‘खजुरामा नयाँ ढंगले काम गरिरहेका छौं’

खजुरालाई बाँकेका स्थानीय तहमा नमूना बनाउने अभियानमा जुटेका गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति सोमबार अबेर राती गाउँपालिका कार्यालयमै भेटिए । ‘कार्यपालिका बैठक सकेर विपद् व्यवस्थापन समितिको बैठकमा छौं’, मनसुन सुरु भैसकेकाले सरोकारवालाहरुलाई अलर्ट रहन निर्देशन दिइएको जानकारी दिंदै प्रमुख कक्षपतिले दैनिक नेपालगन्जसँग भने । उनै कक्षपतिसँग आज मंगलबार हुने गाउँसभाको तयारीबारे गरिएको सम्यक संवाद ।

चालु आर्थिक बर्षको बजेटको प्राथमिकता र खर्च कसरी गर्छौं ?

चालु आर्थिक बर्षमा केही गौरवका योजनाहरु समेत समावेश गरेका छौं । जस्तै, झण्डै १५ करोड रुपियाको हाराहारीमा वजेट व्यवस्था गरेर वडा नं. १, २, ३ र ४ साविकको राधापुर, सितापुर र बागेश्वरीमा १८ किलोमिटर बाटोहरु पिच गर्दैछौं । ती सबै काम अन्तिम अवस्थामा पुगेका छन् ।

देशभरी विकासमा तिव्र गतिमा अगाडि बढेका कारण पिच गर्दा आवश्यक बिटोमिनको कमी हुँदा काममा केही अवरोध आएको छ । असार मसान्तसम्म निर्माण सक्नका लागि प्रत्येक १५ दिनमा प्राविधिक, निर्माण व्यवसायी बीच बैठक बसालेर रिपोटिङ्ग लिने र योजना बनाउने गरिरहेको छु ।


खजुरा गाउँपालिका भित्र ५ सय क्षमताको सुविधा सम्पन्न सभागृह बनाउने योजना अघि बढेको छ । जसको ग्राउण्ड फ्लोरमा लक्षित वर्गको कार्यक्रमहरु सञ्चालन हुनेछन् । सभागृहका लागि ७ करोड लागतमा टेण्डर गरेर काम सुरु गरेका छौं ।


खजुरा गाउँपालिका भित्र कृषिमा व्यवसायिकरण र आधुनिकरणका लागि १ हजार ५ सय मेट्रिकटन क्षमताको शित भण्डार बनाउने योजना छ । जसको टेण्डर केही दिनभित्रै निकालिनेछ । शित भण्डारीका लागि प्रदेश सरकारबाट ७५ प्रतिशत अनुदान दिनेछ । बाँकी २५ प्रतिशतको ५० प्रतिशत स्थानीय सरकार र ४९ प्रतिशत खजुरा गाउँपालिकाका सहकारीहरुले लगानी गर्नेछन् । त्यसका लागि सहकारीलाई शेयर वितरण गर्ने सहमति गरिएको छ । शित भण्डारका लागि त्रिपक्षीय सम्झौता छ । शित भण्डारको व्यवस्थापन र सहकारीले गर्ने र अवलोकन र नियमन गाउँपालिकाले गर्नेछ ।

बृहत खजुरा सम्मेलन गर्दैछौं । त्यसमा खजुराबाट स्वदेश तथा विदेशमा रहेकाहरुलाई पनि निम्त्याउँदैछौं


शिक्षामा मात्रै १ करोड ९५ लाख विनियोजन गरेका थियौं । त्यसबाहेक विभिन्न विद्यालयमा ट्रान्सफर, कम्पाउण्ड वालका लागि बजेट, दुई वटा सामुदायिक विद्यालयका लागि बस किन्न अनुदान गरेर झण्डै ४ करोड रुपैयाँमा शिक्षामा लगानी गरिएको छ ।


कृषिमा सशर्त रकम बाहेक ४० लाख रुपैयाँ कृषिको व्यवसायिकरण र किसानलाई प्रोत्साहनका निमित्त विभिन्न अनुदानका रकम छुट्याएका थियौं । स्वास्थ्यमा पनि स्थानीय सरकारबाट बजेट विनियोजन गरिएको छ । पिएसी खजुरा, राधापुर स्वास्थ्य चौकी, सितापुर स्वास्थ्य चौकी, उढरापुर स्वास्थ्य चौकी लगायतमा ल्याबका सेवाहरु सुचारु गरिसकेका छौं । आगामी बर्ष रनियापुर स्वास्थ्य चौकीमा ल्याबको सेवा सुरु गर्ने योजना राखेका छौं । हाम्रो गाउँपालिकाका ८ वटा वडा मध्ये दुई वटामा स्वास्थ्य चौकी थिएनन् । वडा नं. ६ मा ६३ लाखको ए ग्रेड स्वास्थ्य चौकी निर्माणका लागि टेण्डर गर्दैछौं । त्यहाँ अस्थायी रुपमा स्वास्थ्य सेवाको सुरुवात पनि हुँदैछ ।


