नेपाली शब्दकोषमा बगैंचाको गोडमेल गर्नेलाई बागवान भनिन्छ । सुनको काम गर्ने सुनार, लोहाको काम गर्ने लोहार भनेझैं बाजे बराजुले फुलबारीको काम गरेकै कारण आफुहरुको थर बागवान रहन गएको हुन सक्ने मोहम्मद सरिफ बागवानको आँकलन छ । निक्र्योल गर्ने त्यस्तो कुनै आधार छैन । उनका बाजे नबी अहमद बागवान तत्कालीन अञ्चलाधिस कार्यालयमा माली काम गरेको यिनलाई राम्रोसँग थाहा छ । ‘पुस्तैनी पेशा सायद फुलबारी रेखदेख र गोडमेल गर्ने नै थियो ।’ उनी भन्छन्–‘तर हाम्रो पुस्ताले अर्कै पेशा र व्यवसाय रोज्यो ।’
झण्डै दुई सय बर्षको विरासत बोकेको बागवान परिवार नेपालगन्जको रैथाने भन्न पाउँदा खुशी मान्छ । यो बागवानको पाँचौं पुस्ता हो । जो व्यापारमा मस्त छ, त्यो पनि बिशेषगरी साइकल व्यापारमा । यिनका अघिल्ला पुस्ता जागिरमै रमाए । महानगर गाथामा हामीले नेपालगन्जमै भबिष्य देखिरहेका सफल व्यवसायी खोज्ने क्रममा मोहम्मद सरिफ बागवानलाई भेट्यौं । करिब एक घण्टाको बसाइमा उनले आफ्ना संघर्ष र सफलताका कथा निर्धक्क सुनाए । उनको आत्मबिश्वास साँच्चिकै दृढ छ ।
व्यावसायिक सफलता एकातिर होला, अर्कोतर्फ नेपालगन्जमा पछिल्लो पुस्तामाझ साइकल संस्कृति बढावा दिन सुरुवाती चरणमा बीबी साइकल सेन्टरको योगदान अविष्मरणीय छ । नेपालगन्ज लगायत आसपासमा लक्जरियस साइकल उपलब्ध गराएको बीबीले नै हो । २०७३ सालमा क्रियटिभ ह्याण्ड्ले नेपालगन्जमा पहिलो पटक आयोजना गरेको नेपालगन्ज साइकल रेशको प्रायोजक पनि बीबी नै थियो । उसले शीर्ष तीनलाई साइकल उपहार दिएको थियो ।
हेर्दै लोभलाग्दो भव्य शो रुम खोलेर साइकलको आकर्षण बीबीले बढाएको हो । उनी यस सेन्टरका प्रमुख लिडर हुन् । आरामदायी साइकल नेपालगन्जमा भित्राउने श्रेय यिनलाई नै जान्छ । धम्बोजी चोकनजिकै बीबी साइकल सेन्टर आफ्नै भवनमा छ भने बागवान साइकल स्टोर्स पनि नजिकै छ । गोरखा साइकल सप्लायर्स धम्बोजीस्थित घरबाटै चलेको छ । जसले थोक बिक्रेताको काम गर्दछ । साइकलसँगै उनीहरु मोटरसाइकल र तीन पांग्रे अटो रिक्साको पनि कारोबार गर्छन् । कारकादोस्थित गोरखा इन्टरप्राइजेजले इन्धनबाट चल्ने मोटरसाइकल र तीन पांग्रे रिक्सा बिक्री गर्दछ । मोटरसाइकल शोरुम माथिल्लो तल्लामा भएको पनि यस क्षेत्रमा सायद यही नै हो । चारवटा व्यवसायिक फर्महरुमा ६० जनाले रोजगारी पाएका छन् । ‘कम्तीमा कामदारलाई दश हजारदेखि ३० हजारसम्म मासिक तलब दिएका छौं ।’ उनी भन्छन्–‘कामदारको खुशीले नै व्यापार बढ्ने हो ।’ यी व्यवसायमा आवद्ध दाजुभाइले भने तलब भत्ता लिंदैनन् । यिनीहरुका पाँच दाजुभाइ छ । मोहम्मद सरिफ जेठा हुन् । परिवार तथा व्यवसायको मियो यिनै सरिफ हुन् । दाजुभाइबीच आपसी समझदारी निकै उच्चतहको छ । दाइले तर्जुमा गरेका योजना कार्यान्वयन गर्न दृढ संकल्पका साथ लाग्ने गर्छन् सबै भाइहरु । ‘जसलाई जे आवश्यकता छ, त्यो पुरा गर्न पाउनुपर्ने नियम जस्तै बनाएका छौं ।’ उनी भन्छन्–‘सबैले इमान्दारीपुर्वक रकम लिने र हिसाब दिने गर्छन्, कसैको निर्धारित तलब र सेवासुविधा छैन ।’
पारिवारिकदेखि व्यवसायको सबै कारोबारको हिसाबकिताबका लागि साइलो भाइ मोहम्मद सारिकलाई जिम्मेवार बनाएका छन् । जो गोरखा साइकल सप्लायर्सका पुर्णकालीन हुन् । पाँच दाजुभाइ मध्ये सारिकले अलिक बढ्ता पढेका छन् । सरिफ आफु भने नेपालकै सम्भवतः ठुलो साइकल शोरुम बीबी साइकल सेन्टरमा बढी समय बिताउँछन्, कान्छो भाइ अब्दुल अजिजलाई त्यहीं आफुसँग राखेका छन् । माइलो भाइलाई नजिकैको बागवान साइकल स्टोर तथा काइलो भाइ एएम बागवानलाई गोरखा इन्टरप्राइजेजको बागडोर सुम्पिएका छन् । आफु यी सबैको निगरानी गर्छन् ।
उनी सन्तुष्ट छन्, खुशी छन् । आत्मबिश्वास दृढ छ, संकल्प त्यस्तै । ढाँट, छलकपट केही छैन । संवादका क्रममा उनको अनुहार पढिरहँदा मलाई पनि त्यस्तै अनुभुति भयो । ‘दश कक्षाभन्दा माथि पढ्न सकिन, त्यतिबेला वातावरण पनि त्यस्तो थिएन ।’ उनी नोस्टाल्जिक भए । छोरा पुस्ताले उच्च शिक्षामा देखाएको रुचिबाट सरिफ निकै उत्साहित छन् । अहिलेसम्मको सफलता भनेको मेहनत, लगननशीलता, इमान्दारिता, पारदर्शीता मात्र हो उनकै बुझाइमा । अब भने फैलिंदो कारोबारलाई सिस्टममा लैजान जरुरी छ, उत्पादनलाई ब्रान्डिङ गर्न त्यत्तिकै जरुरत छ । बागवान साइकल यिनीहरुको आफ्नै ब्रान्ड हो । यो मध्यम रेन्जको साइकल हो । आफ्नो थरबाट साइकलको नामै राख्नें साेंच कहाँबाट आयो त सरिफलाई? यी फेरि फ्ल्यासब्याकमा फर्कन्छन् । यिनको सफलता मेहनत र संघर्षको भरिएको छ । साइकलको ट्युब पन्चर मर्मत गर्ने कार्यबाट यिनका साइकलप्रतिको नाता गाँसिएको हो । यो २०४५ सालको कुरा हो । त्यसअघि पनि कथा छ । २०४३ सालमा एसएलसी दिएपछि उनलाई प्रहरी हुन मन लागेको थियो । तर बुवाले जागिरभन्दा व्यवसाय गर्नमै जोड दिएपछि उनले सरकारी जागिरतर्फको इच्छालाई ब्रेक लगाइदिए ।
७,८ कक्षामै पढ्दाताका घरमा भएको सानो किराना पसलका लागि सामान ल्याउने र पसलमा बसी बिmक्री गर्ने गरेका थिए । त्यसैले किराना पसलमा रुचि थियो । एसएलसीपश्चात बिदाको समयमा उनी घरबारीटोलस्थित एक किराना पसलमा काम थाले । मासिक तलब बुझ्दै केही बचत गरे । उनी आफैं पसल खोल्ने सोंचमा पुगे । पहिले काम गरेको पसलको साहुसँग परामर्श गरे । उनले किराना पसल गर्न सुझाए । करिब ३७ हजारको लागतमा सरिफले किराना पसल सुरु गरे । एक जना पुर्वाधार निर्माणको ठेकेदारले उधारोमा धेरै सामान लिएर समयमा दिन नसकेपछि सरिफलाई व्यापार अगाडि बढाउन धौधौ भयो । यतिबेला सरिफलाई निराशा उत्पन्न भयो । यो दोकान बेचेर उनी मुग्लान पस्ने तयारी गरे । पसल ३७ हजारमा बिक्री त भयो, ३० हजार रुपैयाँ त तिरनतारनमा ठिक्क भयो । बच्यो ७ हजार । यत्तिमा के गर्ने? एक जनाले सुझायो–‘साइकलको ट्युब पन्चर बनाउने काममा निकै फाइदा छ, गर’ ।
