क्षमता ३ सय, कैदी बन्दी ७ सय बढी
बर्षौदेखि क्षमता भन्दा बढी कैदी, बन्दी राखिने गरेको नेपालगन्ज कारागारको व्यवस्थापन अझैसम्म पनि हुन सकेको छ । ३ सय कैदीबन्दी राख्न सकिने क्षमताको नेपालगन्ज कारागारमा बैशाख मसान्तसम्म ७ सय ५५ कैदीबन्दी र दुई आश्रित बालबालिका रहेका थिए । जेलको क्षमता ५० महिला र २ सय ५० पुरुषको हो । तर, क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी नेपालगन्ज कारागारमा राखिने गरेका छन् ।
वैशाख मसान्तसम्म ४ सय ५ कैदी र ३ सय ५० थुनुवा रहेको नेपालगन्जमा चाप कम गर्नका लगि ३५ जनालाई जेठमा दैलेख कारागार पठाइएको जेलर भरत पाण्डेले जानकारी दिएका छन् । ‘थप १२ जना गणतन्त्र दिवसको अवसरमा छुटेका थिए’, उनले भने । जेठ अन्तिम सम्म पनि कारागारमा ७ सय बढी कैदी, बन्दी रहेका छन् ।
कारागारमा क्षमता भन्दा बढी कैदी, बन्दी भएपछि उनीहरुको व्यवस्थापन जेल प्रशासनका लागि चुनौति बनेको छ । कैदी बन्दी दिन प्रतिदिन थापिदै जाने तर थापिएको अनुपतमा कम संख्यामा कैदीबन्दी छुटे पछि कैदीहरुको संख्या बढ्दै गएको हो । ‘प्रत्येक दिन कैदी, बन्दी थपिने र जाने क्रम जारी हुन्छ’, जेलर पाण्डेले भने, ‘तर छुट्ने भन्दा कैदी, बन्दी थपिने क्रम बढ्दो छ ।’
२ सय ५० जना पुरुष कैदी बन्दी बस्न सक्ने कारागारमा ६ सय ५० बढी पुरुष कैदी बसिरहेका छन् । क्षमता भन्दा बढी कैदी बन्दी भए पछि गर्मीमा कैदीहरुले कष्ट भोग्नु परेको छ । पर्याप्त ठाउँ नभएपछि बरण्डा, खुला आँगन, भन्सा र शौचालयको छतमा समेत कैन्दी बन्दी सुत्न बाध्य रहेको जेलर पाण्डेले बताए । ‘ठाउँ व्यवस्थापन गर्न सक्ने अवस्था छैन, भएकै ठाउँमा मिलाएर राख्नुपर्ने बाध्यता छ’, उनले भने ।
वि.सं. २००० सालमा बनेको नेपालगन्ज कारागार जीर्ण समेत बन्दै गएको छ । भवन जीर्ण बन्दै जानु र कैदी थपिंदै जानुले कारागार व्यवस्थापनमा चुनौति थपिदै गएको जेलर पाण्डे बताउँछन् । ‘जेलभित्रै थप पूर्वाधार निर्माणका लागि बजेट र स्थान दुवै उपलब्ध छैन’, उनी हालकै अवस्थामा कैन्दी, बन्दीको व्यवस्थापन गर्नुपर्ने बाध्यता सुनाउँदै भन्छन् ।
बर्षात् सुरु हुँदैछ । आकाश, बरण्डा र छतमा समेत कैदी सुत्ने, बस्ने गर्दछन् । यसले पानी परेपछि ओत लागेर रातीमा जागै बस्नुपर्ने अवस्था आउने गरेको कैदीहरु बताउँछन् । नेपालगन्ज कारागारमा रहेको कैदी तथा बन्दीहरुले खानेपानी, विद्युत, सुत्ने र मनोरञ्जनका साधनको कमी रहेको बताउँछन् ।
महिला कैदी तथा थुनुवा राख्ने जेलको क्षमता ५० हो । हाल त्यति नै संख्यामा रहेकाले महिला तर्फ भने समस्या कम छ । यद्यपि, महिला तर्फकी कैदी, बन्दीकी नाइकेले मनोरञ्जन र खानेपानीको समस्या रहेको बताएकी छन् ।
बाँकेको नौबस्तामा क्षेत्रीय स्तरको कारागार र गनापुरमा खुला कारागार निर्माणधिन अवस्थामा छ । ‘३ हजार क्षमताको क्षेत्रीय स्तरको कारागार निर्माण सकिएपछि समस्या समाधान हुनेछ’, जेलर पाण्डेले भने ।
समस्या छ, सर्न चाहँदैनन्
समाचारदाता
दैनिक नेपालगन्ज
क्षमता भन्दा बढी कैदी भएपनि कैन्दी, बन्दीले अन्यत्र जिल्लाका कारागारमा जान भने रुचि राख्दैनन् । उनीहरु जे जस्तो समस्या भएपनि अन्य कारागारमा जान अनिच्छुक हुने गरेको कारागारका प्रमुख भरत पाण्डे बताउँछन् । ‘त्यसैले गर्दा पनि जेलमा चाप बढ्दै गएको हो’, उनी भन्छन् ।
गत जेठमा चाप थेग्न नसकेपछि ३५ कैदीलाई उनीहरुले नचाहँदा नचाहँदै पनि सार्नु परेको जेलर पाण्डेले जानकारी दिए । नेपालगन्जमा रहेको अधिकांस थुनुवाहरुको यही मुद्दा चलिरहेको, स्वास्थ्यको पहुँच भएको र खानापानको व्यवस्थापन राम्रो रहेकाले पनि कैदीहरु अन्यन्त्र जान नचाहेको हुनसक्ने जेलर पाण्डे बताउँछन् ।
