भारतीय बाँध जस्तो सडकका कारण बाँकेका सयौ घर डुबे

यसबर्ष बाँकेमा बर्षात्को सुरुवात ढिलो गरी भएको छ । तर, यसबर्ष पहिलो पटक परेको झरीले नै बाँकेको राप्तीपारीका बासिन्दालाई झस्काएको छ । हरेक बर्ष बाढीको पीडा झेल्दै गएको राप्तीपारी आइतबार भएको बर्षात्ले सय बढी घर डुबानमा परेका छन् भने दर्जन बढी घर भत्किएका छन् ।

खहरे खोला र नदीका कारण राप्तीपारी नरैनापुर गाउँपालिकाको वडा नं. १ देखि ६ नं. वडाका घरहरुमा क्षति पुगेको हो । वडा नं. ४ मा मात्रै ११ वटा घर भत्किएको स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।

भारतीय सीमासँग जोडिएको राप्तीपारी भारतले बाँध जस्तो अग्लो सडक बनाएको छ । जसका कारण पनि पानीको सहज निकासमा अवरोध हुँदै आएको छ । बर्षात्मा नदीको कटान र बाढी राप्तीपारीका बासिन्दाका लागि नियति जस्तै बनेको छ । सीमामा पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेका गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताएका छन् । उनले बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् । अध्यक्ष शाहले बर्षात् पछि गाउँपालिकामा पुगेको क्षतिको स्थलगत अनुगमन समेत गरेका थिए ।

गाउँपालिकाका कतिपय स्थानमा कम्मरसम्म बर्षात्को पानी पुगेको थियो । ‘सयभन्दा बढी घर डुबेका र बर्षात्को पानीले निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पु¥याएको छ । पुल तथा कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुवैतिर कटान गरेको अध्यक्षले जानकारी दिएका छन् । वडा नं १ कट्कुइँयास्थित वडा कार्यालयमा समेत पानी पसेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताएका छन् । इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रमुख, प्रहरी निरीक्षक विरेन्द्र विश्वकर्माले खहरे खोलामा ह्वात्तै आएको बाढीले आसपासका घरहरुमा बढी क्षति पुर्याएको बताएका छन् ।

नरैनापुर गाउँपालिका वडा नं. ५ का इस्लाम दर्जीले वडामा आकाशे पानी र बर्षात्ले गाउँमा क्षति पुर्याएको बताएका छन् । उनले घरहरुमा पानी पस्दा खाद्यान्न काम नलाग्ने गरी भिजनाएको छ भने सरसामाग्री भिजाइदिएको छ । दर्जीको घरमा रहेको २५ बोरी सिमेन्ट र भण्डारण गरिएको खाद्यान्न पानीले भिजाइ दिएको छ । नरैनापुरका अनिल चौधरीले सुरुकै बर्षाले झस्काएको बताएका छन् । ‘एक दिनकै पानीले गाउँ जलाम्मे भएका छन्’, उनले भने, ‘निरन्तर बर्षामा अवस्था के होला ?’

बर्षाका कारण नेपालगन्जका विभिन्न क्षेत्र प्रभावित भए । व्यापारिक क्षेत्र घरबारीटोलका पसलहरुमा पानी पसेर क्षति पुगेको स्थानीय नमस्ते प्रिन्टर्सका सञ्चालक दुर्गा ज्योति भण्डारीले बताएका छन् । बर्षात्को पानी गणेशपुर क्षेत्र, बसपार्क लगायतका बजार क्षेत्रमा तालिएको थियो । नेपालगन्जमा पानीको निकासका लागि ढल तथा नाला निर्माण भैरहेको छ । कतिपय स्थानमा निर्माणाधीन ढल तथा नालाबाट पानी निकासको समस्या छ । ‘अवरोध भएका ठाउँमा आइतबार विहानैदेखि स्काभेटर सहित कर्मचारी खटाएका थियौ’, उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले भने ।

बाँकेमा राष्ट्रिय आपतकालीन उद्दार केन्द्रले आइतबार एक सूचना जारी गर्दै सतर्कता अपनाउन अपिल गरेको छ । चुरेबाट सुरु भई बाँके जिल्ला भएर बहने डुडुवा, मानखोला, झिंझरी लगायतका स–साना सबै खोलानाला आसपास सतर्क रहन सुझाव दिइएको छ । राष्ट्रिय आपत्तकालीन उद्दार केन्द्रले उपमहानगरका होचा स्थानहरुमा पनि डुबान हुनसक्नेतर्फ सचेत बनाएको छ । आइतबार बाँकेमा देशमै सबैभन्दा बढी बर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, आइतबार नेपालगन्जमा १ सय ६०.८ मिलिमिटर बर्षा भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया