नेपालगन्ज उपमहानगरपालिकाको बजेट बाँडफाँडलाई लिएर उत्पन्न विवाद साम्य भएको छ । बजेट बाँडफाँडमा नगर प्रमुख, उपप्रमुख एकातिर र वडाध्यक्षहरु अर्कोतिर भएपछि रोकिएको नगर कार्यपालिका बैठक आइतबार बसेर विवाद साम्य पारेको हो ।
‘बजेट काँटछाँट गरी सहमति जुटाइएको छ’, नगर प्रमुख डा. धवल समशेर राणाले दैनिक नेपालगन्जसँग भने, ‘तर, नेपालगन्जको विकासमा नकारात्मक असर पर्ने गरी बजेट बाँडफाँड भएको छैन ।’
सम्बद्ध स्रोतका अनुसार, वडाध्यक्षहरुले नगर प्रमुख डा. राणाका ‘ड्रिम प्रोजक्ट’मा कैची चलाएका छन् । डिपिआर तयार भैसकेको धम्बोझी चोकको आकाशे पुलका लागि बजेट छुट्याइएको छैन । नगर प्रमुखको अडान कायमै रहेपछि झण्डै ७० करोडको सपिङ्ग मल, कान्ति ताल लगायतका योजनालाई अगाडि बढाइने भएको छ ।
‘कति झगडा गर्ने ?’, नगर प्रमुख डा. राणाले ठूलो परियोजनाका लागि आफ्नो जोरबल भएपनि वडाध्यक्षहरुले वडामै बजेट लैजाने जोडमा गर्दै विवाद सिर्जना गरेको तर्क गर्दै भने, ‘साथीहरु जसरी चाहनु भयो त्यसै अनुसार बजेट स्वीकृत भएर नगरसभाको तयारीमा लागेका छौं ।’
नगर प्रमुख डा. राणाले भोलि मंगलबार नीति तथा कार्यक्रम सहितको नगरसभा निश्चित गरिएको छ । जहाँ झण्डै २ अर्बको बजेट प्रस्तुत हुनेछ ।