बाँकेमा ठूलो परिणाममा लागुऔषध बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले बाँकेले पुरैनाबाट १८ किलो ५ सय ग्राम अफिम बरामद गरेको हो । यतिठूलो परिणाममा लागुऔषध अफिम समातिएको बाँकेमा पहिलो घटना हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार नै पत्रकार सम्मेलन गरेर बरामद लागुऔषध र संलग्न व्यक्तिहरुलाई सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले लागुऔषध विरुद्ध सक्रिय रहेको प्रहरीले विशेष सूचनाका आधारमा ठूलो परिणामको लागुऔषध फेला पार्न सफल भएको बताए । जिल्ला प्रहरी कार्यालय बाँके तथा लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज शाखाबाट खटिएको टोलीले नेपालगन्ज–२२ पुरैनीबाट बजार क्षेत्र आउँदै गरेको भे १ ह १३९५ नम्बरको अटोबाट अफिम सहित जाजरकोट नलगाढका ३ जना पुरुष र पूर्वी रुकुमकी १ जना महिलालाई नियन्त्रणमा लिएको हो ।
पहाडी जिल्लाहरुमा तयार हुने चरेश, अफिम जस्ता लागुऔषध नेपालका विभिन्न जिल्ला तथा भारत तर्फ तस्करी हुने गरेको छ । नेपालमा प्रहरीका आँखा छलेर सीमापारी छिर्नेलाई तस्करहरु भारतको रुपैडिहा पनि पक्राउ पर्ने गरेका छन् । अफिम ब्राउनसगुर बनाउन प्रयोग गरिन्छ । भारतबाट नेपालतर्फ सबैभन्दा बढी तस्करी भएर आउने लागुऔषध ब्राउन सुगर नै हो ।
‘नेपालगन्जबाट भारत तर्फ अफिम लैजान लागेको प्रारम्भिक अनुसन्धानमा बुझिएको छ’, लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जका प्रमुख, वीर बहादुर थापाले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’ प्रहरीले बुधवार सार्वजनिक गरेको अफिम जाजरकोटबाट ल्याइएको प्रहरी अनुमान छ ।
प्रहरी टोलीले जाजरकोट त्रिवेणी नलगाड नगरपालिकाका पृथ्वी बहादुर विक, विर बहादुर विक, राजेन्द्र विक र पूर्वी रुकुम उत्तरगंगाकी शर्मिला मगरलाई नियन्त्रणमा लिएको हो । ‘प्रतिदिन १५ हजार रुपैयाँ पाउने शर्तमा अफिम नेपालगन्ज पुर्याउने जिम्मा लिएका थियौं’, प्रहरी नियन्त्रणमा रहेकी शर्मिला मगरले भनिन् । प्रहरीले लागुऔषध अफिम कहाँबाट ल्याएको र कहाँ लैजान लागिएको थियो, पक्राउ परेकाहरुको भूमिका के के थियो भन्ने अनुसन्धान भैरहेको जानकारी दिएको छ । पक्राउ परेकाहरुको च्यानल खोतलिरहेको प्रहरी भनाइ छ ।
रुपैडिहामा ५० ग्राम स्मेक सहित एक पक्राउ
भारतको रुपैडिहामा बुधबार ५० ग्राम स्मेक सहित एक जना पक्राउ परेका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ५० ग्राम स्मेक सहित एक जना तस्करलाई पक्राउ गरेको सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।
नानपराका समिल खान स्मेक सहित पक्राउ परेको जानकारी दिंदै रुपैडिहा थाना प्रभारी मधुपनाथ मिश्रले उनलाई जेल चलान गरिएको जानकारी दिएका छन् । उक्त ब्राउन सुगरको मूल्य ५० लाख भारतीय रुपैयाँ आंकलन गरिएको छ ।
बढ्दो लागुऔषधका मुद्दा
