नेपालगन्जमा विश्वविद्यालयका लागि डेलिगेशन जाने तयारी

प्रदेश सरकारले अघि सारेको विश्व विद्यालयको प्रस्ताव नेपालगन्जका लागि उपयुक्त भएको भन्दै त्यसका लागि मुख्यमन्त्री शंकर पोखरेल समक्ष बाँकेबाट डेलिकेशन जाने भएको छ ।
नेपालगन्ज विश्व विद्यालय तयारी तथा पूर्वाधार समितिका संयोजक समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाको अध्यक्षतामा बिहीबार बसेको बैठकले आगामी आइतबार प्रदेशको अस्थायी मुकाम बुटवल जाने निर्णय गरेको हो । ‘त्यसका लागि आवश्यक तयारी तथा समन्वय गर्न प्रदेशसभा सदस्य आइपी खरेललाई जिम्मेवारी दिने निर्णय गरिएको छ’, समितिमा सदस्य सचिवको भूमिका निर्वाह गरिरहेका नगर शिक्षा अधिकारी गोर्ख बहादुर थापाले जानकारी दिए ।


बैठकले समितिमा नेपाल पत्रकार महासंघ बाँके शाखालाई पदेन सदस्य समेत मनोनयन गर्ने निर्णय गरेको छ । प्रदेशसभा सदस्य आइपी खरेल, मो. याकुव अन्सारी, काँग्रेस सभापति किरण कोइराला लगायतले प्रदेश विश्व विद्यालय नेपालगन्जमा स्थापनाका लागि जिल्लाबासी एक हुनुपर्ने बताए ।


बैठकमा नेपालगन्ज विश्व विद्यालय संघर्ष समितिका सहसंयोजक पशुपति दयाल मिश्र, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्रमुख गणेश रेग्मी, सहायक क्याम्पस प्रमुख रविन्द्र कर्ण, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, संघका निवर्तमान अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्ण श्रेष्ठ, चेम्बर अफ कमर्शका गोपाल अधिकारी लगायतले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया