‘पुरानो राज्य संरचनाका कारण काम गर्न सकिएन’

मगर र रानाभाट सम्मानित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो राज्य संरचनाका कारण काम गर्न कठिन भएको बताएका छन् । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले चितवनमा आयोजना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आन्दोलनको बलले नयाँ नेतृत्वको सरकार आए पनि पुरानै राज्य संरचनाका कारण सोचेअनुसारको काम गर्न कठिन भएको बताएका हुन् ।


हिजो राजाहरु निरङ्कुश हुँदा शुरु भएको स्कूल नभत्किएको भन्दै दाहालले भने, ‘यही स्कूल छ, राज्य संरचनाको स्कूल । पञ्चायतको बेलामा जे छ त्यही स्कूलमा चलेको छ ।’ नियम कानून पनि तिनै रहेको भन्दै उनले कानून बदलिँदा पनि काम गर्ने सोच, तरिका र शैली उही रहेको उल्लेख गरे । परिवर्तन पछि राजनीतिक नेतृत्वले जित्छ कि परम्परागत ढङ्गले चल्दै आएको राज्य संरचनाले जित्छ भन्ने थाहा नै नपाई लडाइँ चल्ने गरेको प्रचण्डको भनाइ थियो । राजनीतिक नेतृत्वले अब जित्न नसके मुलुक ठूलो दुर्घटनामा जाने दाहालले बताए ।
दुई तिहाइको सरकारबाट जनताले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसतर्फ सरकार अघि बढिरहेको भए पनि सफलता प्राप्त गर्न कठिन भइरहेको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहे दाहालले भने, ‘जनताको अपेक्षालाई हामीले जुन उचाइ र गहिराइबाट सम्बोधन गर्न सक्नु पथ्र्यो सायद हामीले त्यही स्तरबाट गर्न सकेनौँ ।’ प्रयास भने जारी रहेको भन्दै उनले यद्यपि प्रयास पर्याप्त हुन नसकेकामा चिन्ता व्यक्त गरेका थिए । उनले थपे, ‘जनताले हामीबाट अझ धेरै त्याग र मेहनत चाहेका छन् ।’


छिमेकी दुई देशलाई जोडेर नेपाललाई समृद्ध मुलुक बनाउनुपर्ने उहाँको भनाइ थियो । छिटो विकासका लागि नेपालमा प्रसस्त सम्भावना रहेको प्रचण्डले बताए । बाँके निवासी अच्युतराज सुवेदीको विसं २०७२ को भूकम्पमा परी निधन भएको थियोे । उनी पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीका छोरा हुन् । दाहालले उनीसहित भूकम्पमा ज्यान गुमाएकाको स्मरण गरेका थिए ।
संविधान निर्माणको अन्तिम चरणमा घटना घटेपछि आफूले विपक्षी दलको नेताको हैसियतले सरकारलाई सहयोग गरेर उद्दारसँगै सबैलाई संविधान निर्माणमा जुटाएको स्मरण प्रचण्डले गरेका थिए । कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डेले देशको समृद्धिका लागि सिङ्गो पार्टी गोलबद्ध भएर लाग्नुपर्ने बताएका थिए । पार्टी एकीकरणको प्रक्रिया ढिलो हुँदा नेता कार्यकर्ता एक वर्षदेखि बेरोजगार बनेका भन्दै छिटो टुङ्ग्याउन अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।


कार्यक्रममा राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ बाट सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारका जवान ओम सलामी मगरलाई रु २५ हजार ५ सय ५५ सहित ताम्रपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा वर्ष व्यक्तित्व सम्मान २०७६ बाट वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा शारदा रानाभाट कुँवरलाई सम्मान गरिएको थियो । प्रतिष्ठानका सम्बन्धमा अध्यक्ष प्रकाश सुवेदीले जानकारी दिएको कार्यक्रमको सञ्चालन सचिव झलक गैरेले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया