बाँकेमा सुरु भो रोजगार कार्यक्रम, काममा खटाइए बेरोजगार

बाँकेका स्थानीय तहहरुले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारलाई काममा खटाउन सुरु गरेका छन् । मंगलबारदेखि नरैनापुर गाउँपालिकाले बेरोजगारहरुलाई काममा खटाएको गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले जानकारी दिएका छन् ।


मंगलबार औपचारिक कार्यक्रमको आयोजना गरी नरैनापुर–३ को कालाफाँटामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शुभारम्भ गर्दै पहिलो चरणमा सिंचाईका लागि पोखरी निर्माण गर्न वडा नम्बर ३ का ४२ जनालाई काममा लगाइएको बताए ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले रोजगारीका लागि खटिएका मजदुरले दैनिक रुपमा पाउने न्यूनतम ज्याला ५ सय १७ रुपैयाँ दिइने बताएका छन् । उनले केही दिनमै अन्य वडाहरुमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम गरिने जानकारी दिएका छन् ।
शुभारम्भ कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मोल्हे बेहना शेष, २ का अध्यक्ष मसुद अहमद शाह, वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार मौर्य लगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नरैनापुर गाउँपालिकामा ५ हजारले आवेदन दिएका छन् ।
त्यस्तै, बाँकेको बैजनाथ गाउँपालिकामा पनि प्रधानमन्त्री रोगजार कार्यक्रम अन्तर्गत सूचिकृत बेरोजगारलाई काममा लगाउन थालिएको छ । बैजनाथ गाउँपालिकाले २ सय जनालाई रोजगार कार्यक्रम अन्तर्गत खानेपानी लाइन बिस्तार, सडक निर्माण र सरसफाईका लागि खटाएको छ । प्रत्येक वडामा २५ जनाका दरले बेरोजगारहरु परिचालन गरिएको गाउँपालिका प्रमुख मान बहादुर रुचालले जानकारी दिए ।


कोहलपुर नगरपालिकाले ५८ जनालाई पहिलो चरणमा ५ वटा वडामा परिचालन गरेको जनाएको छ । त्यस्तै, खजुराले पनि बेरोजगारहरुलाई काममा परिचालन गरिसकेको जनाएको छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बैजनाथमा २ सय २६, खजुरामा २ सय १२, राप्तीसोनारीमा २ सय २६, डुडुवामा १ सय ४०, जानकीमा १ सय ४०, नरैनापुरमा १ सय २६ जनालाई ३० दिन बराबरको रोजगारी उपलब्ध गराउन बजेट दिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा सबैभन्दा बढी ४ सय ५१ जना र कोहलपुरमा ३ सय ११ जनालाई बजेट उपलब्ध गराइएको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया