सिक्टा सिंचाई आयोजनाले निर्माण ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनका कारण बाँके किसानहरुको ठूलो क्षति भएको भन्दै २ अर्ब क्षतिपूर्ति माग गरेको छ । त्यस्तै, ग्यारेन्टी वापत राखेको १८ करोड २३ लाख रुपैयाँ फिर्ता पनि लिएको छ ।
सिक्टा र पप्पुले आ–आफ्नो दाबी गर्दै आएपछि उच्च अदालतबाट अन्तरिम आदेश जारी भइ खारेज भएपनि हाल सर्बोच्चमा मुद्दा विचाराधिन अवस्था छ । ‘मध्यस्थता प्यानलमा पनि मुद्दा छ’, आयोजना निर्देशक कृष्ण नेपालले दैनिक नेपालगन्जसँग भने, ‘ग्यारेन्टी वापत बैंकमा राखिएको रकम फिर्ता लिइएको हो ।’ त्यसका लागि सबै कानुनी प्रक्रिया पूरा भएको सिक्टाको भनाइ छ ।
जिम्मा लिएर काम नगर्ने निर्माण कम्पनीका रुपमा कालो सूचिमा रहेको पप्पुले विभिन्न दाबी गर्दै ठूलो रकम माग गरेपछि सिक्टाले पनि किसानले समयमै सिँचाई गर्न नपाएको भन्दै एक अर्ब ८० करोड तिर्नुपर्ने दावी गरेको हो । सिक्टा सिँचाई आयोजनाबाट डुडुवा नहर निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले काम नगरेपछि मोविलाइजेशन र परफर्मेन्स ग्यारेन्टी गरि १८ करोड २३ लाख रुपिया फिर्ता लिएको आयोजनाको भनाइ छ ।
कार्यालय प्रमुख बीच सिक्टाको प्रस्तुति
सिक्टा सिंचाई आयोजनाले आफ्नो प्रगतिबारे बाँकेका कार्यालय प्रमुखहरु बीच प्रस्तुति राखेको छ । बिहीबार नियमित बैठकमा आयोजना निर्देशक कृष्ण नेपालले सिक्टको बिस्तृत प्रस्तुतिकरण गरेका हुन् ।
कार्यक्रमको अध्यक्षता गरिरहेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार, बिहीबारको बैठकमा सिक्टाले बाँकेका कार्यालय प्रमुखहरु बीच आफ्नो कार्यप्रगति प्रस्तुत गरेको हो । ‘प्रत्येक महिना कार्यालय प्रमुखहरुको बैठकमा यसखालका प्रस्तुतिहरु लिने गरेका छौं’, प्रजिअ भुजेलले दैनिक नेपालगन्जसँग भने ।
आयोजना निर्देशक नेपालका अनुसार, सिक्टा सिचाई आयोजनाले गरिरहेका कामहरु बारे सरकारी कार्यालयका प्रमुखहरु नै अनभिज्ञ रहेको सम्भावनालाई मध्यनजर त्यसखालको प्रस्तुति गरिएको हो । ‘कतिपयले सिक्टाको काम रोकिएको छ कि भन्ने पनि बुझाई पनि राखेको पाइएको छ’, निर्देशक नेपालले दैनिक नेपालगन्जसँग भने, ‘निरन्तर काम भैरहेको छ ।’
सरकारले क्षतिग्रस्त नगर क्षेत्रको निर्माणका लागि आवश्यक निर्णय लिएपछि थप क्षति रोक्न मर्मत सम्भारको काम सुरु गरिएको निर्देशक नेपालले जानकारी दिए । ‘आउने आर्थिक बर्षमा थप सुधारका कामहरु अगाडि बढ्छन्’, निर्देशक नेपालले त्यतिञ्जेल थप क्षति हुन नदिने गरी काम अगाडि बढाइएको जानकारी दिए ।
आयोजनाका अनुसार, मर्मत सम्भारपछि क्रमशः मूल नहरमा पानी छोड्दै जाने योजना बनाइएको छ । ‘यसै बर्ष पानी चलाएर हेर्छौ’, निर्देशक नेपालले भने, ‘त्यसपछि प्रभावका आधारमा थप मर्मत, सुधार गर्दै सुचारु गरिनेछ ।’ २०६३ सालदेखि सुरु भएको सिक्टा सिंचाई आयोजना निर्धारित समयमा पूरा हुन विभिन्न बाधा उत्पन्न भएपछि सुधारका लागि बेलाबेलामा समितिहरु बन्ने गरेका छन् । तीनै समितिहरुका सुझावका आधारमा थप बजेट र सुधारका कामहरु भैरहेको दाबी सम्बद्धको छ ।