तनावले बढाउँदै छ आत्महत्या

तीन बर्षमा १ सय ८५ ले आफ्नै कारणले आफैले गुमाए ज्यान, युवाको संख्या बढी
बाँकेमा तीन बर्षको अवधीमा १ सय ८५ जनाले अकालमा ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयको बाँकेको तथ्यांकमा झुण्डिएर आत्महत्या गर्नेको संख्या अधिक रहेको छ । विष सेवन गर्नेको संख्या पनि प्रहरी तथ्यांकमा अत्याधिक नै रहेको छ । आत्महत्या घटना शुक्रबार र शनिबार बढी हुने गरेको प्रहरीको तथ्यांक रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

भुण्डिएर, विष सेवन गरेर, आगो लगाएर आत्महत्या हुने गरेकोमा प्रहरीले सबै घटनाहरुलाई फरक फरक कोणबाट अनुसन्धान तथा विश्लेषण गर्दा उक्त घटना शुक्रबार र शनिवार बढी हुने गरेको बताएको छ । शुक्रबार र शनिबार अन्य दिनको तुलनामा ‘फ्रि’ रहने हुनाले पनि मनमा आउने नाकारात्मक विचार आत्महत्याका लागि प्रेरित गरेको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुको भनाइ छ ।

‘आत्महत्याको प्रमुख कारण तनाव र प्रेसर नै रहेको हामीले पाएका छौं’, जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा फाँटका इन्चार्ज, प्रहरी निरीक्षक दिपक मल्लले भने । कतिपय आत्महत्या अन्यको प्रेसरमा हुने गरेको छ, तर प्रमाण अभावमा उनीहरुलाई कारवाहीको दायरामा ल्याउन ग्राहो हुने गरेको छ ।

प्रहरी अनुसन्धान रिपोर्टका अनुसार, आत्महत्या गर्नेमा १६ वर्ष देखि ३० वर्षका युवा युवतीहरु आत्महत्यामा धेरै रहेको पाइएको छ । ‘आफ्ना इच्छा आकांक्षा पूर्ति नहुँदा, असफलता, सामाजिक र पारिवारिक रुपमा रहने प्रेसरले आत्महत्या गर्न प्रेरित गर्छ’, प्रहरी निरीक्षक मल्ल भन्छन्, ‘त्यसैले परिवार र समाजले व्यक्तिमा आएको नकारात्मक परिवर्तनको थाहा पाएर परिस्थितिलाई अनुकल बनाउने हो भने आत्महत्याका घटना न्यूनीकरण गर्न सकिन्छ ।’ उनी युवा, युवती तनावकै कारण लागुऔषधको कुलतमा समेत फस्ने गरेको बताउँछन् ।

बाँकेमा आ.व. २०७३/०७४ मा ७६ जनाले आत्महत्या गरी ज्यान गुमाएको जिल्ला प्रहरीको तथ्यांक रहेको प्रहरी निरीक्षक मल्लले जानकारी दिएका छन् । उक्त आ.व.मा सबैभन्दा बढी झुण्डिएर ४४, विष सेवन गरी ३१ जनाले र १ जनाले आफैले आगो लगाएर ज्यान गुमाएका थिए । बजारमा बिक्री हुने विषादी प्राप्त गरेर आफ्नो ज्यान गुमाउनेको संख्या ठूलै रहेको छ । ‘विभिन्न कार्यका लागि प्रयोग हुने विषादी हात पारेर सेवन गरेको पाइन्छ’, प्रहरी निरीक्षक मल्ल भन्छन् ।
आ.व. ०७४/०७५ मा बाँकेमा ६३ जनाले आत्महत्या गरेका छन् । जसमा विष सेवन गरी २० र झण्डिएर ४३ जनाले ज्यान गुमाएका थिए । अघिल्ला आ.व.को तुलनामा आ.व. ०७५/०७६ मा भने आत्महत्या गर्नेको संख्यामा संख्यामा कमी आएको छ । चालु आ.व.मा विष सेवन गरेर आत्महत्या गर्नेको संख्या अघिल्लो आ.व.को तुलनामा ह्वात्तै घटेको छ । चालु आ.व.को जेठ मसान्तसम्म विष सेवन गरी आत्महत्या गर्नेको संख्या १० रहेको छ । झुण्डिएर आत्महत्या गर्नेको संख्या ४४ रहेको छ । चालु आ.व.मा कसैले पनि आगो लगाएर आत्महत्या गरेको घटना भएको छैन ।

चिकित्सकहरु विभिन्न वादविवाद, तनाव, संयमताको अभाव, मनोबल खस्नु, धोका लगायत कारणलाई आत्महत्याको कारण रहेको बताउँछन् । युवाहरुले आवेगमा आफ्नो संयमता गुमाउँदा आत्महत्या सम्मको निर्णयमा पुग्ने गरेको चिकित्सकको भनाइ छ । चिकित्सकहरु आत्महत्या मानसिक रोगको रिजल्टका रुपमा चित्रण गर्दछन् । प्रहरी तथ्यांकमा आत्महत्या गर्नेमा १६ देखि ३० वर्ष र ६० भन्दा माथि उमेर भएकाहरु छन् । ‘उच्च तथ्याङ्क ३० भन्दा बढिकै छ,’ प्रहरी अधिकारी भन्छन्, ‘दोस्रो श्रेणी ६० भन्दा माथि उमेर समूहको छ ।’

व्यक्तिले मनभित्र भएको तनाव व्यक्त गर्न नसक्दा पनि आत्महत्याको निर्णयमा पुग्ने गरेको चिकित्सकको धारणा छ । ‘समस्या भन्ने अवस्था नहुनु वा त्यसको बेलैमा समाधान नहुनु पनि आत्महत्याको प्रमुख कारण मध्ये हो,’ प्रहरी अधिकारी भन्छन्, ‘यो अहिलेको समयमा ठूलो समस्याको रुपमा देखा परेको छ ।’

आत्महत्या एकैचोटी हुने घटना नभएको प्रहरी अधिकारी बताउँछन् । ‘निरन्तर तनाव र आफुले त्यसलाई थेग्न नसक्ने निर्णयमा पुगेपछि आत्महत्या रोजेको हुनसक्छ’, प्रहरी निरीक्षक मल्ल भन्छन् । कतिपय आत्महत्याका घटनामा सुसाइड नोटहरु पनि फेला पर्छन् । जसमा आत्महत्याको निर्णयमा पुग्नुको कारण समेत उल्लेख गरिएको पाइन्छ । कहिलेकाहीँ ‘रिसको झोंक’मा एक्कासी आत्महत्या गरेको घटना समेत फेला पर्ने गरेको छ । ‘स–साना कारणमा पनि आत्महत्या गरेको पाइएको छ’, प्रहरी निरीक्षक मल्ल भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया