१९ करोडको लागतमा नेपालगन्ज रंगशालामा निर्माण गरिएको पौडी पोखरीको शुक्रबार औपचारिक रुपमा परीक्षणको सुरुवात गरिएको छ । १२ बर्ष अगाडिदेखि नेपालगन्जको रंगशाला परिसरमा निर्माण सुरु गरिएको पौडी पोखरीको शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले परीक्षण सुरुवात गरेका हुन् । बि.सं. २०६६ सालमा तत्कालीन युवा तथा खेलकुद मन्त्री गणेश नेपालीले पौडी पोखरीको शिलान्यास गरेका थिए ।
पौडी पोखरी परीक्षण कार्यक्रममा बोल्दै सदस्य सचिव विष्टले खेलाडी र खेलप्रेमीले १० बर्षदेखि प्रतिक्षा सकिएको धारणा राखेका थिए । प्रदेश ५ खेलकुद विकास समितिले राखेप सदस्य सचिव विष्टसँग शुक्रवार उद्घाटन गराउने योजना बनाए पनि विष्टको आग्रहमा उद्घाटन कार्यक्रम स्थगित गरी परीक्षणको शुभाम्भ गरिएको हो । निर्माणको सम्पूर्ण काम सक्न अझैँ केहि समय लाग्न भएकोले उद्घाटन कार्यक्रम स्थगित गरि परीक्षणलाई जोड दिएको विष्टले बताए ।
कार्यक्रममा बोल्दै सदस्य सचिव बिष्टले पौडी पोखरीले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखेका थिए । नेपालगन्ज जस्तो गर्मी ठाउँमा स्वीमिङ्ग पुलको अति आवश्यकता रहेको हुनाले सर्व साधारणका लागि र खेलाडी उत्पादनमा टेवा पुग्ने उनको भनाइ थियो ।
स्वीमिङगका प्रि–प्रशिक्षण तथा केही प्रतियोगिता गर्न मिल्ने गरी निर्माण गरिएको उक्त स्वीमिङग कम्पलेक्समा करिब ३ करोडको प्याराफिट, डिप बोरिङग, अत्याधुनिक पानी शुद्धिकरण गर्ने उपकरण, रेष्टुरेन्ट लगायतको सुबिधा रहेको छ । स्वीमिङग कम्पलेक्स सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषदले स्थानीय सर्वसाधरणहरुलाई सहज पहुँच र अपनत्व ग्रहण गर्ने गरी स्वीमिङग कम्पलेक्स सञ्चालनका लागि आवश्यक पर्ने रकमका लागि न्यूनतम शुल्कमा प्रबेशको ब्यवस्थापन गर्ने तयारी भइरहेको जनाइएको छ ।
पौडी पोखरीमा शुक्रबार प्रथम जिल्ला स्तरीय पौडी प्रतियोगिता सम्पन्न भएको छ । पौडी पोखरी परीक्षणका क्रममा आयोजित जिल्लास्तरिय पौडी प्रतियोगिता अन्तरगत ५० मिटर फ्रि स्टाइल छात्रर्फ आदर्श बोडिङ स्कुलका सुमन न्यौपाने प्रथम भए । उक्त प्रतियोगितामा स्प्रिङडेल स्कुलका खेमराज थापा दोस्रो र आदर्श स्कुलका अमित महत तेस्रो भए ।
छात्रा तर्फको ५० मिटर फ्रि स्टाइल तर्फ स्प्रिङडेलकी सुप्रिया रावल पहिलो, स्प्रिङडेलकै सुमी शाही दोस्रो र एविसी रेसिडेन्सियल स्कुलकी सद्रिना डाँगी तेस्रो भइन् । प्रतियोगिताको ५० मिटर ब्याक स्ट्रोक छात्रातर्फ स्प्रिङडेलकी सुप्रिया रावल पहिलो, स्प्रिङडेलकै सुमी शाही दोस्रो र स्प्रिङडेलकै सुहेला पाण्डे तेस्रो भइन् । ५० मिटर ब्याक स्ट्रोक छात्रतर्फ स्प्रिङडेल स्कुलका खेमराज थापा पहिलो, सोही स्कुलका विशेष सिंह तथा दिबश रेग्मी क्रमशः दोस्रो र तेस्रो भए । प्रतियोगितामा ८ वटा विधाका खेल भएको प्रतियोगिताका संयोजक झवी शर्माले जानकारी दिए ।