आठ वटा वडामा ४० किलोमिटर बाटो स्तरोन्नती गरिएको छ । चालु आ.व.मा असार मसान्तसम्म ९५ प्रतिशत विकास निर्माण, पूर्वाधारका योजनाहरु सम्पन्न गर्ने हिसाबले स्थानीय सरकार अघि बढेको छ । उपभोक्ता समितिमार्फत भएका कामहरु ९५ प्रतिशत सकिएका छन् । टेण्डर प्रक्रियाबाट भैरहेका काम भने विटोमिनको अभावमा अली सुस्त भएको छ । हामीले खजुरामा नयाँ ढंगले काम गरिरहेका छौं ।

नेपालमैं पहिलो ग्रीन सिटीका रुपमा खजुरालाई स्थापित गर्न साउथसाउथ कोअपरेशन र गाउँपालिका बीच एमओयू भैसकेको छ


चालु आर्थिक बर्षमा समयमैं टेण्डर निकालेका थियौं । तर, निर्माण सामाग्रीको अभावले समयमै काम सुरु गर्न सकिएन । गिट्टी, बालुवाका लागि खोला बन्द थिए । ढिलो गरी बाँकेमा नदीजन्य पदार्थको टेण्डर भयो । त्यसले समयमै काम हुने सम्भावना कम थियो । तर, पनि हामीले दु्रत गतिमा काम अगाडि बढायौं, असार मसान्तभित्र काम सक्ने लक्ष्य राख्यौं ।


स्थानीय तहले विनियोजन गरेको रकम, समानिकरणको रकम असार पछि काम गर्दा पनि समस्या हुँदैन । तर, समपुरक कोष र सांसद विकास कोषको रकमबाट सञ्चालित योजना असारमसान्त भित्र सकिएन भने कोलेनिकाबाट फिर्ता भएर जान्छ । यी दुई शिर्षकको रकम फ्रिज हुन नदिन समयसीमाभित्र काम सक्न दु्रत गतिमा काम अगाडि बढाएका छौं ।

खजुरालाई कसरी नमूना गाउँपालिका बनाउने ?

हामीले खजुरा गाउँपालिकालाई नमूना बनाउने त भन्यौं । नमूना भन्दा कस्तो बनाउने भन्ने कुरा आउँछ । हामीले खजुरालाई नमूना बनाउन केही सूचकहरु बनाउँदैछौं । नमूना गाउँपालिका हुनुका निमित्त पञ्च बर्षीय, दश बर्षीय अध्यावधिक योजना तयार गरिंदैछ । यसका सूचक तयार भएका छन् । जस्तै वडा नं. १ देखि ८ नं. सम्म प्रत्येक वडामा एउटा चिल्डे«न पार्क बनाउने । त्यो पनि एउटा सूचक हो । त्यस्तै, दशैं र तिहारको बीचमा बृहत खजुरा सम्मेलन गर्दैछौं । त्यसमा खजुराबाट स्वदेश तथा विदेशमा रहेकाहरुलाई पनि निम्त्याउँदैछौं । खजुरामा भएका विद्यार्थीहरु विदेशका विभिन्न ठाउँमा राम्रो कार्यहरु गरिरहनु भएको छ ।

सम्मेलनमा सहभागीसँग हाम्रो कन्स्ल्ट्यान्टहरुसँग तयार गरेको कार्यपत्रमाथि छलफल गर्नेछौं । गतबर्ष म दुबईमा ग्रीन इकोनोमिक समिटमा सहभागी भएको थिए । त्यो समिटमा खजुरालाई ग्रीन सिटी कसरी बनाउने भन्ने प्रिजेन्टेशन गरेको थिएँ । आयोजक साउथसाउथ कोअपरेशनले हाम्रो प्रस्तावना स्वीकार गरेको छ । कोअपरेशनले हामीलाई पत्र पनि पठाएको छ । ग्रीन सिटीका लागि खजुराको बिस्तृत विवरण समेटेर प्रस्तावना साउथसाउथ कोअपरेशनको हेड अफिस बेइजिङमा पठाएका छौं । कोअपरेशनले थप ११ वटा डकुमेन्ट मागेको छ । प्रोजेक्टको डिजाइन, लगानी, स्वामित्व, वातावरणीय परीक्षण, केन्द्रीय सरकारको सपोर्ट लगायतका विवरण कोअपरेशनले मागेको हो ।

हिजो जनताका बीचमा गरेको वाचाहरुलाई टेकेर नीति तथा कार्यक्रम, बजेट विनियोजन गर्दैछौं


