवाँ व्यवस्थापन गर्न सकिन्छ कि सकिंदैन? यो चुनौतिको बिषय हो ।
कतिपयले भन्ने गरेका छन् दुबई, मलेसियाले पनि आईफा अवार्ड वा यस्तै इभेन्ट भित्राएर आफ्नो देशको पर्यटन प्रवद्र्धन गरेका हुन् । यो साँचो हो । अनि अर्को कुरा पनि साँचो हो कि ती देशले भौतिक पूर्वाधारका क्षेत्रमा आमुल परिवर्तन गरेपछि यस्ता अवार्डलाई आवश्यकता महसुस गरेका हुन् । श्रीलंकाले पनि शान्तिको सन्देश दिन यो अवार्ड आयोजना गरिसकेको छ । उसले लगानीको बदला मनग्ये कमाउन पनि सफल भयो । तसर्थ नेपालको एक अरब लगानीले नाफा उठाउने अवस्था छ कि छैन? सरोकारवाला जवाफदेही बन्नैपर्छ । मुलुक दश बर्षे जनयुद्धपछि पुर्ण रुपमा शान्तिको मार्गमा आइसकेको सन्देश दिन त्यस्ता ठुला कार्यक्रम अब नेपालगन्जमा आयोजना हुनुपर्छ भन्ने मेरो तर्क हो । किनकी माओवादी जनयुद्धको उदगम थलो साविकको मध्यपश्चिम हो । मध्यपश्चिम शान्त छ, समृद्ध छ भन्ने सन्देश दिन त्यत्तिकै जरुरी छ । यसका लागि नेपालगन्जले अग्रसरता लिनुपर्दछ । किनकी नेपालगन्ज भनेको साविक मध्य तथा सुदुरपश्चिम तथा हालको प्रदेश नं. ५,६ र ७ को गेटवे हो । जसले भारतकै सबैभन्दा ठुलो राज्य उत्तरप्रदेशको राजधानी लखनऊसँग सिधा जोड्दछ । आईफा अवार्ड जस्तै संसारको ध्यान खिच्ने कार्यक्रम आयोजनाका लागि नेपालगन्जले बिशेष अफरहरु दिन सक्नुपर्दछ ।
प्रादेशिक वा संघीय राजधानी नभएपनि नेपालगन्जको सुविधाजनक अवस्था छ । बोटिङका लागि ठुला ताल र घुम्नका लागि पार्क बनिरहेका छन् । नीजी लगानीमा ठुला ठुला फनपार्क निर्माणको अन्तिम चरणमा छन् । तारे होटलका साथ सुविधासम्पन्न होटलको संख्या दर्जन बढी भइसके । यसले बाहिरबाट आउने पाहुनालाई आतिथ्यता गर्न सक्षम छ भन्ने सन्देश दिइसकेको छ । क्युएफएक्स सिनेमा हलदेखि अध्याधुनिक पौडी पोखरीसम्म निर्माण भइसकेको अवस्थामा नेपालगन्जसँग पर्यटक भुलाउने आधार धेरै भइसकेको छ । आवश्यक छ एउटा विश्वविद्यालयको । अरु त मैले धेरै उल्लेख गरिसकें । फेरि पनि भन्छु, खेलुकद पुर्वाधारका क्षेत्रमा अनपेक्षित छलाङ मारेको सन्दर्भमा यसलाई चलायमान गराउने र नगरवासीले धेरैभन्दा धेरै फाइदा लिन सक्ने बनाउने दायित्व फेरि पनि उपमहानगरकै हो । खेल खेलाएर मात्र हैन, खेल संस्कारको विकास जरुरी हो । नेपालगन्जको ल्याकत टोले प्रतियोगिता हैन, राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा बटुल्ने खाले हुनैपर्दछ । तीन जना ओलम्पियन जन्माउँदा जसरी राष्ट्रिय एरिनामा स्थापित भयो, त्यसपछि चौथो राष्ट्रिय खेलकुदले खेल मैत्री सहरको परिचय स्थापित गरिदियो । अनि महिला क्रिकेटले अन्तर्राष्ट्रिय एरिनामै चर्चा कमायो । अब ती सबै विरासतलाई समातेर समृद्ध नेपालगन्ज निर्माण गर्ने दिशामा अघि बढ्नु आजको आवश्यकता भइसकेको छ । सबैको जय होस ।