बिजयी खेलाडीहरुलाई राखेपका सदस्य सचिव केशव कुमार बिष्ट, कांग्रेस बाँकेकी सभापति किरण कोइराला, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भूजेल, प्रहरी उपरिक्षक अरुण पौडेल, प्रहरी उपरिक्षक बीरबहादुर ओली, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक भेषबहादुर शाह लगायतले पदक तथा प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रममा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल रुपमा सम्पन्न गराउने ब्यक्तित्वहरुलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
पौडी पोखरीमा समूहमा आउने बिद्यार्थीहरुका लागि बिशेष छुटसहित र साना उमेरका लागि प्रति ब्यक्ति प्रति २ घण्टाका सिफ्टमा रु १०० र ठूला ब्यक्तिका लागि रु १५० रुपैया टिकट राखेर स्वीमिङग कम्पलेक्स सञ्चालनमा ल्याउने तयारी गरिरहेको राष्ट्रिय खेलकुद परिषद–५ नम्बर प्रदेशका अध्यक्ष भिम ओलीले जानकारी दिएका छन् ।
प्रदेश ५ खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीका अनुसार, २०६६ सालमा डिपीआर तयार गर्न रु. ८ लाख, ०६७–०६८ मा डेढ–डेढ करोड, ०६९ मा रु. एक करोड बजेट खर्च भएको थियो । ०७० मा रु. २ करोड ५० लाख आए पनि फ्रिज भएर गएको अध्यक्ष ओलीले जानकारी दिए ।
त्यसपछि ०७१, ०७२ र ०७३ सालमा रकम विनियोजन नभएपछि पौडी पोखरी निर्माणको काम अलपत्र परेको थियो । १५ पुस, २०७३ मा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगन्जमा आयोजना हुने निर्णय भएपछि फेरि पैँसा आउन थालेको थियो । ०७५–७६ मा रु. १८ करोड परेकोमा साढे १४ करोडको टेण्डर परेर काम सकिएको छ ।
काठमाडौँ पछि नेपालगन्जमा निर्माण भएको पौडी पोखरी दोस्रो सुविधा सम्पन्न भएको प्रदेश ५ खेलकुद विकास समितिका अध्यक्ष ओलीले बताएका छन् । उनले काठमाडौं बाहिर नेपालगन्जस्थित पौडी पोखरीमा पौडीका ठूला प्रतियोगिता गराउन सकिने उनको भनाइ छ । एक पटकमा साढे तीन सय जनाले पौडी खेल्न सक्ने क्षमता भएको उक्त पौडी पोखरी बनेसँगै प्रचण्ड गर्मी झेलिरहेका नेपालगन्जवासीलाई केहि राहत मिल्ने भएको छ । प्रदेश ५ खेलकुद विकास समितिले निश्चित मापदण्ड बनाएर पौडी पोखरी सर्वसाधारणका लागि समेत खुला गर्ने तयारी गरेको छ । समितिका अध्यक्ष ओलीले पौडी पोखरी खेलकुद विकास समिति आफैले सञ्चालन गर्ने की निजी क्षेत्रलाई सञ्चालन गर्न दिने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।
यसैबीच, यस बर्षको ओलम्पिक डे २०१९ नेपालगन्जमा भव्यताका साथ मनाइएको छ । बाँके जिल्ला जुडो संघद्वारा शुक्रवार विभिन्न कार्यक्रमको आयोजना गरि ओलम्पीक डे मनाइएको हो ।
ओलम्पिक डे कार्यक्रममा नेपालगन्जको रंगशाला परिसरमा सरसफाई, जुडो प्रदर्शन लगायतका कार्यक्रम गरिएको बाँके जिल्ला जुडो संघका अध्यक्ष पदम बहादुर बुढाथोकीले जानकारी दिएका थिए ।
सरसफाई कार्यक्रममा नेपालगन्ज रंगशालामा भएको फोहर, प्लाष्टिक तथा धुलोलाई कुचोले सफा गरिएको थियो । सरसफाई तथा जुडो कला प्रदर्शन कार्यक्रममा जुडो प्रशिक्षक दल बहादुर गुरुङ, कर्मचारी, प्रशिक्षक, खेलाडी, खेलप्रेमी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।