एक दशकपछि तयार पौडी पोखरी

१८ करोड लागतमा काठमाडौं बाहिर सबैभन्दा ठूलो पौडी पोखरी नेपालगन्जमा तयार भएको हो

निर्माण थालेको झण्डै एक दशकपछि नेपालगन्ज रंगशालामा पौडी अभ्यास र प्रतिस्पर्धाका लागि पौडी पोखरी तयार भएको छ । १८ करोड बढी लागतमा अत्याधुनिक सुविधा सहित नेपालगन्जकै ठूलो पौडी पोखरी रंगशाला परिसरमा तयारमा भएको हो ।

‘आगामी बिहीबार उद्घाटन गर्ने तयारीमा छौं’, खेलकुद परिषद् प्रदेश ५ का अध्यक्ष भीम ओलीले शनिबारसम्म वाटर फिल्टर मेसिन जडान गरिसकिएको जानकारी दिंदै भने, ‘प्याराफिट पनि अन्तिममा छ ।’ ओलीका अनुसार, बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट नेपालगन्ज आइपुग्दैछन् । ‘पौडी पोखरीको निर्माण कार्यको जायजा लिन युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अण प्रसाद न्यौपाने, गोविन्द पौडेल र राखेपका प्राविधिक इन्जिनियर विश्वामित्र सन्ज्याल शनिबार नै नेपालगन्ज आइपुग्नु भएको छ’, ओलीले भने ।


वि.सं. २०६६ सालमा तत्कालीन खेलकुद मन्त्री गणेश नेपालीले शिलान्यास गरेको पौडी पोखरी केही बर्ष निर्माण कार्य सुस्त गतिमा अगाडि बढेपनि लामो समय ठप्प प्रायः रह्यो । त्यसबीच ९ जना खेलकुद मन्त्रीले आफ्नो कार्यकाल पूरा गरेपनि नेपालगन्जको पौडी पोखरीका लागि सार्थक परिणाम दिन सकेनन् । ‘आठौं राष्ट्रिय खेलकुद नेपालगन्जमा निश्चित भएपछि पौडी पोखरीले जीवन पायो’, ओलीले दैनिक नेपालगन्जसँग भने, ‘पछिल्लो दुई बर्षमात्र १५ करोड बजेट पौडी पोखरीका लागि आएको छ ।’ उनका अनुसार, १८ करोड लागतमा राजधानी काठमाडौं पछि सबैभन्दा ठूलो र सुविधा सम्पन्न पौडी पोखरी नेपालगन्जमा निर्माण भएको हो ।

खेलकुद परिषद् प्रदेश ५ का अनुसार शिलान्यास लगत्तै तीन पटकसम्म १ करोड ५० लाखका दरले छुट्याइएको पनि त्यसपछिको २ करोड ५० लाख रुपैयाँ फ्रिज भएपछि पौडी पोखरीले बजेट पाउन छाडेको हो । ‘त्यसपछि रोकिएको काम आठौंको घोषणा सँगै सुरु भयो’, म्याद थप गरी असार मसान्तसम्म निर्माण सक्ने जिम्मा पाएको ठेकेदार कम्पनीले निर्माण अन्तिममा पुर्याइसकेको जानकारी दिंदै अध्यक्ष ओलीले यसैसाता उद्घाटन गर्ने गरी काम भैरहेको जानकारी दिए । ‘सकभर छिट्टै एउटा राम्रो प्रतियोगिताको सोंच बनाएका छौं’, अध्यक्ष ओलीले पौडी पोखरीको नियमित उपयोगिताबारे योजना बनाइरहेको जानकारी दिंदै भने, ‘हस्तान्तरण पछि अभ्यास र प्रतियोगिताका लागि मात्रै होइन व्यवसायिक उपयोगिताका कसरी गर्न सकिन्छ भन्नेबारे योजना बनाइरहेका छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया