धम्बोझीमा बन्ने भो ‘एन्फा ग्राउण्ड’

रञ्जना थारु / प्रशिक्षार्थी

मैदान तयार भएपछि फुटबलका लागि अहिलेको संकट पूर्णत टर्नेछ

निकै आवश्यकता खड्किएको फुटबल मैदान नेपालगन्जले पाउने भएको छ । ‘फुटबल एकेडेमी’का नाममा निर्माण सुरु गरिएको नेपालगन्ज–१ धम्बोझीमा झण्डै एक करोड लागतमा ‘एन्फा ग्राउण्ड’ बन्ने भएपछि अभ्यास र प्रतियोगिताका लागि फुटबल मैदान उपलब्ध हुने भएको हो ।


‘नियमित प्रशिक्षणदेखि प्रतियोगितासम्मका लागि ठूलो अभाव टर्ने भएको छ’, शनिबार एन्फा ग्राउण्डमा भेटिएका बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले उत्साहित हुँदै भने, ‘एकेडेमीको अफिसदेखि चेन्जिङ रुम सम्मका पूर्वाधारहरु बन्न थालेका छन् ।’


बाँके जिल्ला फुटबल संघको सपनालाई सार्थक पार्दै नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालको अग्रसरताले एन्फा ग्राउण्ड सम्भव भएको हो । ‘वडा नं. ६ मा क्रिकेट मैदान निर्माण सुरु गर्न प्रदेश ५ सरकारले दिएको बजेटलाई वडा नं. १ मा ल्याइएको हो’, अध्यक्ष रिजालले एन्फा ग्राउण्ड निर्माण सुरु गरिनुको कथा, व्यथा सुनाउँदै भने, ‘वडा स्तरबाट भैरहेको पहलमा प्रदेश सरकारको बजेटले हाम्रो सपनालाई सार्थक बनाउन ठूलो भूमिका खेल्यो ।’ ‘यो स्तरको निर्माण भएपछि यसको उन्नती र थप विकासका लागि एन्फासँग बजेट पहल हुन्छ’, संघका अध्यक्ष शाहीले भने ।


श्रीराम जानकी गोकुलेश्वर मन्दिरको जग्गामा फुटबल एकेडेमीका नाममा सुरु गरिएको पहललाई स्पोर्टस् एकेडेमीका रुपमा अगाडि बढाउँदै एन्फा ग्राउण्डलाई साकार रुप दिन थालिएको हो । मन्दिरको २३ कठ्ठा क्षेत्रफलको जग्गामा मन्दिर व्यवस्थापन समितिसँग सहकार्य गरी वडाध्यक्ष रिजालले एन्फा ग्राउण्डका लागि नेतृत्वदायी पहल लिएका थिए । ‘हाम्रो सपनालाई वडाध्यक्ष रिजालको अग्रसरताले परिणाममूखि बनाइदिएको छ’, शाहीले भने ।


खेलकुद मैदानको अभावले फुटबल विकास अपेक्षित ढंगले हुन नसकेको सम्बद्धहरुबाट आइरहँदा उक्त मैदानमा बालबालिकाका लागि प्रशिक्षण स्थल बनाइएको थियो । शनिबार दैनिक नेपालगन्ज पुग्दा एन्फा ग्राउण्डको दक्षिण भागमा दर्जनौं बालबालिका फुटबल खेल्न मस्त थिए । ‘यहाँ लङ र सट टेनिस कोर्ट बनाइनेछ’, बीचमा चेन्जिङ रुम, एकेडेमीको कार्यालय र उत्तरतर्फ फुटबल मैदान देखाउँदै अध्यक्ष शाहीले निर्माण कार्य यसै महिना सकिने विश्वास व्यक्त गर्दै भने ।
वडाध्यक्ष रिजालका अनुसार, अन्तिममा बजेट व्यवस्थापन गरिएकाले उपभोक्ता समितिबाट निर्माण कार्य भैरहेको छ । नम बहादुर मल्ल अध्यक्ष रहेको उपभोक्ता समितिमा बाबुराम काँदु सचिव र सरस्वती हमाल कोषाध्यक्ष सहित ११ जनाको समिति बनाइएको छ । ‘वडा नं. ६ मा क्रिकेट मैदानका लागि सहमति जुट्न नसकेपछि बजेट फ्रिज हुनबाट जोगाएर एन्फा ग्राउण्डका लागि लगानी गरिएको हो,’ त्यसका लागि नेपालगन्ज उपमहानगरपालिका बोर्डले सहमति जनाएको जानकारी दिंदै प्रवक्ता समेत वडाध्यक्ष रिजालले दैनिक नेपालगन्जसँग भने, ‘अझैपनि ३४ लाख रुपैयाँ फ्रिज हुनबाट जोगाउन सकेनौं ।’ उनका अनुसार, एकेडेमीका लागि ९९ लाख ९२ हजार ६ सय ८२ रुपैयाँ बजेट प्राप्त भएको छ ।


‘यसअघि एन्फाले झण्डै ७ लाख रुपैयाँ लगानी गरी मैदान सुधार र कम्पाउण्डको काम अगाडि बढायो’, अध्यक्ष शाहीले भने । प्रशिक्षक समेत रहेका संघका सचिव रविन्द्र श्रेष्ठले एन्फा ग्राउण्ड तयार भएपछि फुटबलका लागि निकै राहत पुग्ने बताए । ‘बालबालिका देखि खेलाडीसम्मलाई नियमित अभ्यास र साना ठूला प्रतियोगिता गर्न मैदान अभाव हुँदैन’, एन्फा प्रदेश ५ का प्रशिक्षक जनक केसीले उत्साहित हुँदै भने ।

प्रतिक्रिया

प्रतिक्रिया