जानकीको नीति तथा कार्यक्रम पारित, राप्तीसोनारीले सुरु गर्यो गाउँसभा
आज असार १० गते बाँकेका स्थानीय तहहरुले आज मंगलबार आ.व. २०७६÷०७७ का लागि गाउँ तथा नगरसभाको आयोजना गर्दैछन् । संघीय सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि आज मंगलबारसम्मको समय सीमा तोकेको छ । यसअघि स्थानीय तहहरुले संघ र प्रदेशको बजेटपछि स्थानीय तहको बजेट बनाउनु पर्ने र त्यसको समय सीमा कम भएको भन्दै समयसीमा बढाउन आग्रह गरेका थिए । तर, संघीय सरकारले आजकै दिन नीति तथा कार्यक्रम र बजेट ल्याउन निर्देश गरेको थियो ।
बाँकेका दुई वटा स्थानीय तहले गाउँसभा यसअघि नै सुरु गरिसकेका छन् । बाँकेको जानकी गाउँपालिकाले आइतबार र राप्तीसोनारी गाउँपालिकाले सोमबार नै गाउँ सभा आयोजना गरेर नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । अन्य पालिकाले आज मंगलबार नीति तथा कार्यक्रम र बजेटका लागि सभा आयोजना गर्दैछन् ।
नेपालगन्ज उपमहानगरपालिकाको आज हुने नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उपमहानगरपालिकाले यसपटक केही ठूलो योजनालाई पनि बजेटमा समेट्ने योजना बनाएको छ । यद्यपि, वडाध्यक्षहरुले माग गरेको बजेट पूर्ति गर्दा नगर प्रमुख डा. धवल समशेर राणाको योजनामा रहेका केही आयोजना भने यसपटकको बजेटमा छुट्ने भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका लागि आगामी आर्थिक बर्षको बजेट १ अर्ब ९६ करोड ९३ लाख ५४ हजार रुपैयाँ प्रस्तावित छ । यो बजेट चालु आर्थिक बर्षको २ अर्ब ४९ करोड ६ लाख ४७ हजार भन्दा झण्डै ५५ करोडले कम हो । एशियाली विकास बैंक अन्तर्गतका परियोजनाको बजेट घट्दै गएकाले बजेट गतबर्ष भन्दा कम भएको हो ।
कोहलपुर उपमहानगरपालिकाले पनि आज नगरसभा निश्चित गरेको छ । कोहलपुरले आगामी आ.व.का लागि झण्डै ८० करोडको बजेट प्रस्ताव गर्ने बताइएको छ । बाँकेको खजुरा गाउँपालिकाको पाँचौ गाउँसभा पनि आज मंगलबार हुँदैछ । गाउँपालिकाले आज प्रस्तुत गर्ने नीति तथा कार्यक्रम भने विगतको भन्दा फरक हुने गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताएका छन् । ‘दुई बर्षको अनुभव जनताका आकांक्षा सम्बोधन गर्ने किसिमले नीति तथा कार्यक्रम ल्याउन लागिएको छ’, अध्यक्ष कक्षपतिले भने ।
जानकी गाउँपालिकाको नीति तथा कार्यक्रम र गाउँसभा असार १४ गते सम्म सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिएका छन् । उनले सोमबार नीति तथा कार्यक्रममा छलफल भई संशोधन सहित पारित गरिएको जानकारी दिएका छन् । जानकीको बजेट आज मंगलबार प्रस्तुत गर्ने प्रमुख प्रशासकीय अधिकृत शाहीले बताएका छन् ।
जानकी गाउँपालिकाको पाँचौ गाउँसभामा अध्यक्ष रामनिवास यादवले आइतवार पेश गरेको नीति तथा कार्यक्रममा सभाका सदस्य एवम् वडा नं. ४ का अध्यक्ष विश्रामकुमार बर्माले संशोधन प्रस्ताव दर्ता गरेका थिए । गाउँपालिकाको नीति कार्यक्रममा प्रमुख प्राथमिकता पूर्वाधार निर्माण परेको छ । कृषिलाई दोस्रो प्राथमिकतामा पारिएको छ । नीति तथा कार्यक्रम कृषकका लागि सिंचाई मल, विउ तथा बजारीकरणलाई विशेष महत्व दिइएको छ ।
राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सोमबार बसेको पाँचौं गाउँसभामा उपाध्यक्ष धनीकुमारी खत्रीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले पूर्वाधार विकासतर्फ वर्षभरी यातायात सञ्चालन हुने स्तरका सडक निर्माण, मर्मत गर्न जीर्ण सडक, कल्भर्ट पुलपुलेसालाई मर्मत सम्भार गर्ने नीति अगाडी सारेको छ ।
चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका सडकको वर्तमान अवस्थाको पहिचान गर्न सडक सञ्जाल गुरुयोजना तयार गरी भौतिक निर्माण अन्तर्गत साना स्थानीय सडक ग्राभेल गर्ने, नाला निर्माण गर्ने एवं स्तरोन्नती भइसकेका सडक पिच गर्ने नीति लिइने उल्लेख गरिएको छ ।
योजनावद्ध र वातावरणमैत्री पूर्वाधारः दिगो विकासको पहिलो आधार भन्ने नारालाई मुर्त रुप दिन रणनीतिक महत्वका सडक र क्रमागत आयोजनालाई उच्च प्राथमिकता दिई वातावरणमैत्री संरचना निर्माणमा जोड दिइनेछ । आफ्नै भवन नभएका वडा कार्यालयको भवन निर्माण र अधुरा भवनलाई प्राथमिकतामा राखी सबै वडाबाट आफ्नै कार्यालय भवन बनाउन गाउँपालिकाले जोड दिएको छ । वर्षभरी सडक अवरुद्ध हुन नदिन नियमित तथा आकस्मिक मर्मतका लागि आवश्यक रकम ब्यवस्था गर्ने नीति लिइएको छ । आज मंगलबार पनि गाउँसभाको निरन्तरता हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रबहादुर माझीले जानकारी दिएका छन् । आज हुने सभामा बजेट लगायत विविध विषयमा छलफल हुने प्रमुख प्रशासकीय अधिकृत माझीले जानकारी दिएका छन् ।