६४ करोड बढी विगो दावी
बाँके र बर्दियाका भूमाफियासँगको मिलेमतोमा सरकारी कर्मचारीले गरेको भ्रष्टाचार सम्बन्धी एउटा घटनामा संलग्नहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । विशेष अदालतमा मुद्धा दायर गरिएका २८ जनासँग ६४ करोड ५३ लाख बढी विगो र भ्रष्टाचार निवारण ऐन अनुसारको कारबाही माग गरिएको छ ।
बाँके प्रहरीले सुरु गरेको एउटा हत्या र जग्गा किर्ते सम्बन्धी अनुसन्धानमा हात हालेको अख्तियारले खासकारकाँदोमा सरकारी कागजात किर्ते गरी भएको भ्रष्टाचारमा मालपोतका कर्मचारीको संलग्नता पाइएपछि मुद्दा दायर गरेको हो । विहीवार आयोगले जारी गरेको विज्ञप्तिमा २८ जनामाथि मुद्दा दायर भएको उल्लेख छ ।
खासकारकाँदो वडा नं.७ सिट नं.७ कि.नं. २१० क्षेत्रफल ०–५–१३ तथा साविक नेपालगन्ज नगरपञ्चायत वडा नं.३ को कि.नं.१४ क्षेत्रफल ०–५–१७ र जिल्ला बर्दिया नेउलापुर वडा नं. ७ क को कि.नं. १९१ र वडा नं. ९ ख को कि.नं. ७, ८, ५०, ६१ र ६३ को जग्गा सम्बन्धी सरकारी कागजात सच्याई (किर्ते) गरी भ्रष्टाचार भएको सूचनाका आधारमा कारवाही गरेको अख्तियारले संलग्न २८ जना माथि मुद्दा दायर गरेको हो ।
बेपत्ता सम्बन्धि गरेको एउटा उजुरीबाट अनुसन्धान थालेको बाँके प्रहरीले घटनामा हत्या सम्मको तथ्य फेला पारेपछि त्यसको कारण खोज्दै जाँदा जग्गा लेनदेनदेखि सरकारी संयन्त्रनै प्रयोग भएको खुलासा भएको थियो । कार्यालय प्रमुखदेखि पियनसम्मका कर्मचारीको मिलेममतो सहित सरकारी संयन्त्र नै भ्रष्टाचारमा पाइएपछि अख्तियारले हात हालेको थियो ।
आरोपित मुख्य कर्मचारी झिकाएरै अनुसन्धान सुरु गरेको अख्तियारले विहीवार २८ जना विरुद्ध विहीवार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कौशल भन्ने खैरुल हसन अन्सारी समेतले आफुलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई गैर कानूनी हानी पुर्याउने बदनियतले मालपोत कार्यालय बाँके र बर्दियाका कर्मचारीहरुलाई अनुचित प्रभावमा पारी आपसी योजना, सहमती र संलग्नतामा बदनियतपूर्ण तबरबाट सरकारी मोठ श्रेस्ता नै फेरबदल गरी सरकारी र सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने÷गराउने कार्य गरेको कार्य गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ अनुसारको कसुरमा कौशलसँग सबैभन्दा बढी ४ करोड ४७ लाख ४५ हजार ५ सय ५० रुपिया विगो दावी गरिएको छ । उनीसँगै हसरतुन निशा अन्सारीसँग अख्तियारले २ करोड ५० लाख ८९ हजार ५ सय ५० विगोदावी गरेको छ । कौशल माथि आफ्ना व्यवसायिक साझेदार भारतीय नागरिक जुनेद अन्सारीको अपहरणपछि हत्या गरेको आरोप पनि छ । हसरतुन कौशलकी सहोदर आमा हुन् ।
पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी हुने र व्यक्ति विशेषलाई गैर कानुनी लाभ पुर्याउने कार्यमा संलग्न रहेका सरकारी कर्मचारी, मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घराज पोखरेल भन्ने दीर्घ बहादुर पोखरेल, मालपोत अधिकृतहरु पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोक कुमार भट्टराई, नायव सुब्बाहरु रुद्र बहादुर देवकोटा, टंक प्रसाद शर्मा, राम बहादुर खड्का र मान बहादुर के.सी. कम्प्यूटर अपरेटर यज्ञश्वर वली, सहायक कम्प्यूटर अपरेटर (करार) प्रेम बहादुर चन्द ठकुरी, खरिदारहरु सुशिल रिजाल, संजय कुमार ठाकुर, कुलानन्द राउत र कार्यालय सहयोगी अन्तराम चौधरीसँग २ करोड १६ लाख, ७३ हजार ५० रुपिया विगो दावी गरिएको छ । उनीहरुसँगै जिल्ला मालपोत कार्यालय बर्दियाका लेखापढी व्यवसायी बिरु भन्ने बृहस्पति खड्कासँग पनि उत्तिकै रकम विगो माग गरिएको छ ।
सरकारी कर्मचारीलाई अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ८ को उपदफा १ र देहाय ज बमोजिमको कसुरमा सजाय माग गरि विशेष अदालतमा मुद्धा दायर गरेको हो । अन्यका हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ अनुसारको कसुरमा मुद्धा चलाइएको छ ।
मालपोत कार्यालय बर्दियाका तत्कालीन कार्यालय प्रमुख कृष्ण प्रसाद ज्ञवाली, मालपोत अधिकृत राम कुमार रोका, नायव सुब्बाहरु कृष्णलाल शर्मा, रविन्द्र बहादुर थापा, खरिदारहरु भुमिराज पोखरेल, किशोर कुमार रिजाल, तुलसी रानी थारु, कम्प्यूटर अपरेटर (करार) लक्ष्मी मल्ल र कार्यालय सहयोगी सूर्य प्रसाद उपाध्याय सँग प्रतिव्यक्ति २ करोड ३० लाख ७२ हजार ५ सयका दरले २३ करोड बढी विगो दावी गरिएको छ । बर्दियाका लेखापढी व्यवसायी पप्पु धोबीसँग समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ अनुसारको कसुरमा सोही रकम अर्थात् २ करोड ३० लाख ७२ हजार ५ सय विगो माग गरिएको छ ।
बर्दिया मालपोतका कार्यालय सहयोगी लाली मल्ललाई पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ अनुसारको कसुरमा सजाय माग गरेको अख्तियारले सबैभन्दा कम १ करोड ९६ लाख ५६ हजार विगो माग गरेको छ ।