भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनका कारण जलमग्न हुँदैछ २१ हेक्टर जमीन

राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाका कारण २१ हेक्टर जमीन डुबानमा पर्ने भएको छ । पछिल्लो सर्भेले तल्लोतटीय क्षेत्रका १३ हेक्टर दर्ता र आठ हेक्टर ऐलानी जग्गा डुबानमा पर्ने आयोजनाले जनाएको छ । पाँच वर्षअघि गरिएको सर्भेमा आठ हेक्टर जमिन मात्रै डुबानमा पर्ने उल्लेख थियो ।

पुरानो सर्भे प्रतिवेदनप्रति प्रभावित क्षेत्रका बासिन्दाले असन्तुष्टि व्यक्त गरेपछि आयोजनाले पुनः सर्भे गरेको हो । आयोजनाबाट ११ घर प्रभावित हुनेछन् । आयोजनाले यसै साता प्रमुख जिल्ला अधिकारीलाई जग्गा अधिग्रहणसम्बन्धी प्रतिवेदन बुझाउने तयारी गरेको छ । चालू आवभित्रै मुआब्जा वितरण गर्न रु १० करोड बजेट छुट्याइएको छ । मुआब्जा निर्धारण भने प्रमुख जिल्ला अधिकारी संयोजकत्वको समितिले टुङ्गो लगाउनेछ ।

भेरीको पानीलाई भेरीगङ्गा नगरपालिका–९ को चिप्लेदेखि भेरीगङ्गा नगरपालिका–१ को हात्तीखालमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै बाँके र बर्दियाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले शुरु गरिएको आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भइसकेको छ ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) श्रीप्रसाद साहले चालू आर्थिक वर्षभित्रै मुआब्जाको टुङ्गो लगाउने जानकारी दिनुभयो । मुआब्जाको टुङ्गो लागेपछि मात्र ड्याम (बाँध) निर्माणको काम शुरु गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया