भारतीय प्रहरीले रुपैडिहा बजारमा रहेको मेडिकलहरुमा भैरहेको लागुऔषध बिक्री कारोबारमा निगरानी बढाएको छ । स्थानीय सञ्चारमाध्यमको निरन्तर दबाबपछि प्रहरीले निगरानी र कारवाही सुरु गरेको हो ।
दशकौंदेखि रुपैडिहाका मेडिकलबाट भैरहेको लागुऔषधको कारोबारमा वेवास्ता गरेको प्रशासनले सञ्चारमाध्यममा समेत कारवाही नभएको भन्दै निरन्तर समाचार प्रकाशनमा आएपछि गत जेठ २४ गते पहिलो पटक कारवाही सुरु गरेको थियो । विना रोकटोक लामो समयदेखि खुलेआम रुपैडिहाका मेडिकलमा प्रहरी निगरानी बढाएपछि कारवाही पनि थालिएको हो ।
गत जेठ २४ गते ड्रग इन्स्पेक्टर राजु रुपैडिहा आएर लागुऔषध विरुद्धको कारवाहीको सुरुवात गरेका हुन् । उनी रुपैडिहा पुगेको खबर प्राप्त गरेका मेडिकल सञ्चालकले दिउँसै मेडिकल बन्द गरेर फरार भएका थिए । उनले रियाज मेडिकल सेन्टरमा छापा मारेर २५ हजार थान लागुऔषध फेला पारेका थिए । त्यसक्रममा पसलमा रहेका बिक्रेतालाई समेत नियन्त्रणमा लिएर कारवाही अगाडि बढाइएको थियो ।
बिहीबार रुपैडिहा प्रहरीले उक्त मेडिकलका सञ्चालकलाई समातेका छन् । विना अनुमतिमा चकिया रोडमा सञ्चालित मेडिकल स्टोरका सञ्चालकलाई रुपैडिहाका थाना प्रभारी मधुपनाथ मिश्राले पक्राउ गरेका हुन् । सो क्रममा ६५ ग्राम लागुऔषध ब्राउन सुगर रियाजसँग फेला परेको थियो । ‘मेडिकल सञ्चालक पनि पक्राउ परेका छन्’, रुपैडिहामा भैरहेको लागुऔषधको कारोबार विरुद्ध कलम चलाइरहेका पत्रकार नवि अहमदले भने, ‘सञ्चारमाध्यमबाट निरन्तर समाचार आएपछि प्रहरीले कारवाही गरेको हो ।’
रुपैडिहा आएका बेला ड्रग्स इन्स्पेक्टर राजुले लागुऔषधको कारोबार विरुद्ध निरन्तर कारवाही जारी राख्ने बताएका थिए । रुपैडिहामा अल्ट्रोरेक्टस, टोरेक्स, नाइट्रोजिन, नाइट्रावेट लगायतका औषधी मेडिकलबाट बिक्री हुने गरेका छन् । नेपालगन्जमा नाकाबाट अवैध रुपमा भित्रिने लागुऔषध समेत रुपैडिहामै खरिद बिक्री हुने गरेको छ ।
भारतबाट नेपाल हुने लागुऔषधको तस्कारीका कारण नियन्त्रण चुनौतिपूर्ण बन्दै गएको छ । भारतमा लागुऔषध नियन्त्रणका लागि ठोस प्रयास नभएको अवस्थामा प्रहरीले सुरु गरेको कारवाहीले केही आशा भने देखाएको छ ।
नेपालगन्जका प्रहरीदेखि विभिन्न संघ, संस्थाहरुले औषध विरुद्धको अभियान चलाउँदै आएका छन् । लागुऔषध नियन्त्रण दुवै देशको प्रयासमा मात्र सफल हुने भन्दै यसअघि नेपाल–भारत लागुऔषध नियन्त्रण सञ्जाल समेत गठन भैसकेको छ । भारतको रुपैडिहामा पनि लागुऔषधका कारण युवाहरु कुलतमा फसेको भन्दै पछिल्ला दिन नियन्त्रणका लागि आवाज उठ्दै आएका छन् । भारतका सञ्चारमाध्यमले समेत रुपैडिहामा भैरहेको लागुऔषधको समाचार निरन्तर प्रकाशमा ल्याएपनि कारवाही सुरु गरिएको हो ।
बाँकेमा मात्रै ५ हजार बढी लागुऔषध दुव्र्यसनी रहेको अनुमान गरिएको छ । नेपालगन्जमा रहेको सात वटा लागुऔषध नियन्त्रणमा सक्रिय संस्थाहरुको सर्वेक्षणले नेपालगन्ज उपमहानगरपालिकामा मात्रै १ हजार १ सय ९७ जना लागुऔषध प्रयोगकर्ता रहेको तथ्यांक हालै सार्वजनिक गरेको थियो । तीमध्ये मुखबाट सेवन गर्ने एक हजार १२५ जना, सुँघेर ६३ जना र सुईको माध्यमबाट लागुऔषध प्रयोग गर्ने ९ जना रहेका छन् । लागुऔषध सेवन गर्नेमा ३४ महिला पनि रहेका छन् । उमेर समूहमा १२ वर्षमुनिका ६४ जना, १६ देखि ३९ वर्षसम्मको एक हजार ३० जना र ५० वर्षदेखि माथिको उमेरका १ सय ३० जना रहेको लागुऔषध विरुद्धका अभियन्ता रविन्द्र सिंह राठौरले जानकारी दिएका छन् ।
लागुऔषधका कारवाहीको अवस्थामा पनि बढ्दो छ । प्रदेश ५ प्रहरीको रिपोर्ट अनुसार, प्रदेश नं. ५ मा जेठ १ देखि १५ गतेसम्म ५४ जना लागुऔषध सहित नियन्त्रणमा परेका छन् । जसमा ४ जना महिला रहेका छन् । उक्त अवधीमा ४ हजार ९ सय २७ ग्राम गाँजा, ९ हजार ८ सय ५६ ग्राम चरेश र ३७ ग्राम हेरोइन प्रहरीले नियन्त्रणमा लिन सफल भएको प्रदेश प्रहरी कार्यालय दाङ्गका प्रहरी नायब उपरीक्षक, प्रवक्ता टिका बहादुर कार्कीले जानकारी दिएका छन् ।