नन्दलाल बैश्य नेतृत्वको नेपालगन्ज उद्योग बाणिज्य संघले आफ्नो कार्यकाल ५ महिना थप गरेको छ । बुधवार बसेको कार्यसमितिको बैठकले विधानको घारा २५ को क बमोजिम म्याद थपको निर्णय गरेको अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए ।
‘साधारण सदस्यको म्याद असोज मसान्तसम्म भएको कारणले संघलाई आर्थिक नोक्सानी पर्ने साथै निर्वाचन प्रकृयालाई सहज सरल र निष्पक्ष बनाउनको लागि आगामी आर्व २०७६÷०७७ देखि परिचय पत्र लागु गर्न समय अभाव भएकोले बर्तमान कर्यसमितिको कार्यकाल ५ महिना थप गर्ने निर्णय सर्बसम्मतले भएको हो,’ अध्यक्ष बैश्यले दैनिक नेपालगन्जसँग भने । कार्यकालको म्याद थप गर्ने मनःस्थितिमा रहेकै कारण २ महिना कार्यकाल रहँदा पनि उद्योगी व्यवसायीहरुबीच निर्वाचनको सामान्य रौनक सम्म थिएन ।
सम्बद्ध स्रोतका अनुसार, भदौमा निर्वाचनका लागि अनुकुल नभएकाले म्याद थप गर्ने कुरामा सबैको मत मिलेको हो । ‘वर्षात्मा निर्वाचनको वातावरण बन्दैन, अनाहकमा दुःखमात्र दिने काम गरिनु भएन,’ म्याद थपको औचित्व बारे सकारात्मक भएका संघका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले दैनिक नेपालगन्ज सँग भने, ‘विधानले गरेको व्यवस्थामा टेकेर सबै साथीहरुले सर्वसम्मत निर्णय गरेका छन् ।’ तीज, इद, दशैं, छठ, तिहार लगायतका विभिन्न पर्वहरुबीच निर्वाचन गर्दा समस्या हुने भन्दै माघमा निर्वाचन गर्ने गरि म्याद थप गरिएको संघको भनाइ छ ।
विधानले विशेष परिस्थितिमा ६ महिना कार्यकाल बढाउन सक्ने व्यवस्था गरेको छ । अध्यक्ष बैश्यले सबैले एकै स्वरमा ५ महिना निर्वाचन सार्न गरेको प्रस्तावमा सर्वसम्मत निर्णय गरिएको बताए । ‘यसबीच संघले गर्नैपर्ने कतिपय काम गरिनेछन्,’ अध्यक्ष बैश्यले दैनिक नेपालगन्जसँग भने, ‘मतदाता परिचयपत्र देखि सदस्यता नविकरणसम्मका धेरै काम पनि बाँकीनै रहेकाले कार्यसमितिले म्याद थप्न उचित ठान्यो ।’ यद्धपि अध्यक्ष बैश्यले म्याद थप्ने बारे बैठकमा मुख खोलेका थिएनन् ।
कोषाध्यक्ष आदेश अग्रवालले भने कार्यकाल सकिएपछि कुनैपनि बहानामा म्याद थप्ने कुरामा आफ्नो फरक मत दर्ज गराएको बताएका छन् । ‘जुन कारण देखाएर म्याद थपिएको छ त्यो पर्याप्त छैन,’ असहमतिलाई बाहिरै ल्याएका अग्रवालले दैनिक नेपालगन्जसँग भने, ‘म विपक्षमा बोलें अध्यक्ष तटस्थ बस्नु भयो, बाँकी सबै साथीहरुले एक मतले म्याद बढाउने कुरामा सहमति जनाउनु भयो ।’ अग्रवालले लिखित रुपमै फरक मत लेखेको जानकारी दिए ।
अब चल्छ, ‘चुनावी चलखेल’
आगामी नेतृत्वका लागि निर्वाचन तिथि तोक्न बसेको बैठकले पाँच महिना पर कार्यकाल सारेपछि माघमा निर्वाचन निश्चित भएको छ । निर्वाचन मिति निश्चित भएसँगै चुनावी चलखेल सुरु हुने विश्वास गरिएको छ ।
त्यसो त संघका लागि आगामी नेतृत्वमा वर्तमान कमिटिका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, पूर्व प्रवक्ता सञ्जय थापा, पूर्व वरिष्ठ सदस्य ललित रौनियार लगायतका अनुहारहरु प्रत्यक्ष, अप्रत्यक्ष निर्वाचनको चर्चामा छन् । तर, निर्वाचन तिथि निश्चित भएसँगै चुनावी चलखेल सुरु हुने पनि निश्चित भएको हो । अध्यक्ष बाहेकका पदहरुमा धेरै नाम चर्चामा रहेपनि नेतृत्वको दाबेदारी गर्नेहरु खुलेर मैदानमा आएका छैनन् ।