उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देही र बाँके जिल्ला स्थित संयुक्त बजार अनुगमन टोलीले नेपालगन्ज उपमहानगरपालिका १४ भवानीयापुरमा रहेको अलिम एण्ड हलिम मासु सप्लायर्सलाई ५० हजार जरिवाना गरेको छ । मासु सप्लायर्सले उपभोक्ता हित संरक्षण ऐन बिपरित मासुको मुल्य सुचि नराखेको, पसलको साईनवोर्ड नराखेको कारण उक्त जरिवाना गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालले बताए ।
अलिम एण्ड हलिम मासु सप्लायर्सले योग्यता पुगेका दर्तावाल चिकित्सकबाट भेटेनरि प्रमाणपत्र जारी गरि अन्य जिल्लाबाट राँगा भैसी ल्याउनु पर्नेमा सो बिपरित गरेको पाइए पछि शंकास्पद सिफारिश कागजात सहित मासु पसलका सञ्चालक मोहम्मद आलिम कुरेसीलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
अनुगमन टोलीले मासु पसलको अनुगमन गर्ने क्रममा खरिद तथा बिक्री गर्दाको बिल जाँच गर्दा उक्त सप्लायर्सबाट अछाम जिल्लाबाट बाँके जिल्लामा राँगा भैसी ढुवानीको सिफारिस गरिएको बिभिन्न मितिका ८ वटा सिफासिस शंकास्पद पाएको जानकारी दिएको छ ।
खारेज भैसकेको कार्यालय जिल्ला पशु सेवा कार्यालय पशु सेवा केन्द्र कमलबजार अछामका नाममा ५ वटा सिफारिस पत्र र कमलबजार नगरपालिका पशु सेवा शाखा कमलबजार अछामको लेटरप्याडमा १ र प्रतिलिपि २ गरि जम्मा ८ वटा कार्यालय प्रमुख मनिष भण्डारी भनि हस्ताक्षर गरिएको शंकास्पद सिफारिस पत्र फेला परेपछि पशु क्वारेन्टाइन कार्यालय बाँकेका वरिष्ठ पशु चिकित्सक डा. शितलबाबु श्रेष्ठले जिल्ला प्रहरी कार्यालय बाँकेलाई कारवाही गर्न पत्राचार गरेका छन् ।
बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले पनि प्रहरीलाई पत्राचार गर्दै शंकास्पद सिफारिस पत्र बारे अनुसन्धान गर्न अनुरोध गरेको छ । जिल्ला पशु सेवा कार्यालय २०७५ साल साउन ०१ गतेबाट खारेज भै भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नाममा कार्यालय स्थापना छ । तर उक्त मासु ब्यवसायीले खारेज भैसकेको कार्यालयको लेटरप्याड प्रयोग गरि नियम बिपरित अछामबाट पशु दुवानीको सिफारिस लिएको देखिएको अनुगमन टोलीले जनाएको छ ।
प्रयोग भएको लेटरप्याड, कार्यालयको छाप शंस्कापद भएपछि सबै कागजात मासु संचालकबाट लिई अनुसन्धानका लागि प्रहरीलाई अनुगमन टोलीलाई जिम्मा लगाएको थियो । एक जिल्लाबाट अर्को जिल्लामा पशु ढुवानी गर्दा पशु ढुवानी मापदण्ड २०६४ को दफा ६ को उपदफा २ बमोजिमको अनुसुची १ को फर्मेट अनुसार योग्यता पुगेका दर्तावाल चिकित्सकबाट भेटेरिनरी प्रमाणपत्र जारी हुनुपर्नेमा सो बमोजिम भएको नपाइएको डा. श्रेष्ठले जानकारी दिए ।
नेपालगन्ज उपमहानगर पालिका वडा १४ भवानीयापुरमा रहेको अलिम एण्ड हलिम मासु सप्लालर्य मासु बध गर्ने स्थानमा सरसफाईको उचित प्रवन्ध नमिलाइएको, बधशाला निस्कने फोहरजन्य पदार्थ र पानीको उचित ब्यवस्था नमिलाई खुल्ला रुपमा सडक छेउमा फालिएका कारण बधशाला वरपरको वातावरण दुर्गन्धित रहेको अनुगमन टोलीले जानकारी दिएको छ ।
यसैबीच प्रदेश र जिल्ला बजार अनुगमन समिति बाँकेको अनुगमन टोलीलाई मासु ब्यवसायी मोहम्मद आलिम कुरेशीले तपाइहरु कस्को आदेशमा यहाँ आएको ? फोटो खिच्न बन्द गर्नुस्, खिचेका फोटाहरु डिलिट गर्नुस भन्दै अवरोध गर्न खोजेको अनुगमन टोलीले बताएको छ ।
अनुगमन टोलीमा उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देहीका अधिकृत श्याम कुमार पौडेल, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतम, जिल्ला प्रशासन कार्यालय बाँकेका टेक बहादुर भण्डारी, भेटेनरी अस्पताल तथा कृषि बिज्ञ केन्द्रका डा. गणेश पुन, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका बिवेक कुमार सुवेदी, नेपालगन्ज नगरपालिकाकी लक्ष्मी शाही लगायतको सहभागिता रहेको थियो ।