प्रहरीले दुलाहा पक्षलाई नियन्त्रणमा लिएर छाडेपछि विवाह सम्पन्न भएको हो
बाँके नरैनापुुर गाउँपालिका वडा नं.५ मटेहिया स्थित शनिवार प्रहरीकै अगाडी बहुविवाह भएको छ । ईलाका प्रहरी कार्यालय भगवानपुरले दुलाहा जब्रील बेहनालाई केहीबेर नियन्त्रणमा लिएर छाडेपछि विवाह सम्पन्न भएको स्थानीयले बताएका छन् । ‘घटना सम्बन्धमा बुझ्नका ल्याइएको हो’, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक विरेन्द्र विश्वकर्माले भने, ‘दुलाहा पक्षलाई विवाह नगर्ने शर्तमा छाडिएको हो ।’
‘प्रहरीले छाडे लगत्तै भारतको श्रावस्ती स्थित भिन्गाका लागि जन्ती प्रस्थान गरेपनि प्रहरी मूकदर्शक भयो’, स्थानीय शिवलाल यादवले भने, ‘प्रहरीलाई पटक पटक सूचना गर्दापनि प्रहरीले पुनः पक्राउ गर्न मानेन ।’
विवाह गर्ने जब्रील बेहना पहिलाबाटै विवाहित रहेको र उनको ६ जना छोरा छोरी रहेको वडा नं.५ कार्यालय मटेहियाका सहायक अधिकृत मुन्सी प्रसाद यादवले बताए । ‘विवाह रोक्नमा हामी विफल भएकै हो’, उनले भने, ‘अब हुने कारवाही अघि बढ्छ ।’ विवाह पश्चान शनिवार नै बेहना परिवार दुलही सहित फर्केपनि अबेर साँझ सम्म प्रहरीले कुनै कारवाही अघि बढाएको छैन । जिल्ला प्रहरी कार्यालय बाँँकेका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले भने, ‘घटना बारे प्रहरीलाई सूचना प्राप्त भएको र सो सम्बन्धमा आवश्यक कारवाही अघि बढेको छ ।’
‘कारवाही अघि बढेको जानकारी दिँदै गर्दा जन्ती भारत तर्फ प्रस्थान गरिरहेको थियो’, स्थानीय युवा अयुब खाँले भने, ‘यसरी विवाह गर्नु दुखद घटना भएपनि कारवाही हुन सकेन ।’ ३ वर्ष अघि प्रहरी कारवाहीमै मटेहियामा ११ वटा बालविवाह रोकिएका थिए ।