उक्त विवरण पठाएपछि साउथसाउथ कोअपरेशनका प्रमुख एलेक्स मुनको टोली खजुरा गाउँपालिका आउन चाह्यो । ग्रिन सिटीमा खजुराबासीको धारणा आफै बुझ्नका लागि मुन, काई ह्वाङ, विज्ञ प्रोफेसर मावि खजुरा आउनुभयो । उहाँहरुसँग यूएनको टिम पनि थियो सहजीकरणका लागि । उहाँहरुले एक हप्ता खजुरा गाउँपाउलिकाका विभिन्न क्षेत्रका, तह तप्का जनता, जनप्रतिनिधिसँग वार्ता गर्नुभयो । उनीहरुले ग्रीन सिटीको प्रोजेक्ट आएमा उनीहरुले गर्ने सहयोगका बारेमा जिज्ञासा राखेका थिए । साउथसाउथ कोअपरेशन र गाउँपालिका बीच एउटा एमओयू पनि भैसकेको छ । साउथसाउथ कोअपरेशन कृषिलाई कसरी अत्याधुनिक तरिकाबाट खेती गरेर व्यवसायीकरण गर्ने, उत्पादन बढाउने भन्नेमा बढी फोकस रहेको पाएँ । खाससमस्या भनेको खजुरामा मल, खाद, बीउ, सिचाईंको समस्या छ । यी कुराहरुको व्यवस्थापन गर्यौं भने कृषिमा ठूलो परिवर्तन आउनेमा कोअपरेशन ढुक्क छ ।


हाम्रो प्रोजेक्टमा साउथसाउथ कोअपरेशन सकारात्मक छ । यूएनले पनि सहजीकरण गरेको छ । प्रत्येक दुई हप्तामा ज्वाइन्ट मिटिङ्ग गरेर निर्णय बेइजिङ पठाउने छौं । आगामी असार २३, २४ र २५ मा उज्वेकिस्तानमा डिजिटल इकोनोमिक्स समिट शिर्षकको एक्जिभिसन हुँदैछ । त्यसमा खजुराले चाहेमा एउटा स्टलमा खजुराको ग्रीन सिटीको अवधारणा राख्न सक्ने सक्ने जानकारी एलेक्सले दिनुभएको छ । हामी त्यसको तयारीमा पनि छौं ।

खजुराको सहरीकरणको योजना छ ?

खजुरालाई सहरीकरण गर्नका लागि ग्रीन सिटीको अवधारणाले अत्यन्त सहयोग मिल्नेछ । छिमेकी स्थानीय तह, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख, उपप्रमुखस“ग पनि साउसाउथ टिम, यूएन र हाम्रो गाउँपालिकाको टिमले खजुराको ग्रीन सिटीको अवधारणाबारे छलफल गरेको छ । त्यसमा उपमहानगरपालिकाले हार्दिकताका साथ हातेमालो गर्ने उपमहानगर प्रमुख डा. धवल समशेर राणाले प्रतिबद्धता जनाउनु भएको छ । ग्रीन सिटी प्रोजेक्ट खजुरामा लागु हुनेछ भन्नेमा हामी आशावादी छौं ।

नयाँ बजेटका विशेषता के हुन् ?

आज हामी पाँचौ गाउँसभा गर्दैछौं । जसमा हामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछौं । दुई बर्षको अनुभवका आधारमा फरक ढंगले नीति तथा कार्यक्रम ल्याउँदैछौं । हिजो जनताका बीचमा गरेको वाचाहरुलाई टेकेर नीति तथा कार्यक्रम, बजेट विनियोजन गर्दैछौं ।
बजेट विनियोजन गर्दा हामीले ९ वटा कुरालाई ध्यान दिंदैछौं । आर्थिक विकास, गरिबी निवारण, छिटो प्रतिफल, जीवनस्तर बढाउन कसरी रोजगारी आम्दानी बढाउने, स्वयंसेवक परिचालनले लागत कम गर्ने, स्थानीय स्रोत, साधन, सीपको अधिकतम प्रयोग, महिला, बालबालिका तथा पिछाडिएको क्षेत्रलाई लाभ पुर्याउने विषय, लैगिक समानता, दिगो विकास, भाषिक तथा सांस्कृतिक पक्षको जर्गेर्ना, सामाजिक सद्भावका विषय बजेटमा समेटिने छ । नीति तथा कार्यक्रममा ग्रीन सिटीको अवधारणालाई पनि समेटिनेछ । नेपालमैं पहिलो ग्रीन सिटीको रुपमा अगाडि बढ्ने पहिलो गाउँपालिकाका रुपमा खजुरालाई अगाडि बढाउने सोंच छ ।

खजुरालाई सहरीकरण गर्नका लागि ग्रीन सिटीको अवधारणाले अत्यन्त सहयोग मिल्नेछ । त्यसमा उपमहानगरपालिकाले हार्दिकताका साथ हातेमालो गर्ने नेपालगन्ज उपमहानगर प्रमुख डा. धवल समशेर राणाले प्रतिबद्धता जनाउनु भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया