संघीयता पछि स्थानीय तहबाट भएका कामका सम्बन्धमा अख्तियारमा उजुरीको चाङ्ग नै लागेको छ । तीन वटा जिल्ला हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगन्ज मात्रै चालु आ.व. ०७५\०७६ मा स्थानीय तहका १ सय १६ वटा उजुरी दर्ता भएका छन् ।
चालु आ.व.मा मात्रै अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जमा दाङ्ग, बाँके र बर्दियाका ३ सय ३८ वटा उजुरी परेको सूचना अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।
संघीय व्यवस्था पछि स्थानीय तहमा विभिन्न कार्यालय गाभिए । विकास निर्माणसँगै स्वास्थ्य, शिक्षाको जिम्मेवारी पनि स्थानीय तहमा छ । त्यसैले बजेटको उपलब्धता सँगै स्थानीय तहहरुबाट भएका कामहरुमा उजुरी पर्ने क्रम पनि बढेको हो ।
अख्तियारमा बाँकेमा मात्रै ७० वटा उजुरी छन् । त्यस्तै, बर्दियाका २० र दाङ्गका २६ वटा उजुरी चालु आ.व.मा दर्ता भएका छन् । बाँकेमा सबैभन्दा बढी खजुरागाउँपालिकाको काम कारवाहीमा २१ वटा उजुरी परेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको १६, कोहलपुर नगरपालिकाका ९, बजैनाथ गाउँपालिकाको ३, जानकी गाउँपालिकाको २, राप्तीसोनारी गाउँपालिकाको ७, नरैनापुर गाउँपालिकाको ५, डुडुवा गाउँपालिकाको ३ उजुरी परेका छन् ।
दाङ्गमा तुलसी उपमहानगरपालिकाको ८, घोराही उपमहानगरपालिकाको ३, लमही नगरपालिकाको ५, बंगलाचुली गाउँपालिकाको १, राजपुर गाउँपालिकाको ३, राप्ती गाउँपालिकोको १, शान्ति नगर गाउँपालिकाको ४, बबई गाउँपालिकाको ३ वटा उजुरी अख्तियारमा परेका छन् ।
बर्दियाको गुलरिया नगरपालिकाको ७, मधुवन, बारबर्दिया र राजापुरको १÷१, ठाकुरबाबा गाउँपालिकाको ३, बढैयाताल र गेरुवा गाउँपालिकाको २ वटा उजुरी अख्तियारमा परेका छन् । ‘प्राप्त उजुरीहरुमा आवश्यक कारवाहीहरु गरिरहेका छौं’, अख्तियारको सूचना अधिकारी पौडेलले भने । तीन जिल्लाको जिम्मेवारी पाएको अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जमा उजुरी हेर्ने प्रमुख सहित तीन जना कर्मचारी मात्रै छन् ।
बाँकेमा स्थानीय तह बाहेक अन्य कार्यालयका १ सय २२ वटा उजुरी दर्ता भएको सूचना अधिकारी पौडेल बताउँछन् । बाँकेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धित कार्यालयका २७ वटा उजुरी अख्तियारमा छ भने बर्दियामा १९ र दाङ्गको १२ वटा उजुरी परेका छन् ।
तीन जिल्लामा वन तथा वातावरण मन्त्रालय अन्तर्गतका कार्यालयहरुको ४३ वटा उजुरी छन् । जसमा बाँकेमा २१, बर्दिया र दाङ्गमा ११÷११ वटा उजुरी छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मातहतका कार्यालयहरुको उजुरी बाँकेका १८, बर्दियाको ८ र दाङ्गको ४ वटा रहेका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत रहेका कार्यालयहरुको बाँकेमा १० वटा र दाङ्गको उजुरी १ वटा अख्तियारमा रहेको छ । अख्तियारले प्राप्त उजुरीहरु अनुसन्धानका लागि कागजात मगाउने, सोधपुछ गर्ने, निर्देशन दिने र थप कारवाही आवश्यक परे केन्द्रमा लेखी पठाउने गरेको छ ।
भ्रष्टचारको गुनासो पछि अख्तियारले स्टीङ्ग अपरेशन मार्फत पनि भ्रष्ट कर्मचारीलाई ट्रयापमा पार्ने गरेको छ । चालु आ.व.मा अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले १२ वटा स्टिङ्ग अपरेशन गरेको सूचना अधिकारी पौडेल बताउँछन् । अख्तियारले ७ वटा बाँकेमा, ३ वटा बर्दियामा र दाङ्गमा २ वटा स्टिङ्ग अपरेशन गरेको हो । ‘नागरिकबाट भ्रष्टाचारको गुनासो आइरहने कार्यालयमा हाम्रो टिमले निगरानी गरिरहेको हुन्छ’, पौडेलले भने ।