कैदीहरु पनि अन्यत्र सर्ने भन्दा जेलभित्र थप भवनहरु बनाइए सहज हुने बताएका थिए । ‘जेलभित्रै थप भवन बनाउने, मनोरञ्जन र खेलकुदका सामानहरु पर्याप्त हुने हो भने समस्या हुँदैनथ्यो होला’, कैदीबन्दी भन्छन् । आफन्तहरु भेटघाटका लागि आउन नेपालगन्ज कारागार सहज रहेकाले पनि यहाँबाट सर्न नचाहने गरेको कैदीहरुले बताएका छन् ।
थपिंदै सिसि क्यामेरा
पानीका लागि बोरिङ्ग गाडिंदै
समाचारदाता
दैनिक नेपालगन्ज
नेपालगन्ज कारागारमा निगरानी बढाउनका लागि सिसि क्यामेरा थप गरिने भएको छ । हाल कैदीबन्दी भवन र बाहिर सुरक्षाको निगरानीका लागि १० वटा सिसि क्यामेरा रहेको छन् ।
कारागारमा निगरानी बढाएर थप सुरक्षित बनाउका लागि ५ वटा सिसि क्यामेरा थप गर्न लागिएको कारागार प्रमुख, जेलर पाण्डेले जानकारी दिए ।
कारागारमा रहेको खानेपानी समस्या समाधानका लागि डिप बोरिङ्गको काम पनि भैरहेको जेलर पाण्डेले बताएका छन् । ‘आगामी आ.व.बाट डिप बोरिङ्गको पानी वितरण गर्ने योजनामा छौं’, उनले भने ।
लागुऔषध कै बढी कैदी र थुनुवा
५७ विदेशीमा २७ लागुऔषधकै
समाचारदाता
दैनिक नेपालगन्ज
नेपालगन्ज कारागारमा पुर्पक्ष र सजाय काटिरहेका सबैभन्दा बढी संख्या लागुऔषधकै रहेका छन् । गत बैशाख मसान्त सम्मको तथ्यांक अनुसार, कारागारमा लागुऔषध मुद्दाका कुल २ सय ७५ जना रहेका छन् । जसमध्ये १ सय ३५ कैदी र १४० जना थुनुवा रहेको जेलर भरत पाण्डेले जानकारी दिएका छन् ।
लागुऔषध मुद्दामा पुरुषतर्फ १ सय २८ जनाले सजाले सजाय काटि रहेका छन् भने पुर्पक्षमा १ सय ३२ जना रहेका छन् । उक्त मुद्दामा सजाय काटिरहेका ७ महिला छन् भने पुर्पक्षमा ८ जनाले कारागारमा दिन बिताइरहेका छन् ।
त्यस्तै १ सय ६ कर्तव्य ज्यानका कैदी रहेका छन् भने ३९ जना कर्तव्य ज्यानका थुनुवा कैदी रहेका छन् । यस्तै ७१ जना जबरजस्ती करणीका कैदी र रहेका छन् भने ४३ जना जबरजस्ती करणीका थुनुवा कैदी रहेका छन् । यस्तै मानव बेचबिखनका १६ जना कैदी र २३ जना थुनुवा कैदी रहेका छन् ।
थुनामा रहेको ५७ विदेशी मध्ये भारतका ५५ जना छन् । नेपालगन्ज कारागारमा लागुऔषध मुद्दामा २० जना भारतीय नागरिकले सजाय काटिरहेका छन् भने ७ जना मुद्दाका क्रममा थुनुवा जीवन बिताइरहेका छन् । नेपालगन्ज कारागारमा सजाय काट्ने १ जना भारतीय महिला रहेकी छन् । उनी अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय काटिरहेको जेल प्रशासनले जानकारी दिएको छ ।
पुनस्र्थापनाका लागि तालिम
३५ पुरुष र १३ महिला सिप सिक्दै
समाचारदाता
दैनिक नेपालगन्ज
नेपालगन्ज कारागारले कैदी तथा थुनुवाहरुका लागि सीपमूलक तालिम आयोजना गरेको छ । कैद भुक्तान गरेर फर्किदा जीविकोपार्जन गर्न सहज होस् भन्ने उद्देश्यले सीपमूलक तालिम आयोजना गरिएको नेपालगन्ज कारागारका प्रमुख, जेलर भरत पाण्डेले जानकारी दिएका छन् ।
‘आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा पुरुषका लागि वायरिङ्ग र महिलाका लागि दुई महिने तालिम आयोजना गरिरहेका छौं’, जेलर पाण्डेले ३५ पुरुषले वायरिङ्ग र १३ महिलाले ब्यूटिसियन तालिम लिइरहेको जानकारी दिंदै भने ।
जेलभित्रै पनि कैदी, बन्दीले समय बिताउन तथा थोरै भएपनि आम्दानीका लागि विभिन्न कामहरु गर्दछन् । कतिपय कैदीहरुले जेलभित्रै खाना पुर्याउने, कपाल काट्ने, मुढा बुन्ने, कपडा धुने, टोपी बुन्ने, भान्सामा काम गरेर आम्दानी गर्ने गरेका छन् । उक्त काम भने जेलभित्रै आपसी सहमतिमा कैदीहरुले गर्ने गरेका हुन् ।