सरिफमो दिमागमा क्लिक गर्यो । उनले सुर्खेतरोडस्थित गुल्म अगाडि सडककै छेउमा आफु चढ्ने साइकल उल्टो तेर्साएर अगाडि बोरा बिछाए । बिस्तारै साइकल मर्मत गराउनेहरुको भिंड लाग्न थाल्यो । यो नै यिनको टर्निङ प्वाइन्ट बन्यो । अब आर्थिक अवस्था उकालिंदै गयो । अब सडकमा बिछ््याइएको बोराबाट घुम्टीमा सर्यो । पन्चर टाल्ने कामबाट सामान्य पार्ट पुर्जा बेच्नेसम्म पुग्यो । यो राम्रो हुँदै गएपछि यिनले सटर भाडामा लिए । निलम साइकल बिक्री गर्न थाले । अब यिनलाई ज्ञान आइडिया बढ्दै गयो । कारोबारको आयतन फराकिलो हुँदै गयो । २०७० सालमा बीबी साइकल सेन्टर औपचारिक सुरु गरेका २०७४ मा टिभिएस मोटरसाइकल बिक्री सुरु गरेको थियो । २०७५ मा बागवान ब्रान्ड लन्च गरेको यो समुहले यसै बर्षदेखि फिटनेसका सामग्री बिक्री वितरण थालेको छ ।
सामान्यदेखि लाखौं मुल्यका साइकल बेच्ने बीबी साइकलको खास परिचय हो । अहिले बर्षेनी झण्डै ४० हजार साइकल बिक्री गर्ने उनको दाबी छ । साइकलदेखि मोटरसाइकलसम्म चारवटै फर्मबाट बार्षिक चालिक करोडको कारोबार गर्ने पनि उनले बताए । कारोबारको आयतन फैलिंदै गएपछि नै उनी आफ्नै नामको ब्रान्ड उत्पादन गर्ने र आक्रामक ढंगले बिक्री वितरण गर्ने निस्कर्षमा पुगेका थिए । साइकल मिस्त्री बागवान र ब्रान्डेड साइकल बागवान उही हो भनेर स्थापित गराउन चाहन्छन् । आफुहरुले उच्च शिक्षा हासिल गर्न नपाएको पीडा एकातिर छँदैछ । त्यसैलाई भुल्न उनीहरु सबै दाजुभाइले आफु दुख गरेर पनि सन्तानलाई उच्च शिक्षाको बाटोमा हिंडाएका छन् । चिकित्सक, इन्जिनियर घरमै हुनेछन् । कोही बिजनेस बिषयमा स्नातकोत्तर समेत गरिसके । अब यो व्यवसायलाई नयाँ ढंगबाट अगाडि बढाउनेमा उनी आशावादी छन् । पाँच दाजुभाई सगोलमा बस्दा कसैलाई सकश छैन । यो अर्को रोचक प्रसंग हो । महिला जति सबै खाना नास्ता तयार गर्नमा व्यस्त हुन्छन् भने पुरुषजति व्यापारमा । सन्तति सबै पढाइमा । २८ जनाको परिवारलाई एकताको मालामा बाँधेका छन् । यसलाई पनि उनी साइकलको चेनसँग तुलना गर्न रुचाउँछन् । चेनको साना साना टुक्रा जोडेर बलियो बनेजस्तै बागवान परिवारको संज्ञा दिन्छन् । यसरी नै पारिवारिक सन्तुलन मिलाएका छन् सरिफले ।
भाइबुहारी कसैलाई शंकाको ठाउँ दिएका छैनन् । सरिफ हल्का प्रगतिशील रहेछन् । मुस्लिम धर्मावलम्बी कट्टरपन्थी भनेर चिनिन्छन् । सरिफ भने जात र धर्ममा बिश्वास नरहेको बताउँछन् । ‘मानवतामा बिश्वास छ ।’ उनी भन्छन् । मुश्लिम समुदायका छोरीहरु उच्च शिक्षाका लागि घरबाट टाढा जान नसकेको तीतो यथार्थ चित्रण गर्दा उनको मन कुँडिएको छ । त्यसैले त संकल्प गरेका छन्–‘व्यवसायिक सफलताले पछ्याइरह्यो भने जीवनमा स्वास्थ्य र शिक्षाका क्षेत्रमा उदाहरणीय काम गर्ने इच्छा छ ।’ झण्डै आधा दर्जन देशको भ्रमण गरिसकेका सरिफ बागवान राष्ट्र र राष्ट्रियता प्रति पनि त्यत्तिकै दृढ छन् । उनी भन्छन्«–‘विदेश जाँदा नेपाली टोपी कहिल्यै छाड्दिन, यो हाम्रो परिचय हो ।’