गाउँपालिकालाई ३ करोड विशेष अनुदान
प्रदेश ५ सरकारले बाँकेका लागि आ.व. २०७६/०७७ का लागि २७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले वित्तीय समानिकरण तर्फ ३ करोड ९९ लाख र सशर्त अनुदान तर्फ १९ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको प्रदेश ५ आन्तरिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । प्रदेश सरकारले यसपटक ३ करोड १२ लाख रुपैयाँ विशेष अनुदान समेत छुट्याएको छ । उक्त अनुदान गाउँपालिकाका लागि मात्रै प्रदेश सरकारले छुट्याएको हो । प्रत्येक गाउँपालिकालाई प्रदेश सरकारले ५२ लाख रुपैयाँ बजेट छुट्याएको आन्तरिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेश सरकारले नेपालगन्ज उपमहानगरपालिकालाई भन्दा कोहलपुर नगरपालिकालाई झण्डै चार गुणा बजेट छुट्याएको छ । नेपालगन्जका लागि २ करोड २६ लाख ५२ हजार रुपैयाँ छुट्याएको प्रदेश सरकारले कोहलपुरका लागि भने ८ करोड ६१ लाख ४२ हजार रुपैयाँ छुट्याएको छ ।
प्रदेश सरकारले नेपालगन्ज उपमहानगरपालिकाका लागि वित्तीय समानिकरण तर्फ ६६ लाख ५२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपालगन्जले प्रदेश सरकारबाट सर्शत अनुदान तर्फ १ करोड ६० लाख रुपैयाँ प्राप्त गर्दैछ । संघीय सरकारले नेपालगन्ज उपमहानगरपालिकाले ६९ करोड ५६ लाख रुपैयाँ संघीय सरकारबाट विनियोजन गरेको थियो । जसमध्ये वित्तीय समानिकरण तर्फ ३१ करोड ४८ लाख र सशर्त अनुदान तर्फ ३८ करोड ८ लाख रुपैयाँ रहेको छ ।
कोहलपुर उपमहागरपालिकाले प्रदेश सरकारबाट ८ करोड ६१ लाख ४२ हजार रुपैयाँ प्राप्त गर्दैछ । कोहलपुरले वित्तिय समानितकरण तर्फ ५१ लाख ४२२ हजार र सशर्त अनुदान तर्फ ८ करोड १० लाख रुपैयाँ प्राप्त गर्न लागेको हो । कोहलपुर उपमहानगरपालिकाका लागि संघीय सरकारले आगामी आ.व.का लागि ४१ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कोहलपुरले वित्तीय समानिकरण तर्फ १९ करोड १५ लाख र सशर्त अनुदानतर्फ २२ करोड २२ लाख रुपैयाँ प्राप्त गर्ने अर्थ मन्त्रालयले जानकारी गराएको छ ।
बाँकेको खजुरा गाउँपालिकाका लागि प्रदेश सरकारले आगामी आ.व.का लागि ६ करोड ७९ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको छ । वित्तिय समानिकरण तर्फ ४७ लाख ६९ हजार र सशर्त अनुदान तर्फ ५ करोड ८० लाख रुपैयाँ प्रदेश सरकारले खजुराका लागि विनियोजन गरेको हो । खजुराका लागि प्रदेश सरकारले ५२ लाख रुपैयाँ विशेष अनुदान बजेट छुट्याएको छ । खजुरा गाउँपालिकाका लागि संघीय सरकारले आगामी आ.व.मा ३८ करोड ८२ लाख रुपैयाँ विनियोजन गरेको छ । जसमा वित्तीय समानिकरण तर्फ १५ करोड ३ लाख र सशर्त अनुदान तर्फ २३ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
आगामी आ.व.मा जानकी गाउँपालिकाले प्रदेश सरकारबाट १ करोड ८७ लाख ६८ हजार रुपैयाँ प्राप्त गर्दैछ । जानकीले वित्तीय समानिकरण तर्फ ४५ लाख ६८ हजार, सशर्त अनुदान ९० लाख र विशेष अनुदान प्रदेश सरकारबाट प्राप्त गर्दैछ । जानकीका लागि संघीय सरकारले २२ करोड ७८ लाख विनियोजन गरेको छ । जसमा वित्तीय समानिकरण तर्फ १२ करोड ८ लाख र सशर्त अनुदान तर्फ १० करोड ७० लाख रुपैयाँ रहेको छ ।
डुडुवा गाउँपालिकाका लागि प्रदेश सरकारले १ करोड ८७ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको प्रदेश ५ आन्तरिक मामिला तथा योजना मन्त्रालयले जानकारीमा उल्लेख छ । डुडुवाले वित्तीय समानिकरण तर्फ ४५ लाख ६९ लाख, सर्शत अनुदान तर्फ ९० लाख र विशेष अनुदान ५२ लाख रुपैयाँ प्रदेश सरकारबाट आगामी आ.व.का लागि पाउने भएको हो । संघीय सरकारले डुडुवाका लागि २३ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको छ । जसमा वित्तीय समानिकरणतर्फ ११ करोड ७५ लाख र सशर्त अनुदानमा ११ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै नरैनापुर गाउँपालिकाका लागि प्रदेश सरकारले १ करोड ८७ लाख ७२ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमा वित्तीय समानिकरण तर्फ ४५ लाख ७२ हजार रुपैयाँ, सशर्त अनुदान ९० लाख र विशेष अनुदान ५२ लाख रहेको छ । संघीय सरकारबाट नरैनापुरले २२ करोड ६८ लाख रुपैयाँ आगामी बर्षका लागि पाउने भएको हो । जसमा वित्तीय समानिकरण तर्फ १० करोड ९६ लाख रुपैयाँ र सशर्त अनुदान तर्फ ११ करोड ७२ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ ।
बाँकेको बैजनाथ गाउँपालिकाले प्रदेश सरकारबाट कुल १ करोड ७९ लाख ६५ हजार प्राप्त गर्दैछ । उक्त रकममा वित्तिय समानिकरणको ४७ लाख ६५ हजार, सर्शत अनुदानको ८० लाख र विशेष अनुदानको ५२ लाख रुपैयाँ रहेको छ । संघीय सरकारले बैजनाथ गाउँपालिकाका लागि ३२ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको छ । जसमा वित्तीय तर्फ १५ करोड ५४ लाख र सशर्त अनुदान तर्फ १८ करोड ३८ लाख रुपैयाँ रहेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले प्रदेश सरकारबाट १ करोड ८० लाख ९८ हजार रुपैयाँ प्राप्त गर्दैछ । जसमा वित्तीय समानिकरणको ४८ लाख ९८ हजार, सशर्त अनुदान ८० लाख र विशेष अनुदान ५२ लाख रुपैयाँ रहेको छ । राप्तीसोनारीले संघीय सरकारबाट कुल ३७ करोड २४ लाख रुपैयाँ प्राप्त गर्दैछ । राप्तीसोनारी गाउँपालिकाले वित्तीय समानिकरण तर्फ १६ करोड २४ लाख र सशर्त अनुदान तर्फ २१ करोड रुपैयाँ प्राप्त गर्न लागेको हो ।