फोहोर व्यवस्थापनको चुनौति बनिरहेको गुट्काजन्य प्रयोग हटाउनका लागि सम्बद्धहरुले जोड दिएका छन् । बिहीबार नेपालगन्ज उपमहानगरपालिकाको एउटा छलफलमा सहभागीहरुले फोहोर व्यवस्थापनमा गुट्का निकै चुनौति बनिरहेको भन्दै प्रतिबन्ध लगाउन जोड दिइएको हो ।
‘मानिसको स्वास्थ्य मात्रै होइन यसले नगरको सौन्दर्य ध्वस्त पार्यो’, प्रदेशसभा सदस्य आइपी खरेलले भने, ‘प्रदेश सरकारले सार्वजनिक ठाउँमा गुट्काको प्रयोग गर्न निषेध गर्ने व्यवस्था गरिसकेको छ ।’ नेकपाका जिल्ला अध्यक्ष समेत रहेका प्रदेशसभा सदस्य खरेलले सहरलाई सुन्दर राख्न प्लाष्टिकजन्य प्रयोग न्यूनीकरण गर्दै कानुन र सचेतनालाई सँगसँगै लैजान सुझाव दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भारतमा बन्द भैसकेको पोकावाला गुट्का नेपालगन्जका लागि ठूलो ‘सरदर्दी’ बनेको टिप्पणी गरे । ‘भारतमा बन्द भएपछि तीनै कम्पनीहरु नेपाल आएर समस्या सिर्जना गरेका छन्’, अध्यक्ष वैश्यले प्लाष्टिकका कागजमा गुट्का उत्पादन गर्ने कार्यलाई पूर्णतः निषेध गर्न सरकारको ध्यानाकर्षण गराउँदै भने ।
प्लाष्टिक प्रयोग विरुद्ध अभियान सुरु गरेको उपमहानगरपालिकाले सरोकारवालाहरु बीच संवेदनशीलताका लागि छलफल गरेको हो ।
‘हरेक छलफल, जमघटलाई प्लाष्टिक विरुद्धको सचेतनाका लागि उपयोग गरिरहेका छौं’, अभियानको सहजीकरण गरिरहेका विषयविज्ञ हरि प्रसाद सुवेदीले दैनिक नेपालगन्जसँग भने, ‘क्रमशः अभियानलाई जनस्तरमा पुर्याउने योजना छ ।’ सुवेदीले सर्वपक्षीय, सर्वदलीय सहभागिता रहेको उक्त छलफलमा प्लाष्टिक विरुद्ध उपमहानगरपालिकाले अघि सारेको अभियानबारे प्रस्तुतिकरण गरेका थिए ।
अभियानबारे सांसद खरेलसँगै नेपाली काँग्रेसका सभापति किरण कोइराला, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्द लाल वैश्य, चेम्बर अफ कमर्शका गोपाल अधिकारी लगायतले आफ्ना धारणा राखेका थिए । ‘नेपालगन्जलाई प्लाष्टिक मुक्त बनाउन न्यूरोडबाट नमूना अभ्यास सुरु गरौं’, अभियानमा ऐक्यबद्धता जनाउँदै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले भने, ‘हामी न्यूरोडबासी त्यसका लागि तयार छौं ।’
नगर प्रमुख डा. धवल समशेर राणाले उपमहानगरपालिका कार्यालय र नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयसँग जोडिएका टोललाई नमूनाका रुपमा अगाडि सारिएको जानकारी दिए । ‘यो एकैपटक सफल हुने अभियान होइन’, उपप्रमुख उमा थापामगरले भनिन्, ‘क्रमशः जनतालाई सचेत बनाउँदै अगाडि बढ्ने हो ।’ छलफलपछि सहभागीहरुले प्लाष्टिक प्रयोग विरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै हस्ताक्षर सहित प्रतिबद्धता जनाएका छन् ।