प्रत्येक बर्ष जस्तो बाँकेमा लागुऔषधका मुद्दा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको विगत तीन बर्षको तथ्यांक हेर्ने हो भने लागुऔषध मुद्दामा पक्राउ पर्ने र मुद्दा दर्ताको संख्या ह्वात्तै बढेको देखिन्छ । लागुऔषध मुद्दा र पक्राउको संख्या जस्तै लागुऔषध बरामद पनि चालु आ.व.मा बढेको छ ।
आ.व. ०७३/०७४ मा जिल्ला प्रहरी कार्यालय बाँकेले १८० जनालाई पक्राउ गरेको थियो । उक्त आ.व.मा १ सय ३७ जना विरुद्ध लागुऔषधको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । सोही आ.व.मा ५ सय ३७ ग्राम ३१२ मिलिग्राम ब्राउन सुगर, ५३ ग्राम अफिम, ३७ किलो १ ग्राम गाँजा, ४ लिटर २ सय मिलिलिटर कोरेक्स र ९ सय ७५ ट्याब्लेट नाइट्रोजेपाम ट्याब्लेट बरामद भएको थियो ।
आ.व. ०७४÷०७५ मा मुद्दाको संख्या सामान्य बढे पनि पक्राउ पर्नेको संख्या ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक छ । उक्त आ.व.मा लागुऔषध सहित १ सय ४५ जना पक्राउ परेका थिए भने ३ सय १० जना पक्राउ परेका थिए । आ.व. ०७५÷०७६ को असार ४ गतेसम्म २ सय २१ वटा लागुऔषधका मुद्दा दर्ता भएका छन् भने ३ सय ३८ जना पक्राउ परिसकेका छन् । जसमा ९ महिला र ३२९ पुरुष रहेका छन् । पक्राउ पर्नेमा १४ जना भारतीय र १ जना बंगलादेशी नागरिक पनि रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
आ.व. ०७४÷०७५ मा ३ सय ३४ ग्राम ४१६ ग्राम ब्राउन सुगर, ८६ केजी २५० ग्राम चरेश, ७ किलो ३ सय ग्राम अफिम, १ सय ग्राम गाँजा, २ हजार ६ सय ५० मिललिटिर कारेक्स र ३ हजार ५ सय १ ट्याब्लेट नियन्त्रणमा लिएको लिएको थियो । चालु आ.व.को असार ४ गतेसम्म ४ सय ६६ ग्राम १ सय २० मिलिग्राम ब्राउन सुगर, ४७ किलो ८ सय २४ ग्राम चरेश, १८ किलो ५ सय ग्राम अफिम, २ किलो ७ सय २० ग्राम गाँजा, ७ लिटर ८ सय मिलिलिटर कोरेक्स, ७ हजार ७८ ट्याब्लेट नाइट्रोजेपाम ट्याब्लेट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक छ ।
प्रहरी उपरीक्षक पौडेलले लागुऔषधको कारोबार बढेको भन्दा पनि प्रहरी चनोखो हुँदै जाँदा पक्राउ पर्ने र मुद्दाको संख्या बढ्दै गएको बताउँछन् । ‘बाँकेमा लागुऔषधको ठूलो समस्या छ’, प्रहरी उपरीक्षक पौडेले भन्छन्, ‘त्यसैले प्रहरी सक्रियता बढ्दै जाँदा पक्राउ पर्नेहरुको संख्या पनि बढ्दै गएको हो ।’
पछिल्लो समय प्रहरीले सीमामा कुकुरको प्रयोग गरेर लागुऔषधको निगरानी गरिरहेको छ । लागुऔषध विरुद्ध प्रभावकारी कारवाहीका लागि प्रहरीले छुट्टै ब्यूरो नै सञ्चालन गरेको छ ।
पछिल्लो समय प्रहरीले सीमामा कुकुरको प्रयोग गरेर लागुऔषधको निगरानी गरिरहेको छ । लागुऔषध विरुद्ध प्रभावकारी कारवाहीका लागि प्रहरीले छुट्टै ब्यूरो नै सञ्चालन गरेको छ ।
ठुलो परिणाममा लागुऔषध बरामद भएकाहरुलाई जन्मकैदसम्म सजाय हुन सक्नेछ । लागुऔषध मुद्दामा १५ बर्ष देखि जन्मकैद तथा ५ लाख देखि २५ लाखसम्म जरिवाना हुनसक्छ ।